Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रहरी र राजस्वको सम्बन्ध

प्रहरी र राजस्वको सम्बन्ध


काठमाडौँ । नेपाल प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना ग-यो । विशेष परिस्थिति र ठूला घटनाक्रमहरूमा मात्र पत्रकार सम्मेलन गर्ने नेपाल प्रहरीले पछिल्लो समयमा आफ्नो काम देखाउनको लागि नियमितरूपमा पत्रकार सम्मेलन गर्दै आएको छ । जसलाई केही हदसम्म राम्रै मान्न सकिन्छ ।

गत सोमबार पनि प्रहरीले पत्रकार सम्मेलन ग-यो । त्यो पत्रकार सम्मेलन गर्नुको उद्देश्य थियो, चालू आर्थिक वर्षको पाँच महिनामा नेपाल प्रहरीले हाँसिल गरेको सफलताको बारेमा जानकारी दिनुु । पत्रकार सम्मेलनमा सहभागी नेपाल प्रहरीका उच्च तहका अधिकांश प्रहरी खुुसी देखिन्थे । यसको कारण थियो, प्रहरीले संकलन गरेको राजस्व बढी हुुनु ।

विभिन्न शीर्षकमार्फत नेपाल प्रहरीले दुई अर्ब २० करोड ८२ लाख ६० हजार आठ सय ७२ रुपैयाँ संकलन गरेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो । प्रहरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७७–०७८ मा भन्दा आव २०७८–०७९ मा एक सय छ दशमलव ७४ प्रतिशतले बढी राजस्व संकलन भएको छ ।

आव २०७८–०७९ मा नेपाल प्रहरीलाई सरकारले चालू र पुँजीगत खर्च गरी एकमुस्ट जम्मा ४० अर्ब ७६ करोड एक लाख रुपैयाँ रकम विनियोजन भएको भारलाई राजस्व संकलन सहायताको आधारमा मूल्यांकन गर्दा पहिलो पाँच महिनामा कुल रकमको पाँच दशमलव ४२ योगदान प्रहरी काम कारबाहीबाट हुन आउने देखिन्छ ।

राजस्व बढेकोले प्रहरीमा खुुसी देखिथ्यो । नेपाल प्रहरीको यो आचरण हेर्दा नेपाल प्रहरी अपराधलाई नियन्त्रण र रोकथामभन्दा पनि अपराध बढेको आधारमा राजस्व बढ्दा खुसी देखिएको भान आम नागरिकलाई परेको छ । अपराध कम हुुनु भनेको प्रहरीको राजस्व घट्नु हो । प्रहरीको राजस्व बढ्नु भनेको अपराध बढ्नु हो ।

नेपाल प्रहरी राजस्व कार्यालय, कर कार्यालयहरूजस्तो सिधा राजस्व बुुझ्ने निकाय होइन । नेपाल प्रहरीले लिने राजस्व भनेको विभिन्न किसिमका अपराध, दण्ड, जरिवाना आदिआर्फत आएको शुल्क सरकारी राजस्व खातामा दाखिला हुुनु हो । प्रहरीकै तथ्यांकअनुसार राजस्व दाखिलामा नेपाल प्रहरीको योगदान बढेको छ । तर सत्य तितो हुन्छ छ, नेपाल प्रहरीकै केही कमीकमजोरीका कारण समाजमा अपराध बढेको छ । अपराध बढेकै आधारमा राजस्वमा प्रहरीको योगदान बढेको हो ।

अपराध घटेर र नेपाल प्रहरीको कार्यगत क्षमता बढेर राजस्व बढेको होइन । प्रहरीले सार्वजनिक गरेको अन्य तथ्यांकमा अपराध बढेको छ । तर प्रहरीले राजस्व बढेको भनेर नाक फुलाउनुभन्दा पनि समाजमा शान्ति, सुरक्षा र स्थिरता कायम गरेर, भयरहित समाजको निर्माण गरेर राजस्वमा नेपाल प्रहरीको योगदान घटाउने गरी काम गर्नुपर्छ ।

किनकि राजस्वमा नेपाल प्रहरीको योगदान घट्नुु भनेको समाजमा अपराध पनि कम हुनु हो । यस अर्थमा नेपाल प्रहरीले आफ्नो कामको मूल्यांकन राजस्व योगदान बढ्नुमा होइन, घट्नुमा गर्नुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x