काठमाडौं । इतिहासमै अभिलेख रहने गरी पाँच महिनाको अन्तरमा दुई पटक विघटनमा परेको प्रतिनिधिसभा संसद्ले करिब करिब पूर्णकाल पूरा गर्न पायो । आउँदो मंसिर ९ गते यो पाँच वर्षको पुग्नेछ । तर यो पाँच वर्षमा यो संसद्ले धेरै अभिलेख बनायो । प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन भनी अदालतले फैसला गर्दागर्दै पनि त्यसको तीनै महिनामा तिनै प्रधानमन्त्रीबाट अर्को विघटन भयो । संसदीय पद्धति भएका देशमा यस्तो घटना नेपालमा मात्रै र त्यो पनि पहिलोपटक भएको हुनुपर्छ । आफूले विघटन गरेर अदालतबाट पुनर्स्थापना भएको संसद्का बैठकहरु निरन्तर एक वर्षसम्म बहिष्कृत भए । यो पनि एउटा बिर्सिनलायक घटना नै हो । फेरि पनि यस्तो नदोहोरियोस् भन्ने कामना गर्नुपर्छ । यिनै दल र यिनैका नेतृत्वमा अर्को संसद्का लागि निर्वाचन सम्पन्न हुँदै छ । हिजो मध्यरातिदेखि भएको प्रतिनिधिसभाको अन्त्य अर्को संसद्को चुनावका सन्दर्भमा नै हो । त्यो चुनावको मिति अलिक पछि थियो भने यो सभा केही दिन अझै लम्बिने थियो । पाँच वर्ष पूरा हुन आठ दश हप्ता बाँकी नै छ ।
संविधानसभाले घोषणा गरेको यो संसद् अर्थात् प्रतिनिधिसभाको यो पहिलो आवधिक अरु पनि कारणले चर्चामा छ । यो सभा २०७४ मंसिर १० र २१ को आमनिर्वाचनबाट खडा भएको हो । वाम विचारका एमाले–माओवादी गठबन्धन र त्यसको एउटै चुनावी घोषणाबाट यो शक्तिलाई जनताले झन्डै दुई तिहाइ मत दिएका थिए । २०७४ फागुन ३ मा एमालेका तत्कालीन अध्यक्षले प्रधानमन्त्रीको शपथ लिएका थिए । त्यही महिनाको २७ गते विश्वासको मत लिँदा उनका पक्षमा एउटा दल नेपाली कांग्रेसबाहेक सबैको समर्थन थियो उनको सत्ता तीन वर्ष चार महिनाको मात्रै रह्यो । उनको सत्ता २०७८ असार मसान्तसम्म मात्र रह्योे । यसले स्थिरताका लागि भनी जसले मत मागे र पाए पनि उनले नै पाँच वर्षसम्म टिकाउन नसकेको अवस्था बन्यो । यो पनि एउटा अभिलेखमा नै रहनेखालको सवाल बन्यो ।
कुनै एउटा दलको करिब दुई तिहाइ मत रहेको यो प्रतिनिधिसभाको अर्को अनुकरण नहोस् भन्ने विषय हो अध्यादेश वा राज्य चलाउन खोजिएको अवस्था । संसद् भनेको कानुन बनाउन जनताबाट निर्वाचित भनेर चिनिन्छि । तर अवस्था कस्तो देखियो भने अधिवेशन अन्त्य गर्दै अध्यादेश ल्याउने होड नै चल्यो । यो सभाको पाँच वर्षको कार्यकालमा सभाबाट ७५ विधेयक पारित भए भने त्यसको दुई तिहाइ भाग सरकारको एकलौटी तजबिजबाट चल्ने गरी ५० वटा त अध्यादेश नै ल्याइए । यो क्रम केन्द्रदेखि प्रदेशसम्म नै जारी रह्यो । यो समयमा दुईवटा सरकार बने तर कामको शैली भने एउटै देखियो । कतिसम्म भने नागरिकता वितरण र बजेट घोषणा समेत अध्यादेशबाट भए वा गर्न खोजियो ।
अबको संसद्मा विगतको जस्तो नजीर बन्न हुन्न । त्यसमा लागि मतदाताले नेतृत्वसँग प्रत्यक्ष सम्वादमार्फत प्रश्न गर्नुपर्छ र यस्तो कुरा हुँदैन भन्ने ग्यारेन्टी नै माग्नुपर्छ । माथि उल्लेख भएका विवरणहरुले नै बताउँछन् त्यति ठूलो जनअपेक्षा प्रकट भएको संसद्का पाँच वर्ष खेर गएका छन् । स्थिरता दिने भनियो तर त्यही काल सबैभन्दा अस्थिर भयो । प्रदेशमा त यो कार्यकालमा तीनवटा सरकार बने । यी कुराले अब यो स्थिति दोहोरिँदैन भन्ने वचन खोज्छन् । नेतृत्वले यसबारे जवाफ दिनुपर्छ र मतदाताले पनि त्यस्तो जवाफ माग्नुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया