Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयघुस लिनेदिने नेपाली, मुद्राचाहिँ डलरमा !

घुस लिनेदिने नेपाली, मुद्राचाहिँ डलरमा !


काठमाडौं । राष्ट्र बैंक सञ्चालक समितिका एक सदस्यले कुनै व्यवसायीबाट ३० हजार डलर घुस मागेको भन्ने विषय राज्य सञ्चालनको उच्च तहमा रहेकाहरू सबैलाई जानकारी भयो । अर्थमन्त्रीले त यस्तो कुरा आफूले पनि सुनेको भनेर सार्वजनिक मन्तव्य नै दिए । मन्त्रीका भनाइअनुसार त्यस्तो व्यक्तिलाई कारबाही नगर्नु भनेको सरकारलाई असहयोग गर्नु हो । गभर्नरले आफ्नो कालो धनलाई फुकुवा गरिदिन लेखेको पत्र सार्वजनिक गरेको सन्दर्भमा आक्रोश व्यक्त गर्दै त्यो ३० हजार डलर घुस मागेका व्यक्ति वा पदाधिकारीमाथि कारबाही नभएको भनी सार्वजनिक समारोहमा नै यस्तो गुनासो गरेका हुन् । यता यथार्थचाहिँ के हो भने त्यस्तो कारबाही गर्ने निकाय अर्थ नै हो । केन्द्रीय बैंकको सञ्चालक नियुक्ति गर्ने काम सरकारकै हो । यी आरोप लागेका सञ्चालक यसअघिको सरकारबाट नियुक्त भएका थिए । प्रक्रिया भिन्न होला तर यस्तो नैतिक पतन देखिने अभियोग लागेको राज्यका कुनै पनि पदाधिकारीमाथि पहल त सरकारले नै गर्नुपर्ने हुन्छ ।

तर केन्द्रीय बैंकका सञ्चालक समितिका सदस्यले व्यवसायीसँग ३० हजार डलरमा घुस मागेका भन्ने सार्वजनिक भएको लामो समय बित्दा पनि यो विषय आफैँ सामसुममा पर्नु भनेको निश्चय नै सामान्य कुरा होइन । त्यसमाथि यो विवरण सरोकारवाला उच्चपदस्थ सबैलाई जानकारी भएको रहेछ भन्ने त समाचार विवरणमा नै आयो । यस्तो घुस कोसँग मागिएको थियो भन्ने पनि खुलासा भयो । यस्तो घुस मागिएका व्यवसायी घराना राजयका स्वयं एउटा जिम्मेवार पदाधिकारी हुन् । संसद्का सदस्य भनेको देशमा सुशासनको स्थापना गर्नेमध्येमा पर्छन् । यो घुस उनैसँग मागिएको थियो । विद्युतीय माध्यममा समेत रेकर्ड रहेको भनिएको यो विवरणबारे सरका प्रस्ट हुन चाहेको भए यी माध्यमहरूले सहयोग गर्ने थिए ।

पछिल्लो समय विद्युतीय माध्यममा रेकर्ड रहेका विषय अदालतका लागि पनि बलिया प्रमाणका रूपमा लिने कुरा स्थापित भइसकेका छन् । अहिलेको चर्चा त केवल अनुसन्धानका लागि मात्रै हुने थियो । सोका लागि राज्यले कुनै रुचि नै देखाएको पाइएन । भ्रस्टाचारका सन्दर्भमा सबैभन्दा दुःखद पक्ष पनि यही हो । केन्द्रीय बैंक भनेको राष्ट्रको एउटा मात्रै अनुगमनकारी निकाय हो । त्यसका सञ्चालक उच्च चरित्रवान् हुनुपर्छ भनी कानुनमा नै लेखिएको छ । सवाल हो त्यसको पालना हुनु । जसमाथि यस्तो आरोप लागको छ ती पदाधिारी यदि त्यस्तो नैतिकवान् हुन्थे भने आरोप लाग्नासाथ छानबिनका लागि चुनौती दिएर केही समयका लागि त्यो पदबाट हट्ने थिए । त्यस्तो पनि केही भएको पाइएन । यसले बुझाउने कुरा हो देशमा घुसखोरी खुला हुँदै छ ।

त्यसमाथि अहिले चर्चामा आएको यो घुसकाण्ड त अर्को पक्षबाट पनि हेर्नुपर्ने हुन्छ । जोसँग घुस मागियो ती पनि नेपाली र जसले मागे ती पनि नेपाली । तर मुद्रा भने विदेशी । विदेशी मुद्रामा घुस माग्ने पदाधिकारी भने नेपाली मुद्राको व्यवस्थापन गर्ने संस्थाका सञ्चालक । सार्वजनिक भएको यो समाचार विवरणले त्यस्तो पदाधिकारीलाई आफ्नै देशको मुद्रासँग विश्वास नभएको भन्ने सन्देश दिन्छ । यति एउटै कारणले पनि ती व्यक्तिलाई केन्द्रीय बैंकको सञ्चालकमा एक मिनेट पनि बस्न दिन हुँदैन थियो । तर राज्यका सम्बन्धित निकाय र पदाधिकारीमा संवेदनशीलता रहेको अवस्थामा मात्र त्यस्तो हुन्छ । अब यी निकाय र तिनका पदाधिकारीबाट यस्तो अपेक्षा गर्ने ठाउँ नै रहेन । त्यसो नहुँदो हो त यतिबेलासम्म आधिकारिक रूपबाट नै छानबिन सुरु भइसकेको हुनेथियो होला ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x