काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य गरेको दाबी गरे पनि त्यो दाबी आंशिक मात्र हो । आम सर्वसाधारण उपभोक्ताले बिजुली बाल्न पाए पनि उत्पादन हुने क्षेत्र अर्थात् उद्योगीहरुले लोडसेडिङको पीडा अहिले पनि झेलिरहेका छन् । त्यो लोडसेडिङ पनि घोषित होइन, अघोषित । घोषित थियो भने उद्योगीहरुले योजना बनाएर कारखाना चलाउने मात्र होइन त्यहीअनुसार कामदारको व्यवस्थापन गर्ने थिए । तर, अघोषित लोडसेडिङको कारण उद्योग चल्न थालेपछि झ्याप्प लाइन जान्छ र त्यतिकै बस्नुपर्छ । लाइन गयो भनेर कामदारलाई घर पठाउँदा तुरुन्त लाइन आउने र लाइन आउँछ भनेर कामदार राख्दा छ÷सात घण्टासम्म पनि कुरेर बस्नुपर्ने बाध्यता छ । यसले उद्योगी र कामदार दुवैलाई पीडा दिएको छ ।
अघोषित लोडसेडिङको कारण उद्योगी र कामदारबीचको सम्बन्ध बिग्रिने मात्र होइन चलिरहेका मेसिन बिग्रिने, कच्चा पदार्थको नाश हुने, कतिपय वस्तु आधा मात्र उत्पादन हुँदा त्यसलाई हावालगायतका बाहिरी वातावरणका कारण नाश हुने, प्याकेजिङको काम रोकिँदा वस्तुहरु सड्ने, गल्नेलगायतका यावत् समस्या झेल्नुपरेको छ । यदि प्राधिकरणले घोषित रुपमा लोडसेडिङ गरिदिएको भए उद्योगीहरुले यति बजे लाइन जान्छ भनेर त्यहीअनुसार वस्तु उत्पादन तथा कारखाना बन्द गर्ने र कामदारको रुटिन मिलाउन पाउने थिए । तर, नेपाल विद्युत् प्राधिकरणका एमडी कुलमान घिसिङ आफ्नो इचजत जाने डरले लोडसेडिङको तालिका निकाल्न चाहँदैनन् । किनकि उनी लोडसेडिङ छैन भन्ने भ्रम जनतालाई पारिरहन चाहन्छन् । उनी यही भ्रम छरेर सर्वसाधारणको अगाडि वाहवाही खाएर बसिरहेका छन् ।
पूर्वका उद्योगीहरुले जुलुस समेत निकालेर लोडसेडिङको तालिका देऊ वा बत्ती देऊ भनेर प्राधिकरणको कार्यालय घेराउ गर्नुको साथै संघ र प्रदेश सरकारलाई समेत गुहारिसकेका छन् । तर, प्राधिकरणका एमडी घिसिङ न त उद्योगमा बिजुली दिन सकिरहेका छन् न लोडसेडिङको तालिका नै । उनी पानी परेपछि, हिउँ परेपछि, बर्खा लागेपछि बिजुली आउँछ भनेर गैरजिम्मेवार तर्क गरिरहेका छन् । यदि उद्योगीहरुले धेरै नै विरोध जनाउन थाले भने घिसिङ केही थान पत्रकार जम्मा पारेर उद्योगीले राजनीति गरे भनेर उनीहरुविरुद्ध मान्छे उचाल्ने प्रयास बेला–बेलामा गर्छन् । मोरङ–सुनसरीका उद्योगीहरुले बिजुलीको माग गरेर जुलुस निकालेपछि घिसिङले रत्नपार्कस्थित प्राधिकरणको मुख्यालयमा केही पत्रकार जम्मा पारेर १०÷१५ दिनमा बिजुली सहज हुने बताए । तर, त्यो भनेको एक महिना हुन लाग्दा पनि बिजुली सहज छैन ।
उद्योग भनेको रोजगारी र उत्पादनमा सहयोग गरेर राष्ट्रिय आयमा प्रत्यक्ष र तत्काल योगदान दिने क्षेत्र हो । यसलाई पीडा दिने काम प्राधिकरणबाट भएको छ । उद्योगीहरुले सकिन्छ बिजुली देऊ सकिँदैन कति समय दिन सक्तैनौ घोषणा गर भनेका हुन् । कुलमानलाई तिम्रो पकेटबाट बिजुली निकालेर देऊ भनेका होइनन् । दिन नसकिने हो भने यति समय सकिँदैन भन्न उनलाई केको लाज ? तर, लोडसेडिङ देशमा छैन भनेर जनतालाई भ्रम नदेऊ । प्राधिकरणको एमडीजस्तो पदमा बसेर झूट नबोल् । हिउँ परेपछि, पानी परेपछि, बर्खा लागेपछि बिजुली दिउँला भनेर गैरजिम्मेवार तर्क पनि नगर । सकिन्छ स्वदेशको उत्पादन देऊ, सकिँदैन भारतबाट खरिद गरेर ल्याएर देऊ । त्यो पनि सकिँदैन भने यति समय दिन सकिँदैन भनेर घोषणा गर तर झूट नबोल । उद्योगी र कामदारलाई पीडा नेदऊ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया