Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसमृद्धिका सपनामाथि प्रश्न

समृद्धिका सपनामाथि प्रश्न


काठमाडौं । आउँदो पाँच वर्ष २०७९–२०८४ का लागि मंसिर ४ मा हुने चुनावमा सबै दल र स्वतन्त्र समेतले उठाएको र सबैभन्दा महत्वपूर्ण मानिएको र भनिएको पनि विषय हो, अबका दिन रोजगारीका लागि कोही पनि विदेश जानु पर्दैन । तिनलाई आफ्नै देशमा खोजेअनुसारकै आकर्षक रोजगारी दिलाइनेछ । यसरी रोजगारी दिइने संख्या भनी माओवादीले यो पाँच वर्षमा २० लाख भनेको छ भने कांग्रेसले साढे १२ लाख । एमालेको अंक त किटान छैन तर उसले पनि घुमाउरो पाराले पाँच वर्षमा २५ लाखलाई रोजगारी दिने भनेको छ । यी सबै जोडिँदा आउँदो पाँच वर्षमा ५० लाखले रोजगारी पाउनेछन् । बेरोजगारहरूका लागि यो धेरै ठूलो आकर्षणको विषय हो वा हुनुपर्ने हो । तर स्थिति त्यस्तो देखिएन । कि यो कुरा जनतासम्म पुगेन कि उनीहरूले पत्याएनन् भन्ने विवरणहरूले देखाइरहेका छन् । सरकार चलाउने र विकास गर्ने भनिरहहेका दल र तिनका नेताका बोली कसैबाट पनि पत्याउन छाडियो भने त्यस्तो स्थिति आउनु राम्रो होइन ।

कतिपय दलले त यो चुनावमा मतदातालाई लोभ्याउन एक घर एक रोजगारीको व्यवस्था गरिने बताएका छन् । तर निर्वाचनका मुखमा बाँडिएका यस्ता आश्वासनले समेत जनताको मन छोएको देखिएन । कारण हो, उनीहरूको चुलो बल्ने अवस्था नहुनु । चुनावको मिति आइसकेको हप्ता मात्रै ठूलो संख्याले वैदेशिक रोजगारीका लागि घर त्यागेको देखियो । संघीय चुनाव मुखैमा रोजगारीका लागि अन्तर्राष्ट्रिय विमानस्थल छिमेकी देशको स्थलगत सिमानाबाट जुन संख्या बाहिरिरहेका विवरणहरू आइरहेका छन् ती दुःखद छन् । उनीहरूका चुलामा भात पाक्ने अवस्था थियो भने उनीहरूलाई पनि चुनावको चासो लाग्ने थियो होला । चुनाव आइसकेको हप्तामात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ५४ हजार एक सय ३५ नेपाली बाहिरिएका विवरण सरकारी निकायले नै बताइरहेको छ । उनीहरूका व्यक्तिगत विवरणअनुसार यो संख्यामध्ये केही मात्रै अध्ययन र भिजिट भिसाका छन् । बाँकी ठूलो संख्या रोजगारीकै लागि बाहिरिएको सरकारी आाँकडा छ । यसको अर्थ हो, उनलाई चुनावले थेग्न र थाम्न सकेन । विमानस्थलको जतिकै संख्या स्थलमार्गबाट पनि बाहिरिनेहरूको रहेको अनुमान छ । चुनावले आकर्षण गरेको थियो भने यतिबेला उताबाट आउनेको संख्या बढ्नुपर्ने हो । तर उल्टो उता जानेको संख्या बढेको देखियो ।

स्थलगतरूपमा उता जानेहरूको रेकर्ड रहँदैन तर विमानस्थलको त आवागमनको स्थिति बुझ्न सकिन्छ नै । सरकारी निकाय अध्यागमन विभागका अनुसार पछिल्लो एक सातामा विमानस्थलबाट ५४ हजार एक सय ३५ बाहिरिँदा ३९ हजार ८६ जना मात्रै भित्रिएका छन् । विभागका अनुसार प्रत्येक दिन आउनेको संख्या कम र जानेको संख्या बढी छ  । यो कात्तिक २५ गतेसम्मको विवरण हो । यो दिन भनेको चुनाव आउन हप्तादिन मात्र बाँकी रहेको अवस्था हो । यसले बुझाउने कुरा हो, देशको नेतृत्वमा भर पर्ने अवस्था घट्दै गएको छ । आफ्नो भविष्यप्रति आशा हुन छाड्यो भने त्यसले देश र व्यक्तिकै लागि पनि दुःखद परिस्थिति निम्त्याउँछ । अहिलेको बेला कस्तो भने नेताहरूले सुख र समृद्धि ल्याउने भनी भाषण गरिरहेका छन् । तर यता त्यसलाई सुनिएको छैन । के समृद्धिका सपना पनि पत्याइन छाडिएका हुन् ? यस्तो स्थिति किन आयो भन्ने आत्ममूल्यांकन हुन जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x