Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयविस्तार हुँदै जोखिम

विस्तार हुँदै जोखिम


लामो समयसम्म राजधानीमा मात्र केन्द्र्रित रहेको संक्रमित भेटिने क्रम विस्तार हुँदै मोफसलका जिल्लामा पनि पुगेको छ । अहिलेसम्म पाँच जना संक्रमित भेटिए भने तीमध्ये दुईजना उपत्यका बाहिरका छन् । तीमध्ये पनि एक जना सुदूर र अर्का मध्यपश्चिमका हुन् । यसको अर्थ हो, पश्चिम क्षेत्र चोखो रहन सकेको नदेखिनु । पूर्वमा यतिबेलासम्म त्यस्तो भेटिएको छैन तर जोखिमका व्यक्तिहरू भने पश्चिममा जतिकै पूर्वमा पनि छन् । दोस्रो संक्रमितसँग एउटै विमानमा आएकाहरू जो एक सय ५२ जना थिए । तीमध्येको ठूलो संख्या पूर्वमा पनि पुगेका विवरणहरू आइरहेका छन् । तिनको क्वारेन्टाइन समय बाँकी रहेको हुँदा परिणाम कस्तो आउला भन्ने एउटा पक्ष छ भने ती सबै नै होशियारीमा वा भनौँ निगरानीमा छन् कि छैनन् भन्ने पनि यकिन छैन । यसअघि संक्रमित देखिएकाहरू त्यस्तो निगरानीमा थिएनन् । उनका आफ्ना कारणले नै परीक्षणमा जाँदा यस्तो रिपोर्ट आएको भन्नेबाट बुझाउने कुरा त्यही हो । कोरोना भाइरसको संक्रमण देखिएकी पाचौँ व्यक्ति हुन्, बागलुङकी युवती । उनी विदेशबाट आएपछि भोलिपल्ट आफ्ना घरतर्फ लागेकी थिइन माइक्रो बसबाट । उनी आफैँले बताएअनुसार उनी सोझै घर गइन् । उनी चैत्र पाँच गते घर पुगेकी थिइन् । त्यसको केही दिनपछि आफूमा रुघाखोकी लागेपछि आफ्नो पायकको धौलागिरी अस्पतालमा उपचारमा गइन् र सामान्य औषधि लिएर फेरि घरमा नै आइन् । दोस्रो पटक चेकजाँच गर्दा यस्तो देखिएको हो । सरकारले जनाएको विवरणअनुसार उनी बेल्जियमबाट कतार हुँदै ४ चैत्रमा नेपाल आएकी थिइन् । उनलाई कोरोना संक्रमण भएको भन्ने चैत्र १५ मा पुष्टि भएको थियो ।

यो विवरणबाट बुझिने कुरा हो दिनको हिसाबले यो एउटा केस अर्थात् यी युवतीमा संक्रमण रहेको पुष्टि हुँदाको क्षणसम्म १० दिनको अन्तर छ नेपाल प्रवेशपछिको समय । ठाउँको हिसाबले बेल्जियम–कतार हवाई मार्ग र काठमाडौँबाट बाग्लुङ स्थलमार्ग प्रयोग भएको छ । एक रात उनी राजधानीमा होल्ड गरेकी छन् । त्यो रात उनले होटल हो कि आफन्तकहाँ बिताएकी हुन् भन्ने खुलेको छैन । जहाँ भए पनि उनको त्यो रात निकटता अरुसँग पनि कायम भएको छ । यस्तो निकटताको संख्या कति होला भन्ने मात्र हो तर, यसबाट अरू पनि संसर्गमा आएका छन्, भन्ने त पुष्टि हुन्छ नै । जोखिमको विस्तार भनेको यी हो । मापदण्डले यस्तो संक्रमणको अवस्थालाई यसरी खुलारूपले विस्तार हुन दिँदैन । यो ठाउँमा सरकार चुकेको देखियो । पछिल्लो यही पाँचौ संक्रमण पुष्टि भएको घटनालाई नै आधार मान्ने हो भने पनि यी युवती कतै पनि सरकारको चेकजाँचमा परिनन्, उनी आफैँ अस्वस्थ्य भएर अस्पताल नगएसम्म । यतिबेला उनको पहिले गरेकै धौलागिरी अस्पतालमै उपचार भैरहेको छ । तर, त्यही अस्पतलमा उनी पहिले जाँदा आफू विदेशबाट आएको भनी कतै नभनेको भनी विवरणहरू आएका छन् । यसको अर्थ हो, अस्पतालमा पनि उनको अन्यसँग संसर्ग वा निकटता भएको अवस्था देखिन्छ । यतिखेर भनिएको छ, किशोरीको स्वास्थ्य अवस्था सामान्य छ । चिकित्सकहरू पनि पर्याप्त छन्, त्यसैले धौलागिरी अस्पतालमै उपचार हुन्छ । यो भनेको संंक्रमणपछिको कुन ठाउँमा उपचार गर्ने भन्ने हो । यस्तो सम्भावित जोखिमहरूको पूर्वआँकलन नगरिँदा जोखिम धेरै मात्रामा विस्तार भैसकेको छ, जसले कस्तो आकार लिने हो अनुमान गर्न सकिन्न । यो निकै दुःखद पक्ष हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x