Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकामा घरेलु ऋण पुनर्संरचना गरिने

श्रीलंकामा घरेलु ऋण पुनर्संरचना गरिने


श्रीलंका । श्रीलंकाको मन्त्रिपरिषद्ले घरेलु ऋण पुनर्संरचनाको योजना स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयले प्रस्ताव स्वीकृत गरेको हो ।

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले ऋण पुनर्संरचना प्रक्रियाले बैंकिङ प्रणालीको स्थायित्वमा असर नगर्ने बताएका छन् । अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले यसअघि संसद्मा घरेलु ऋणको पुनर्संरचना गर्दा स्वदेशी ऋणीले लगानीमा पनि घाटा व्यहोर्न बाध्य नहुने बताएका थिए । सरकारी अधिकारीहरूका अनुसार ऋणमा अल्पकालीन रोक लगाउने, ब्याज घटाउने र भुक्तानीमा ढिलाइ गर्ने विधिबाट ऋणको पुनर्संरचना गर्ने उपाय अपनाउन सकिनेछ ।

सन् २०२२ मा खराब वित्तीय संकटको सामना गरेको श्रीलंकाले आर्थिक सुधारका लागि विभिन्न प्रयास गर्दै आएको छ । त्यतिबेला विदेशी ऋण तिर्न निलम्बनको घोषणा नै गरेको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको कार्यक्रमलाई ध्यानमा राखेर श्रीलंकाले बाह्य ऋणको पुनर्संरचना प्रक्रिया पनि सुरु गरिसकेको छ ।

श्रीलंकाले आन्तरिक ऋणको पुनर्संरचनाको तयारीका लागि बिहीबारदेखि बैंक तथा वित्तीय संस्थाको कारोबार पाँच दिनका लागि बन्द गर्ने घोषणा पनि गरेको थियो । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले एक स्थानीय टेलिभिजनसँगको कुराकानीमा ऋण पुनर्संरचनाको बारेमा संसद्मा छलफल भइरहेको बेला वित्तीय बजार खुला रहनु अस्वस्थ हुने बताएका थिए ।

श्रीलंकाले चार वर्षका लागि आईएमएफबाट उद्धार प्याकेजस्वरूप लिएको दुई दशमलव नौ अर्ब अमेरिकी डलरको निरन्तरता दिन पुनर्संरचनाका लागि ऋणदाताहरूसँग वार्ता गरिरहेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया