Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोनाको डर अझै पनि उस्तै

कोरोनाको डर अझै पनि उस्तै


काठमाडौं । दुई छिमेकी देश भारत र चीनमा फेरि कोभिड–१९ संक्रमण बढ्न थालेका समाचार आइरहेका छन् । यी विवरण एक महिनाअघिदेखिका हुन् । पछिल्ला दिन यस्तो संक्रमणको दर बढिरहेको छ । भारतमा देखिएको संक्रमणले मान्छेको ज्यान पनि लिन थालेको छ । चीनमा ज्यान गएकाहरूको संख्या दुई दर्जन नै पुगिसकेको छ । यद्यपि भारतभन्दा चीन निकै टाढा र आवतजावत सहज नहुने देशमा पर्छ । त्यस कारण नेपालीहरू चीनको अवस्थाका बारेमा त्यति चिन्तित हुँदैनन् । तर यो ठाउँमा हेक्का राख्नुपर्छ, नेपालमा पहिलो पटक संक्रमण चीनबाटै प्रवेश गरेको थियो । यद्यपि व्यक्तिचाहिँ नेपाली थिए । तर उनी चीनबाटै आएका अवस्थामा संक्रमित भएको पुष्टि भएको थियो । यसले संक्रमणका लागि चीन पनि टाढा छैन भन्ने देखाउँछ । तर नेपाली अधिकारीहरू चीनको संक्रमणको हम्मेसी सुनुवाइ गर्दैनन् । यो हेलचेक्र्याइँ महँगो पर्न सक्तछ ।

भारत त घरछेउकै भैहाल्यो । विगतमा त्यहाँ संक्रमण बढेको देखिएको केही हप्तामै नेपालमा पनि त्यही रूपले संक्रमण बढ्न थालेको थियो । नेपालमा पछिल्ला दिनमा संक्रमणदर एक अंकमा झरिसकेको अवस्था भनेर धेरै हेलचेक्र्याइँ गरिरहिएको छ । न सामाजिक दूरी कायम छ न मास्कको प्रयोग हुन्छ । परीक्षण दर पनि दिनहुँ घटिरहेको छ । परीक्षणका लागि सरकारले गर्ने व्यवस्था पनि यतिबेला लापत्ता छन् । यसको अर्थ हो सरकार र नागरिक दुवैतिरबाट कोरोनोको संक्रमणलाई हेप्न थालिएको अवस्था प्रकट हुँदै छ जसले कुन दिन कस्तो विकराल रूप लिन्छ भन्ने अनुमान मात्रै गर्नुपर्छ ।

याद रहोस् नेपालमा फैलिएका महामारीका तीनवटै लहरमा भारत कारक थियो । त्यस्तो अब किन नहोला भन्ने सरकारमा रहेका कसैले चित्तबुझ्दो जवाफ दिन चाहेका छैनन् । त्यस्तो जवाफले उचित व्यवस्थापन खोज्छ । त्यो भनेको सीमानामा अपनाउनुपर्ने सतर्कता नै हो । अबका केही दिनमा करोडौँ संख्याका मान्छे एकसाथ सडकमा ओर्लँदै छन् । वैशाख ३० गतेको स्थानीय निर्वाचन त्यस्तो दिन हो । त्यो दिनको खतरा अर्को पनि छ । त्यस दिनका लागि छिमेकी देश भारतबाट ठूलो संख्याका मान्छे मतदान गर्नका लागि भनी आफ्नो देश आएका हुन्छन्, त्यसले संक्रमणको भारतीय अवस्था नेपाल भित्रन सक्छ । यो अनुमान मात्रै होइन विगतका उदाहरण हेरे पुग्छ । नेपालमा संक्रमणको विस्तार यस्तै बेलामा भएका पाइन्छ । त्यस कारण पनि यो पटक नबढ्ला भन्ने अवस्था देखिँदैन । तर यता सतर्कता भने त्यो विस्तारलाई रोक्ने खालको देखिएको छैन ।

नेपालमा जति छिटो संक्रमणको दोस्रो र तेस्रो लहर आयो त्यो भारतमा बढेको अनुपातमा नै देखिन्छ । यतिबेलाको खाँचो हो, त्यसलाई सकेसम्म रोक्न त्यसबेला सक्रिय बनाइएका भारतसँगको सीमानाकाका हेल्थ डेस्कलाई फेरि त्यही रूपमा परिचालन गरिनु र आफ्नै देशभित्र पनि भिडभाडको अवस्थालाई व्यापक प्रचारबाट निरुत्साहित गरिनु ।

सार्वजनिक यातायातमा मास्क अनिवार्य गरियो भने मात्रै पनि संक्रमण फैलनबाट केही हदसम्म रोकिन्छ । सीमानाकामा केन्द्र र प्रदेश सरकारले अध्ययन गरी उच्च सतकर्ताका लागि जनशक्ति र स्रोतसाधनको परिचालन गर्न जरुरी छ । कम्तीमा निर्वाचनको दिन नजिक आउँदै गर्दा त यस्तो काम झनै अनिवार्य नै भएको छ । अहिले संक्रमण विस्तार भएका भारतका सहर हुन् दिल्ली, महाराष्ट्र, कर्नाटक, ओडिसा, उत्तर प्रदेश, हरियाना, पञ्जावलगायत । यी राज्यमा नेपालीको संख्या ठूलो छ । उत्तर प्रदेश त नेपालसँगै जोडिएको राज्य हो । यसबारे समयमै सचेत भएर उचित कदम चालियोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x