Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअनुदान प्राप्ति घट्नुको कारण खोजियोस्

अनुदान प्राप्ति घट्नुको कारण खोजियोस्


काठमाडौं । ऋणको रकम सहीरूपले उपयोग हुन सकेन, अझ दुरुपयोग बढी हुनथाल्यो भने त्यसले देशलाई नै डुबाउँछ भन्ने उदाहरण दक्षिण एसियाली मुलुक श्रीलंका हाम्रासामु छ । त्यो देशले जेमा पनि र जसबाट पनि तथा ब्याज जतिसुकै भए पनि ऋणलिने गरिरहँदा एक दशकको अन्तरमा यसरी टाट पल्टियो जो संसारभरिकै उदाहरण बन्न गयो । त्यसबाट नेपालले पाठ सिक्नुपर्छ भनिरहिएको बेला यता ऋणको अंक भने बढेको बढ्यै नै छ । कतिसम्म भने पछिल्लो समय कतिपय भौतिक पूर्वाधार निर्माण लिइएको ऋण तिर्न नसकेर ती आयोजना ऋणदातालाई नै बुझाउनुपर्ने हो कि भन्ने खतरापूर्ण अवस्थाका बारेमा चर्चा हुन थालेको छ । भविश्यमा यस्तो अवस्थाबाट जोगिन ऋणबाट निर्माण हुने परियोजनाका बारेमा गम्भीर हुन आवश्यक छ । यहीबीचमा अर्को चिन्ताको विषय प्रकट भएको छ जो आफैँमा अर्को चुनौती हुनुपर्छ । त्यो हो अनुदानको रकम घट्दै जानु ।

अर्थ मन्त्रालयका अनुसार सरकारले चालू आर्थिक वर्षमा प्राप्त हुने भनी अपेक्षा गरिएको अनुदानको रकमको अंक ५५ अर्ब ४५ करोड रुपैयाँ थियो । बजेटमा सोअनुसार कार्यक्रम पनि उल्लेख भए तर अवस्था कस्तो देखियो भने दिन बित्दै जाँदा त्यसको आधाको आधा पनि पाइनेजस्तो देखिएन । चालू वर्षको आधा समय उकालो लाग्दा प्राप्त भएको अनुदानको रकमको अंक चार अर्ब ८० करोड रुपैयाँ मात्र पुगेका देखियो । यो भनेको यो समयसम्म ५५ अर्ब ४५ करोडको आधाको आधाको पनि नआएको अवस्था हो । जुन बेलादेखि सरकारले ऋण घटाएर अनुदान बढाउने भन्ने नीति लियो त्यसै बेलादेखि अनुदानको रकम अनुमान गरिएभन्दा आधाको पनि आधाबाट पनि घट्न थालेको देखिन्छ ।

अहिले प्राप्त भएको अंक लक्ष्यको ८ दशमलव ६५ प्रतिशत मात्रै हो । सरकारले अनुदानमा राखेको लक्ष्य र प्राप्तिको अवस्था यो वर्ष मात्र होइन, पछिल्ला केही वर्षदेखि यस्तै रूपमा घट्दै आएका अवस्था छ । अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार गत आर्थिक वर्षमा ५९ अर्ब ९९ करोड रुपैयाँ वैदेशिक अनुदान ल्याउने लक्ष्य राखिएको थियो । तर आयो १८ अर्ब २९ करोड रुपैयाँ मात्र । यो भनेको लक्ष्यको ३० दशमलव ५३ प्रतिशत प्राप्त भएको अवस्था हो चालू वर्षको तुलनामा त यो उपलब्धि नै हो तर यो ठाउँमा पनि आधाको भन्दा आधा प्रतिशत मात्र प्राप्त भएको छ । पछिल्लो वर्षले त अघिल्लो वर्षको प्राप्तिलाई पनि भेट्ने देखिँदैन । अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका अनुसार सम्झौतामा भएका स्वार्थअनुसार आयोजनाहरूको काम नहुँदा अपेक्षाअनुरूप अनुदान नआएको हुनुपर्छ, नगद अनुदान दिने अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाले काम, मूल्यांकन र गुणस्तर हेरेका हुन्छन्, उनीहरूले चाहेको मापदण्ड र गुणस्तरअनुसारको काम नहुँदा पनि नगद अनुदान दिन चाहँदैनन् ।

महालेखा नियन्त्रक कार्यालयका अभिलेखअनुसार आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्यको ५४ प्रतिशत अनुदान आएको थियो । बजेटमा ७२ अर्ब १६ करोड रुपैयाँ अनुदान ल्याउने भनिएकामा ३९ अर्ब ३१ करोड आयो । त्यसअघि २०७२/०७३ मा ७३ अर्ब ३८ करोड ल्याउने लक्ष्य राखिएकामा ३८ अर्ब १७ करोड रुपैयाँ मात्रै आयो । बितेका दशकमा यी दुई वर्षबाहेक अनुदानको रकम २८ देखि ३८ प्रतिशतसम्म मात्रै पाइरहिएको छ । यसमा के भएको हो भन्ने गम्भीररूपमा अध्ययन गर्न आवश्यक देखिन्छ । नगद अनुदान दिने संस्थाले चाहेको मापदण्ड र गुणस्तरअनुसारको काम नभएर अनुदानको रकम घटेको हो भने यो धेरै गम्भीर विषय हो । अनुदानको रकम घट्नुको सही कारण खोजियोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x