Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयएक्काईसौँ शताब्दीको ‘पिर्के सलामी’

एक्काईसौँ शताब्दीको ‘पिर्के सलामी’


काठमाडौँ । राजनीतिक व्यक्तिहरू जब सत्तामा पुग्छन्, मन्त्री बन्छन्, त्यसपछि किन उटपट्याङयुक्त काम गर्न थाल्छन् भन्ने प्रश्न सधैँ उठिरहने र त्यसले जवाफ भने कहिल्यै नपाइरहेको अवस्था छ ।

कोही सार्वजनिक स्थलमा नै अभद्र व्यवहार गर्ने, केही बार नाघेर हिँड्नेदेखिका गतिविधि विगतदेखि नै हुँदै आएका छन् । ‘पिर्के सलामी’ जसलाई सर्वसाधारणले व्यङ्ग्यका रूपमा युगसँग जोडेर हेर्ने गरेका छन् । जसको नाम एक्काईसौँ शताब्दीको ‘पिर्के सलामी’ भन्ने रहेको छ । यसलाई पछिल्लो समय धेरै नै क्रान्तिकारी भनिने मन्त्रीबाट पनि दोहो-याइयो ।

त्यो त्यस्ता व्यक्तिबाट दोहोरियो, जसबाट यसअघि यस्तो काम गर्नेलाई कडारुपमा विरोधको स्वर आएको थियो । यसले पदबाहिर र भित्र रहँदा एउटै व्यक्ति दुई प्रकारको हुन्छ भन्ने देखाउँछ । यस्तो मान्यता नहुनु पर्ने हो । तर यस्तो हुनेगरेकै कारण मान्छेका अपेक्षाहरूमाथि सत्तासीनहरूबाट निरन्तर खेलवाड भइरहेको हुनुपर्छ ।

यो प्रसङ्ग हो, हालै एक जना मन्त्रीले आफ्नो गृहजिल्लाको भ्रमण गर्दा ग्रहण गरेको ‘पिर्के सलामी’ । उनले पहिले यही ठाउँबाट स्थानीय तहका पदाधिकारीले ‘पिर्के सलामी’ लिएको विषयमा चर्को विरोध गरेको प्रसङ्ग उल्लेख गर्दै तीव्र आलोचना भयो स्थानीयहरूबाट र त्यो देशभरि फैलियो पनि ।

नेकपा (एकीकृत समाजवादी)की चर्चित युवा नेतृ तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्री आफ्नो गृहजिल्लामा भ्रमणमा रहँदाको यो घटना आम नागरिकले पचाउन सकेनन् । विवरणअनुसार गुल्मीको मदाने गाउँपालिकास्थित पुर्कोट दहमा रहेको इलाका प्रहरी कार्यालयले मन्त्री झाँक्रीलाई यस्तो सलामी अर्पण गरेको विषय सामाजिक सञ्जालमा यति व्यापक भयो कि मन्त्रीबाट सलामीकै अपमान भएको ठानियो । सामाजिक सञ्जालमा यस्तो आलोचना भएपछि मन्त्रीबाट आफ्नो बचाउको प्रयास भयो ।

तर त्यसमा यस्तो काम आधुनिक समाजमा गलत हो भन्ने महसुस भएन । उनले यो पिर्के सलामीकै पक्षमा वकालत गरिन् जसले सामाजिक सञ्जालमा झनै बढी प्रतिक्रिया निम्त्यायो । यसको अर्थ हो, समाज निकै अघि पुगिसकेको छ, यस्ता पदासीनहरूको सोचभन्दा । पहिले त यस्तो सलामीलाई रुचाएनन् भने त्यसपछि उनले दिएको प्रतिक्रियाप्रति नै आक्रोश व्यक्त भयो । सर्वसाधारणका यस्ता आक्रोशलाई नजरअन्दाज गर्न मिल्दैन । यो ठाउँमा पनि मन्त्रीले हेपेजस्तो मानियो ।

यस्तो सलामीका बारेमा मन्त्रीको प्रतिक्रिया आयो– ‘सलामी नलिएर झण्डा, आर्मी, प्रहरी छाडेर हिँडौँ त ? म असान्दर्भिक हो र ? असान्दर्भिक व्यक्तिले लिएको त होइन । मैले मान्छे मारेको हो र ? मान्छेले माला लगाइदिन्छन्, खादा लगाइदिन्छन् । मचाहिँ त्यो सबै छाडेर, सबै मानिसलाई बेखुशी बनाइदिएर हिँड्न सक्छु र ? हामीलाई सामाजिक सञ्जालमा आलोचना हुन्छ भन्ने पनि थाहा थियोे । तर यो कुनै आलोचनाको विषय भने हैन, कानुनअनुसार राज्यको एउटा अंगले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानको सामान्य प्रक्रिया हो ।

कार्यालय परिसरभित्र संघीय सरकारको मन्त्रीको हैसियतमा प्रवेश गर्दा संविधान, कानुनअनुसार सम्मानस्वरूप सलामी दिने प्रचलन रहेछ, यो सलामी त्यसैबाट आएको हो ।’ मन्त्रीको यो भनाइ आफ्नो ठाउँमा होला । तर मन्त्री आफैँ यो सलामी लिनकै लागि यो कार्यालयमा पुगेको भन्ने बुझाउँछ मन्त्रीको यो वक्तव्यले नै ।

यदि सलामी यो कार्यालयको स्थायी र अनिवार्य थियो भने प्रहरीले आफ्नो परिसरमा त्यस्तो व्यवस्था किन नगरेको भनी मन्त्रीबाट सामान्य प्रश्न समेत गरेको देखिएन । उनी त्यहाँ पुगिन्, पिर्के सलामी खाइन् र हिँडिन् । यसले प्रश्न उठ्छ, मन्त्रीको काम यति नै हो त ?


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x