Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीन र युरोपेली संघबीच व्यापार असहमति बढ्दै

चीन र युरोपेली संघबीच व्यापार असहमति बढ्दै


चीन । व्यापार असहमति, मानव अधिकार, युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलगायतका विषयलाई लिएर चीनले युरोपेली संघका विदेश मामिला र सुरक्षा नीतिका उच्च प्रतिनिधि जोसेप बोरेलको बेइजिङ भ्रमण रद्द गरिदिएको छ । बोरेल चिनियाँ विदेश मन्त्री छिन गङ र अन्य अधिकारीसँग वार्ता गर्न असार २५ गते बेइजिङ जाने कार्यक्रम थियो ।

चीनका लागि युरोपेली संघका राजदूत जर्ज टोलेडोले बोरेलको भ्रमण अहिलेलाई रद्द भएका बताएका छन् । युरोपेली संघले औपचारिकरूपमा नै चीनले बोरेलको भ्रमण रद्द गरेको जनाएको छ । यद्यपि संघले चिनियाँ पक्षले भ्रमण किन रद्द भयो भन्नेबारे नखुलाएको जनाएको छ ।

चिनियाँ र युरोपेली कूटनीतिज्ञबीच व्यापार, मानव अधिकार र रुस–युक्रेन जारी द्वन्द्वमा चीनको अडानलगायतका विषयमा मतभेद छ । यिनै विषयमा छलफल गर्न चीन जान लागेका बोरेलको भ्रमण छिट्टै नै नयाँ मितिमा हुने अपेक्षा गरिएको संघका प्रवक्ता नबिला मस्रालीले बताएकी छन् ।

चिनियाँ विदेशमन्त्रीका प्रवक्ता वाङ वेनबिनले दुवै पक्षलाई सहज हुनेगरी बोरेलको भ्रमणको नयाँ मिति छिट्टै तय हुने स्पष्ट पारेका छन् । उनले चीनले ईयूसँगको सम्बन्धलाई उच्च महत्व दिएको पनि बताएका छन् ।

युरोपेली संघका सदस्य राष्ट्रहरूको शिखर सम्मेलनले चीनबाहेक अन्य मुलुकबाट मात्रै महत्वपूर्ण सामग्री खरिद गर्ने रणनीतिमा समर्थन जनाएपछि बेइजिङ असन्तुष्ट बनेको छ । सम्मेलनले चिनियाँ व्यापार र आपूर्तिमा निर्भरता कम गर्ने निर्णय गरेको थियो ।

युरोपियन संघले चीनलाई युक्रेनबाट तत्काल विनासर्त सेना फिर्ता लैजान रुसलाई दबाब दिन आग्रह गर्दै आएको छ । रुस–युक्रेन युद्ध मामिलामा बोरेल चीनको अडानको कट्टर आलोचक हुन् । यस्तै, युरोपेली संघले ताइवानमाथि चीनले गर्दै आएको हस्तक्षेपको विषयलाई लिएर असहमति जनाउँदै आएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया