Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयदेशको दुर्गतिको जिम्मेवार को ?

देशको दुर्गतिको जिम्मेवार को ?


काठमाडौं । गएको हप्ता प्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘देशको अवस्था दुर्गतिपूर्णरूपमा छ । तर, यसको जिम्मेवार को हो ?’ यस्तो प्रश्न गर्ने प्रधानमन्त्रीको यो पाँचौँ कार्यकाल हो । परिस्थितिहरूले अझै उनैलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने देखाउँछ । सातौँ पटकका लागि त ज्योतिषीले नै भनिसेको अवस्था छ । यस्ता पदाधिकारीबाट देश दुर्गतिमा पुगेको छ र त्यसको जिम्मेवार को हुने भनी गरिएको प्रश्नलाई सामान्यरूपले हेर्न र लिन हुँदैन ।

प्रधानमन्त्रीले नै खुलासा गरेअनुसार अब कर्मचारीलाई तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला आइसकेको छ । यो आर्थिक अवस्थाको एउटा चित्र हो । जब सरकार आफ्नो स्रोतबाट आफ्ना कर्मचारीलाई तलब समेत दिन सक्तैन भने त्यस्तो सरकार र राज्यबाट सर्वसाधारणले के अपेक्षा गर्ने भन्ने अर्को प्रश्न उठ्छ । यो कुनै विपक्षीले भनेको अवस्था भए पत्याइहाल्नुपर्ने थिएन होला तर प्रधानमन्त्रीको जानकारी हो यो । राज्यकै एउटा अंग निजामति कर्मचारी दिवसका अवसरमा प्रधानमन्त्रीबाट देश दुर्गतिपूर्ण अवस्थामा पुगेको भनी यसरी व्यक्त भयो । जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । जनताले भोट हाले भने मात्रै सरकार आउँछ । यस्तो बेलामा यो देशको दुर्गति हुनुको जिम्मेवार को हो ? राजनीतिक दलहरू मात्रै हो कि ब्युरोकेसी पनि हो ? किन काम भइरहेको छैन ? देशलाई यस्तो दुर्गतिमा पु-याउने को हो ? यसको व्यापक छलफल हुन जरुरी छ ।

एउटा बाटो बनाउनु छ, २५ वर्षसम्म पुगेकै छैन । बाटो इन्जिनियरले बनाउने हो, पैसा पुगेन भने दिन तयार नै छ सरकार । देशभरको अवस्था त्यस्तै छ । हुँदाहुँदा कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो । जनताको सेवा गर्ने पहिलो माध्यम त ब्युरोक्रेसी हो नि । उसले गर्दैन त कसरी देश बन्छ ? अस्पतालमा डाक्टर छैन, ठाउँमा इन्जिनियर छैन, अनि कहाँबाट हुन्छ ? सीडीओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ ।

प्रधानमन्त्रीले भनेजस्तो वास्तवमा नै ब्युरोक्रेसीले सहयोग नगरे देशमा कुनै पनि काम अघि बढ्दैन । यो सत्य हो । तर देशको सर्वोच्च कार्यकारी पद त राजनीतिक दलबाटै आउने हो । यस्तो प्रश्न गर्ने प्रधानमन्त्री आफैँ पाँच पटक यो पदमा आसीन भइसेको व्यक्तित्व हो । कर्मचारी भनेको जागिर खान आएको वर्ग हो । आखिरमा त्यो वर्गलाई देशलाई उन्नतितर्फ लाने काम त सर्वोच्च कार्यकारी पदकै हो । जब राजनीतिक नेतृत्वले ‘जिते खान्छु हारे जान्छु’ भन्ने मान्यता राख्छ अनि देश दुर्गतितर्फ लाग्छ । देशलाई नेतृत्व दिनछु भन्नेहरूले यसको ख्याल गर्नुपर्छ । जब पटक गन्न र पालो पु-याउन देशको यस्तो कार्यकारी पद ताकिन्छ उता पटकमा संख्या त बढ्ला तथा पालो पनि पुग्ला तर देशचाहिँ यस्तै दुर्गतिमा पर्दोरहेछ । बहालवाला प्रधानमन्त्रीबाटै यस्तो महसुस भएको यो अवस्थामा चाहिँ केही सुधार होला कि ! प्रतीक्षा गरौँ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x