काठमाडौं । जब निर्वाचनको कुरा उठ्छ तब आधुनिक प्रविधिको प्रयोगको चर्चा हुन्छ, त्यो राष्ट्रिय होस् कि दलगतकै । निर्वाचन आयोगले काठमाडौं उपत्यकाको एउटा क्षेत्रमा बितेका तीनवटा निर्वाचन आधुनिक प्रविधिबाट सफलतापूर्वक सम्पन्न गराइसकेको छ । तर स्थानीय निकायको निर्वाचनमा भने त्यसको प्रयोग गरिएन । कतिसम्म भने यो अभ्यास गरेको निर्वाचन क्षेत्रका त्यस्ता निकायमा पनि यो प्रविधिको प्रयोग भएन । आयोग आफैँ किन हिचककिचाएको होला भन्ने बुझ्न सकिएन । स्थानीय हुन् कि संसदीय मतदाता त एकै हुन् । तीन पटकसम्म यो प्रविधिबाट मतदान गरेको मतदातालाई त अभ्यास्त मानेर यो प्रविधिको उपयोग गर्न दिएका भए यो अभ्यासको प्रयोग विस्तार हुने थियो । संसारभरि नै अहिले विद्युतीय प्रणालीबाट मतदान गराउने अभ्यास चलिरहेको छ । यो प्रविधिको सबैभन्दा उत्तम पक्ष हो मतदानमा अलिकति पनि यताउता नहुनु र परिणाम पनि छिटो आउनु । पछिल्लो समय सत्तारुढ दलले त्यस्तो प्रविधि प्रयोग गर्न नमान्दा एक महिनासम्म त मतगणना नै चलिरहेको अवस्था देखिएको थियो । राष्ट्रिय चुनावमा त मतगणनाको प्रतीक्षा झनै तीव्र हुन्छ ।
यतिबेला भने केही निश्चित ठाउँमा अर्थात् उपत्यकाका स्थानीय तहमा आयोगले विद्युतीय प्रणालीबाट मतदान गराउन अध्ययन थालेको भन्ने विवरणहरू आएका छन् । यी तहका निर्वाचन वैशाख ३० मा हुने भनी भर्खर मात्रै निश्चित भएको हो । त्यही सन्दर्भमा आयोगले काठमाडौँका ११, ललितपुरका ६ र भक्तपुरका ४ स्थानीय तहमा यो प्रविधिबाट मतदान गराउने तयारी गरेको बुझियो जो सकारात्मक हो । यो प्रविधि नेपाल छिरेको निकै भयो । तर केही राजनीतिक दलले आफ्नो आन्तरिक र त्यसमा पनि आंशिकबाहेक प्रयोग गरेका थिएनन् । राष्ट्रिय चुनावमा यसको अभ्यास भयो भने अबका लगातार हुने चुनावहरूमा यसको प्रयोग हुनेछ । खर्चका हिसाबले पनि कागजका मतपत्रभन्दा यो प्रविधि किफायती छ । त्यसै पनि चुनाव महँगो भएको भन्ने आरोप लागेको अवस्था छँदै छ । त्यसलाई यो प्रविधिले मदत गर्छ भने किन प्रयोग नगर्ने भन्ने प्रश्न उठ्छ नै । भएको प्रविधिको प्रयोग नगर्नु भनेको परिवर्तनलाई आत्मसात् गर्न हिचकिचाउनु हो । खासगरी पछिल्लो निर्वाचनहरूमा अत्यधिक मतदान हुनेगरेका विवरण छन् । संविधानसभाका दुईवटा र त्यसपछि स्थानीयसहितका तीन तहका निर्वाचनमा अत्यधिक नै भन्नुपर्नेगरी मतदान भएको थियो । यो भनेको मतदातामा जागरुकता आएको अवस्था हो ।
यतिबेला आयोग प्राविधिक अध्ययनमा छ । अहिले सीमित गर्न खोजिएको उपत्यकाको क्षेत्र विस्तार गर्नुपर्ने हुन्छ । उपत्यकाबाहिरका कम्तीमा महानगरमा त यो प्रविधि प्रयोग गर्न सकिन्छ । उपत्यकाबाहिर चारवटा त महानगर नै छन् । त्यसमा अभ्यास भयो भने यसपछिका संघीय र प्रादेशिक चुनावमा त्यसको अभ्यास गर्न सकिन्छ । अझ सकिन्छ भने पालिकाका विशेष अवस्था हेरेर सुगमलाई यसको दायरामा राख्न सकिन्छ । प्रदेशका राजधानी रहेको पालिकाहरू आधुनिक सहरका रूपमा विकसित भएका छन् । त्यसको उपयोग गरौँ । निर्वाचन आयोगबाट गरिएका नमूना मतदान अभ्यासमा विद्युतीय मेसिनबाट मतदान गर्न एक जनालाई औसत १७ सेकेन्ड लाग्ने देखियो । कागजी मतपत्रमा मतदान गर्न भने एक मिनेट २० सेकेन्ड समय लाग्दोरहेछ । यसले एक जना मतदाताको पनि पूरै एक मिनेटभन्दा बढी समय बचत गराउँछ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया