Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररुस–युक्रेन युद्धको पाँच सय दिन, युद्ध रोकिने कुनै सङ्केत छैन

रुस–युक्रेन युद्धको पाँच सय दिन, युद्ध रोकिने कुनै सङ्केत छैन


युक्रेन । युक्रेनमा रुसी आक्रमणको पाँच सयौँ दिनमा पनि युद्ध अन्त्य हुने कुनै सङ्केत महसुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन् । युद्ध सुस्ताउनुको सट्टा चर्किँदै जाँदा युक्रेनी सेना पर्याप्त हातहतियार र गोलाबारुदको अभावबीच यसका मुख्य सहरहरू निरन्तर खतरामा परे पनि आफ्नो पदीय दायित्व पूरा गर्न रुसी आक्रमणको प्रतिरोध गर्दै बिस्तारै अघि बढिरहेका छन् ।

जुन महिनाको सुरुदेखि नै युक्रेनको सेनाले पूर्व र दक्षिणमा रुसी सेनाले कब्जा गरेको क्षेत्र पुनः कब्जा गर्न आक्रमण गरिरहेको छ । आक्रमणबाट क्षति बेहोरेको रुसी सेनाले क्रूर प्रतिरोध गरिरहेको छ । दक्षिणी युक्रेनको निकोपोल सहरकी ७३ वर्षीया अवकाशप्राप्त शिक्षिका एन्टोनिना मोराखोवस्काले भनिन्, ‘रुसी सेनाले बलियो किल्ला निर्माण गरेका छन्, उनीहरूसँग धेरै उपकरणहरू छन् ।’

‘म देख्छु हाम्रो सेना कसरी अगाडि बढ्छ । यो वर्षामा उनीहरूका लागि सजिलो छैन । हाम्रा लागि लडिरहेका तिनीहरूको भविष्यबारेमा म सधैँ सोच्छु । तर, के गर्ने कमजोर परिस्थितिले युक्रेनलाई घाटामाथि घाटा भइरहेको देखाउँछ’, मोराखोवस्काले भनिन् ‘यो सत्यको लागि लडाइँ हो । जित कठिन छ तर हामी कुनै दिन अवश्य जित्नेछौँ ।’

पश्चिमी सैन्य सहायताको रूपमा अर्बौँ युरो प्राप्त गरे पनि युक्रेनी सेनाले आक्रमण सुरु भएदेखि लगभग एक दर्जन गाउँहरू र केही सय वर्ग किलोमिटर क्षेत्र मात्र फिर्ता लिन सफल भएको छ । गतवर्ष सेप्टेम्बरमा युक्रेनको सेनाले खार्किभ क्षेत्रको नौ हजार वर्ग किलोमिटर र नोभेम्बरमा खेरसन क्षेत्रको पाँच हजार वर्गकिलोमिटर क्षेत्र पुनः कब्जा गरेको थियो ।

युक्रेनका राष्ट्रपति भोलादिमिर जेलेन्स्कीले आगामी हप्ता हुने नेटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा पश्चिमा शक्तिलाई लामोदूरीका हतियार र एफ–१६ लडाकु विमानका लागि दबाब दिएका छन् । यसै साता प्रागको भ्रमणका क्रममा राष्ट्रपति जेलेन्स्कीले भने, ‘आक्रमण तीव्र गतिमा हुँदैन, यो सत्य हो । तर, हामी अगाडि बढिरहेका छौँ ।’ रासस


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया