Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयश्रीलंका हुनबाट जोगिने हो भने…

श्रीलंका हुनबाट जोगिने हो भने…


काठमाडौं । यतिबेला सरकारमा रहेका मन्त्री पदाधिकारीदेखि सबैको एउटै भनाइ आइरहेको छ, देश श्रीलंका हुँदै छ । सबैबाट यो भ्रम फैलाउने प्रयास भइरहेको छ । उनीहरूका भनाइमा नेपालको अवस्था त्यस्तो छैन । यो ठाउँमा कामना गर्नुपर्छ त्यस्तो हुनु हुँदैन र नहोस् पनि । यसले शासकलाई भन्दा नागरिकलाई कष्ट दिँदोरहेछ । भर्खरमात्रै त्यहाँका राष्ट्रपतिदेखि प्रधानमन्त्रीलगायतका सत्तासीनहरू भागेका छन् तर त्यसले नागरिकको समस्या भने हल गर्दैन । यतिबेला त्यो स्थितिमा सुधार त परै जाओस् सरकार चलाउने मान्छे पाउन गाह्रो भइरहेको छ । हजारौँ मान्छे सडकमा उत्रिएका छन् र उनीहरू भोकभोकै पनि छन् । कसले कसरी उद्धार गर्ने हो संकेतसम्म देखिएको छैन ।

अरु कुरामा नहोला तर कुशासनमा त नेपालको अवस्था पनि मिल्दोजुल्दो नै छ । भर्खरमात्रै यहाँका अर्थमन्त्रीले राजीनामा दिए । त्यसअघि उनले गरेका कर्तुतहरू सार्वजनिक भइसकेका छन् । एउटा बजेट बनाउन अर्बौँका चलखेल भएका भन्ने आरोपहरू छन् । छानबिनले पनि त्यसलाई पत्ता लाउने कुरा भएन । यतिबेला नेपालको बजार पनि छोइनसक्नु नै छ । सरकार अनुगमन गर्दैन । महँगी किन बढिरहेको छ भन्ने कसैलाई थाहा छैन । राष्ट्र बैंकले केही पहिले मात्रै आयात व्यापारको अंक अंक १८ खर्बको र निर्यात भने एक खर्बको अंक देखाएको थियो । यो आर्थिक संकट गहिरिँदै गएको तर्फको संकेत हो यो । चालू वर्ष खेतीपाती पर्याप्त मात्रामा भएन । कारण थियो सरकारले किसानलाई मल दिन सकेन ।

अर्थमन्त्रीले तरकारीमा कर छुट दिएको बताए तर त्यसले आफ्नो देशको उत्पादनभन्दा आयातमा बल दिन्छ भन्ने सोचिएन । सरकारको नीति गलत भयो भने के हुन्छ भन्ने उदाहरण हो श्रीलंका । दुई दिनअघि मात्रै त्यो देशमा प्रदर्शनकारीले राष्ट्रपति निवासमा प्रवेश गरे । त्यहाँको स्विमिङ पुलमा पौडिँदै रमाए पनि र राष्ट्रपतिको शयनकक्षमा एकछिन सुतेर र सेल्फी खिचेको भिडियो सामाजिक सञ्जालमा अझै पनि आइरहेका छन् । तर यी सबै गर्दा उनीहरूको पेट भने भोका थिए । यता शासक भने देशबाट जुनसुकै बेला भाग्न तयार रहेर विमानस्थलमै आफ्नो बास बनाएका थिए ।

उल्लेख भएका विवरणको अर्थ हो, देशलाई यो गतिमा पु-याउनेहरूले कुनै जिम्मेवारी लिएनन् । बितेका चार वर्षदेखि नै यस्तो अवस्था आउन सक्तछ भनेर सतर्क रहन सुझाइएको थियो । तर जोगिने उपाय खोजिएन । शासनमा रहेकाहरूले यसको जिम्मा लिनुपर्नेमा उनीहरू परिआए भागौँला भनेर त्यसको तयारी गर्न लागे । नेपालमा खासगरी सत्ता चलाइरहेका दलहरू र तिनका नेतामा जिम्मेवारीबोधको कमी छ । त्यस्तो थियो भने अर्थमन्त्रीले गरेका कर्तुतविरुद्ध किन सबै मौन बसे ? यतिबेला हरेक क्षेत्र सम्बन्धित माफियाको पन्जामा गएको आम बुझाइ छ । सरकारले त्यसलाई चिर्न सकेको छैन ।

त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकका अनुसार दक्षिण एसियामा सबैले सिक्ने पाठ भनेको राजनीतिक नेतृत्व अपारदर्शी र अनुत्तरदायी हुनु हुँदैन भन्ने नै हो । अनुत्तरदायी र अपारदर्शी राजनीतिले विद्रोह जन्माउँछ भन्ने उदाहरण विगतमा धेरै ठाउँमा देखिइसकिएका छन् । श्रीलंका पछिल्लो उदाहरण हो । राजनीतिक नेतृत्वले देखाएको अपारदर्शिता श्रीलंकामा भन्दा बढी देखिन्छ  । होसियार रहनुपर्ने ठाउँ यही हो । सबै विकृतिका जननी घोर अपारदर्शिता नै हो भने अब प्रश्न उठ्छ त्यसमा सुधार गर्ने कि श्रीलंकातर्फ लाग्ने ? 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x