काठमाडौं । आफ्नो क्रियाशीलता देखाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यो हप्ता एउटा विवरण सार्वजनिक ग-यो । त्यसमा आफ्नो प्रयासले भ्रष्टाचारप्रति नागरिकहरूको उत्साहपूर्ण सहभागिता प्रकट भएको भन्ने सन्देश दिन खोजिएको छ । अख्तियारको सक्रियता बढे वास्तवमा नै भ्रष्टाचार घट्छ । भ्रष्टाचार भनेको जुनबेला यसको पोल खुल्छ त्यसबेला प्रकट हुने अर्थात् देखिने कुरा हो । त्यो प्रकट नहुँदासम्म यसको अवस्थाबारे जानकारी समेत हुँदैन । भ्रष्टाचारले बढी पीडित हुने नागरिक नै हो । त्यो असंगठित हुन्छ । त्यसकारण उसले गर्ने उजुरीको पर्खाइमा रहियो भने सम्बन्धित निकायको सक्रियता बढेको भन्न मिल्दैन । अख्तियारको सोचाइ भने आयोगमा परेका उजुरीका आधारमा आफ्नो सक्रियता स्थापित गर्न खोजेजस्तो देखियो । उसले सार्वजनिक गरेका सूचनाहरूमा यस्तो मनसाय रहेको पाइन्छ । यसको अर्थ उजुरी केही होइन भन्नेचाहिँ होइन । त्यस्तो अर्थ पनि नलागोस् । अख्तियारको क्रियाशीलता देखिने मुख्य कुरा त यसको प्रभावकारी अनुसन्धान नै हो ।
अख्तियारले जनाएअनुसार आयोगमा चालू वर्षको एक महिनामा अर्थात् साउनमा मात्रै भ्रष्टाचारका दुई हजार एक सय ९२ वटा उजुरी परे । आयोगका अनुसार पनि यो धेरै ठूलो र आजसम्मको इतिहासमा नै अभिलेख रहने खालको घटना हो । यसले भ्रष्टाचार कुन हदसम्म बढेको छ भन्ने पनि बुझाउँछ । तर उजुरी प्राप्त भएर मात्र भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता बढेको भन्न मिल्दैन । न त्यस्तो उजुरीको संख्याले भ्रष्टाचार नियन्त्रण गर्न मदत पुग्छ । आयोगमा परेका उजुरीले खोज्ने पहिलो कुरा हो, त्यसमाथिको अनुसन्धान । उल्लेख भएअनुसार साउन महिनामा मात्रै दुई हजार एक सय ९२ वटा उजुरी परेका र यो संस्थाको ३२ वर्षे इतिहासमा पहिलो पटक हो भने त्यही महिना आयोग आफैँले भने ती उजुरीमाथि कुन संख्यामा कारबाही चलायो अर्थात् अनुसन्धान भएर कति मुद्दा परे भन्ने प्रश्न पनि सँगसँगै आउँछ । प्रवक्ताका भ्रष्टाचार बढेकाले नै उजुरी पनि बढेको हुनुपर्छ । सवाल यो बढेको भ्रष्टाचारलाई कसले र कसरी रोक्ने भन्ने हो ।
केही पहिले अर्थ मन्त्रालयमा एउटा गम्भीर प्रकारको भ्रष्टाचारको घटना सार्वजनिक भयो । त्यसको पनि अख्तियारमा उजुरी परेको हो । के त्यसमा छानबिन भयो त ? अहिलेसम्म कसैलाई थाहा छैन । यता अर्थमन्त्री भने पुनः नियुक्त भए । अख्तियारले नै जनाएअनुसार एक वर्षमा १७ हजार एक सय ६७ उजुरी फर्छौट हुनेगरेका छन् । तर यो संख्यामध्ये अधिकांशले सफाइ पाएको अवस्था छ । बहालवाला मन्त्रीले ७० करोड घुस मागेको रेकर्ड सार्वजनिक भयो । त्यो पनि अख्तियारमा परेको यस्तै उजुरीमध्येको एउटा थियो । त्यो उजुरीमा छानबिन नै नभई अख्तियारको तामेलीमा परेको भन्ने आम नागरिकको बुझाइ छ । त्यसपछि अर्का एक मन्त्रीले बजेट निर्माणका क्रममा भएको बदमासीबाट माफी पाए । अख्तियारका बारे सार्वजनिक भएका यी केही सन्देश हुन् ।
अख्तियारकै एउटा अर्को जानकारीअनुसार छ सय ३९ जना प्रतिवादी कायम गर्दा दुई अर्ब ७९ करोड बिगो कायम भएको थियो । यो गत वर्षको विवरण हो । आयोगमा दुई हजार उजुरी परेको महिना ऊ आफैँले भने १६ वटा मुद्दा दायर गरेको विवरण दिएको छ । यसले उजरी र मुद्दाको तालमेल कस्तो छ भन्ने बुझाउँछ । केहीअघि मात्रै विशेष अदालतबाट प्राय सबै मुद्दामा सफाइ दिइएको भनी छानबिनका लागि न्याय परिषद्मा उजुरी परेको थियो । आम मान्यता हो, भ्रष्टाचारविरुद्ध राज्यका निकाय कडा हुनुपर्छ । तर यता ती धेरै खुकुला भए भन्ने विवरणहरू आइरहन्छन् भने भ्रष्टाचार बढेको अवस्थामा कारबाहीको तह फितलो भएको देखिनु सुखद होइन । यसले भ्रष्टाचारलाई भयरहित बनाउँछ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया