काठमाडौं । गएको मंसिर महिनाको दुई हप्ताको बीचमा राजनीतिक दलको महाधिवेशनको लहरजस्तै चल्यो । सबैभन्दा ठूलो दल एमाले, सबैभन्दा सानो दल राप्रपा र अर्को ठूलो दल नेपाली कांग्रेसलगायतका महाधिवेशनको सन्दर्भ हो यो । अर्को दल माओवादीको पनि भेला चलिरहेको छ । कांग्रेस १४औँ महाधिवेशनको त मतगणना समेत भइसकेको छैन । यसको अर्थ हो, त्यसको महाधिवेशन सकिएको छैन । नमूनाका रूपमा नाम उललेख भएका यी दल भनेका सत्ता र विपक्ष हुन् । यिनले नै राज्य चलाएको हुन्छ । यिनले केही नयाँ प्रस्ताव गरे भने त्यो देश र दुनियाँका लागि अनुकरणीय हुन जान्छ । रकमकलमका हिसाबले पनि महँगो मानिएका यी महाधिवेशनमा अनुकरणीय काम के भए त भन्ने आजको प्रश्न हो । तर उत्तर सकारात्मक छैन ।
निर्वाचनमा बनाइएका आचार संहिताको उल्लंघन दुई ठूला दलका विशेषता रहे । त्यसमाथि नेपाली कांग्रेसको महाधिवेशनस्थल त उम्मेदवारको पर्चा पम्प्लेटले हप्ताभरि नै ढाकियो । यस्ता पर्चा पम्प्लेट छर्ने र टास्ने काम त भए तर त्यसलाई हटाउन कसैले रुचि देखाएनन् । फलस्वरूप नेताहरूको टाउकोमा कार्यकर्ताका बुटले हिर्काइरहे । एमालेको महाधिवेशनमा प्रतिस्पर्धा नभएर होला कागजको यस्तो रूप देखिएन । तर आफैँले बनाएको आचार संहिता भने त्यहाँ पनि उल्लंघन भयो, जसरी नेपाली कांग्रेसको महाधिवेशनमा देखियो ।
नेपाली कांग्रेसमा दुईबाहेक सबै पदमा निर्वाचन भएर होला कागजको यति ठूलो रास लागेको । एमालेमा सीमित पदमा प्रतिस्पर्धा भएर होला त्यस्तो पर्चा पनि सीमितै भयो । तर त्यो वितरण नै नभएको चाहिँ होइन । यी दुवै दलले निर्वाचनमा यस्तो गर्न नपाइने भनेर सूचना निकालेका थिए, आचारंहिताका नाममा यसो गर्न नपाइने भनेर । आफैंलै बनाएको आचार संहिता आफ्नै लागि पालनाको विषय भएन । त्यस्तो बेला यस्तो कामको अनुकरण कसले गर्ने भन्ने जिज्ञासा वा प्रश्न उठ्छ नै । यस्ता उम्मेदवारका पम्प्लेट तथा पर्चाले अवस्था फोहोरी समेत हुँदोरहेछ । नेपाली कांग्रसले आफ्नो निर्वाचन आचार संहितामा लेख्यो– महाधिवेशनसँग सम्बन्धित स्थानको पाँच सय मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रचार सामग्री टाँस्न एवं माइकिङ गर्न मनाही छ । तर त्यही भित्तामा ठूला–ठूला ब्यानर र भित्तेलेखन तथा पोस्टर, तुल, पम्प्लेट पछिसम्म नै भेटिइरहे ।
मंसिर २७ यो दलको महाधिवेशनस्थल प्रदर्शनीमार्ग कार्यकर्ताका प्रचार सामग्रीले पूराका पूरा छोपिएका थिए । आफ्नो दलको आन्तरिक निर्वाचनमा प्रकट भएका यी दृश्य कुनै महानिर्वाचनभन्दा कम थिएनन् । उम्मेदवार र उनका सहयोगीहरूले बाँडेका पर्चा पम्प्लेट कसैलाई हेर्न फुर्सद रहेको पनि देखिएन । अवस्था कस्तो भने बोकेर लाने समेत इच्छा थिएन । ती प्रचार सामग्रीमा जनाइएका प्रतिबद्धता पालना गर्नका लागि होइनन् भन्ने आफैँ प्रस्ट थिएनन् । यी सबैले के जनाउँछ भने यस्तो चुनाव प्रचार गर्ने कि नगर्ने, सडक फोहोर पारेपछि त्यो सफा गर्ने काम कसको हो भन्ने प्रश्नहरू यी महाधिवेशनका दृश्यबाट उठिरहेका छन् ।
आजको अवस्था भनेको कागजलेस संसारको अवस्था हो । त्यसको उपभोग गर्न नजानिएको हो कि नमानिएको हो भन्ने पनि आइरहेको छ नै । यस्तो ठाउँमा आग्रह गर्नै पर्छ, प्रविधिको प्रयोग होस् । ध्यान रहोस् ती पर्चा त्यसै आएका छैनन् । थुप्रो लगानी प्रभावकारिता देखिएन । बरु उल्टो फोहोरमैलाका स्रोत भए । त्यस कारण यस्तो परम्परालाई अन्त्य गरियोस् भन्नु परेको हो ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु
- पुँजीगत खर्च बढाउन आग्रह
- विराटनगर भन्सारले गर्यो पूर्णकृष्ण ट्रेडर्सको सबै कारोबार रोक्का
- निर्यात अनुदान कार्यविधि संशोधन हुँदै
- छायादेवी सेन्टरको जग्गा विवाद २४ गते टुुङ्गिँदै
- धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ
- बैंकहरुले घटाउँदै लगे विपन्न वर्ग कर्जा
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया