Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमनपरीतन्त्रविरुद्ध जनविद्रोह

मनपरीतन्त्रविरुद्ध जनविद्रोह


काठमाडौं । सम्पन्न उपनिर्वाचनको परिणामले मनपरीतन्त्रबाट उकुसमुकुस भएका मतदाताले मतदानको प्रक्रियाबाट शान्तिपूर्ण जनविद्रोह सुरु गरेको संकेत गरेका छन् । उपनिर्वाचनमा सत्ता गठबन्धनले साझा उम्मेदवार उठाएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएको थियो । नेपाली कांग्रेसको नेतृत्वको सत्ता सठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा सहभागी थिए । निर्वाचनमा जनताले सत्ता गठबन्धन र प्रतिपक्षमा रहेका दलहरूले पालैपालो सत्ताको बागडोर सम्हाल्दै आएका छन् । जनताले उनीहरूका बोली र व्यवहारमा एकरूपता पाउन सकेका छैनन् र उनीहरूमा कुनै फरकपन पाउन पनि सकेका छैनन् । उनीहरू जे बोल्छन् त्यो गर्दैनन्, जे बोल्दैनन् त्यो गर्छन् । उनीहरूले आफ्नो स्वार्थलाई केन्द्रमा राखेर काम कारबाही गर्दै आएको प्रस्टै छ । २०४६ सालदेखि २०८० सालसम्म आइपुग्दा पनि उनीहरूले सामाजिक रूपान्तरणका लागि ठोस कार्यक्रम अघि सारेको पाइएको छैन तर जनता सामाजिक रूपान्तरण चाहन्छन् । यही कारण नागरिकले चुनावमार्फत विकल्प खोज्नु कुनै अस्वाभाविक कदम होइन ।

विकल्प रोज्दा जनताले मतदानमार्फत सांकेतिक जनविद्रोह गरेका छन् । जसलाई जिताएर मतदानमार्फत सांकेतिक जनविद्रोह गरे उनीहरूलाई गरिएको विश्वास कुन रूपमा देखिने हो भविष्यमा थाहा होला । अहिले नै एकिन गर्न सकिने अवस्था छैन । किनकि जनता यसअघि नै जुन जोगी आए पनि कानै चिरेको भन्ने अवस्थाबाट भुक्तभोगी बनिसकेका छन् । नानीमैया दाहालदेखि अहिलेसम्म जति पनि विकल्पको रूपमा आएका छन् कालान्तरमा उनीहरू पनि पुरानैसँग मिल्ने र हालिमुहाली चलाउने प्रवृत्ति देखाउने गरेका छन् । सबैतिरको विश्वास टुटेपछि अहिले रवि लामिछानेमाथि जनताको मन अड्किएको छ । त्यहाँ मन कहिलेसम्म टिक्छ भन्ने पनि निश्चित छैन ।

त्यहाँभित्र पनि उनको अर्को विकल्प थिएन । अब बिस्तारै स्वर्णिम वाग्लेले त्यो ठाउँ लिँदै जानेछन् । ठाउँ लिँदै जाँदा परिवर्तनका लागि कसरत हुन्छ कि शक्ति संघर्षमा बदलिन्छ, भविष्य त्यसैमा भर पर्नेछ । सामाजिक रूपान्तरण गर्न हतियार उठाएको माओवादीमा अध्यक्ष प्रचण्ड, बाबुराम र मोहन वैद्यबीचको गुटगत अभ्यास शक्ति संघर्षमा बदलिएर स्खलित भएको देखिएकै छ । पुराना राजनीतिक दलहरूप्रतिको वितृष्णाको फाइदा उठाउँदै खुला र डिजिटल दुुनियाँको उपयोग गरेर उदाएको स्वतन्त्र पार्टीले जनताको आशा जीवित राख्न सक्छ कि सक्दैन, त्यसमा शंका गर्ने ठाउँ प्रशस्तै छन् । तर अहिले नै यो भन्नु छिटो हुन्छ । त्यसैले उसले पाएको विजय मनपरीतन्त्रविरुद्धको जनविद्रोह नै मान्नुपर्दछ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया