काठमाडौं । नेपाल गणतान्त्रिक मुलुक बनेको डेढ दशक नाघेको छ । गणतान्त्रिक देशको एउटा परिचय हो, आवधिक निर्वाचनबाट राष्ट्राध्यक्ष छानिनु । नेपालमा दुई जना राष्ट्रपति भइसकेका छन् । पछिल्लो समय तेस्रो राष्ट्रपतिका लागि निर्वाचनको मिति पनि तोकिसकिएको छ । तर यता राष्ट्रपतिका चालचलन राजामहाराजालाई बिर्साउने खालका रहेको भनी चर्चामा आइरहने गरेका छन् ।
खासगरी उनका सवारीमा जनताले पाउने गरेका सास्ती सधैँ चर्चामा आउने गरेका छन् । त्यो कतिसम्म भने केही मिनेटको एउटा सवारीमा पूरै दिनजस्तो र उपत्यकाका तीनवटै जिल्ला यातायात ठप्प हुनेगरेको छ । त्यसको पछिल्लो उदाहरण हो, गएको शुक्रबारको सवारी जसले त्यसदिन तीनवटै जिल्लाका आवतजावतलाई खलबल्यायो भने प्रहरीका लाठीबाट मानिस घाइते हुनेसम्मका घटाना पनि देखिए । एक जना चिकित्साकर्मीमाथि प्रहरीको लाठी बर्सियो । त्यो यस्तो बेला भयो जुन समय राष्ट्रपति भने संसद् भवनको परिसरमा आफ्नो सम्बोधन गरिरहेको अवस्था थियो ।
राष्ट्रपतिको सवारी व्यवस्थित गर्ने सन्दर्भमा जहिले पनि यस्तै देखिँदै आइएको छ । निश्चय नै राष्ट्रपतिले आफ्नो सवारीमा जनतालाई दुःख दिने नियत राखेको अवस्था होइन होला । तर पटक–पटक यस्तो कुरा दोहोरिरहँदा बदनाम यो पदकै हुने हो । त्यसकारण पनि आइन्दा यस्तो नहुन निर्देशन हुने अपेक्षा जहिले पनि भइरह्यो तर त्यो कुरा मानिएन भन्ने त यो पछिल्लो घटना नै उदाहरण हो । कुनै पनि विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि विभिन्न प्रबन्धहरू गर्नुपर्छ नै । तर त्यसका नाममा आधा घण्टाको यात्रामा दिनभरजसो नै हुनेगरी आवागमन ठप्प बनाउने कामलाई स्वाभाविक मान्न सकिन्न । यो दिनको राष्ट्रपतिको सवारी कुनै औपचारिक कार्यक्रमका लागि थिएन ।
संसद्लाई सम्बोधन गर्ने सन्दर्भको यो कार्यक्रम राष्ट्रपतिको इच्छाबाट तय भएको थियो । त्यसका लागि संसद् भवन जाँदा र त्यस्तो निजी सम्बोधन सकेर फर्किँदा राष्ट्रपतिको शीतल निवासदेखि संसद् भवन नयाँ बानेश्वरसम्म र फेरि संसद् भवन नयाँ बानेश्वबाट शीतल निवाससम्म सात किलोमिटरको दूरी हो । तर यता संसद् भवनमा सम्बोधन भइरहँदा पनि यो मार्गमा नागरिकलाई दुवै सडकका पेटीबाट वारपार गर्न दिइएन । जसले एउटा ठूलो भीड निसास्सिएको जस्तो महसुस गर्न बाध्य भयो । यो सवारी गाडीमा तर बग्गीको पछि–पछि रहेको हुँदा यात्राले समय लियो । अनौपचारिक कार्यक्रममा यस्तो प्रदर्शनी आवश्यक थिएन ।
यस्तो आडम्बरलाई न राष्ट्रपतिबाट रोकियो न प्रहरीले नै । विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ मा ‘राजकीय भ्रमण, संसद्को बजेट अधिवेशन, संयुक्त संसद्को पहिलो बैठक, विदेशी राष्ट्रप्रमुख र सरकारप्रमुखको निमन्त्रणामा हुने विदेश भ्रमण, नेपाल सरकारले तोकेको अन्य भ्रमण’ अति विशिष्ट सवारीको परिभाषामा पर्छ । त्यसमा भनिएको छ, ‘अति विशिष्ट सवारीका बेला सडकमा समन्वय गरेर सुरक्षा व्यवस्थापन मिलाइनेछ ।’
यही सवारीका क्रममा एक जना चिकित्सक निर्ममतापूर्वक पिटिए । यो विवरण हो, ट्रमा सेन्टर छेउको बाटो जुन राष्ट्रपतिका लागि खाली गराइएको थियो । टाउको र हातमा चोट लागेका यी चिकित्सक ट्रमा सेन्टरको आईसीयूमा ‘अब्जर्भेसन’मा नै राख्नु प-यो । यो विवरण यो ठाउँमा उल्लेख हुनुको कारण हो, सडकमा समन्वय गरेर सुरक्षा व्यवस्थापन मिलाइनेछ भन्ने प्रावधानको उल्लंघन भएको अवस्था देखिनु ।
चिसकत्सकले आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै आफ्नै अस्पतालको छेउमा यो प्रकारको आक्रमण व्यहोर्नु परेको अवस्था सामन्य होइन । सवारीका नाममा निर्दोष नागरिकले यस्ता प्रकारका यातना सहनुपर्ने अवस्था अब नआओस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया