Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकाश्मिरका बालबालिकालाई रेडियोमार्फत शिक्षा

काश्मिरका बालबालिकालाई रेडियोमार्फत शिक्षा


श्रीनगर, वैशाख १५
भारतको काश्मिर क्षेत्रका बालबालिकालाई रेडियो मार्फत अध्यापन गराइने भएको छ । कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि सरकारले लकडाउन गरेकाले उनीहरुलाई रेडियो मार्फत अध्यापन गराउनुपरेको हो । भारतले देशव्यापी लकडाउनको घोषणा गरेदेखि नै भारतका सबैजसो विद्यालय बन्द रहेकाले बालबालिकाहरु अध्ययन कार्यबाट वञ्चित भएका छन् । अत्यधिक धेरै विद्यार्थीहरुमाझ एकैचोटि पुग्ने सजिलो र प्रभावकारी माध्यम नै रेडियो भएकाले रेडियोमार्फत अध्यापन गराउन लागिएको अधिकारीहरुले जनाएका छन् ।

भारतको विद्यालय शिक्षा विभागले अर्को हप्तादेखि रेडियो मार्फत् अध्यापन गराउने तयारी थालिएको जनाएको छ । अधिकारीहरुका अनुसार शिक्षकले अल इन्डीया रेडियो मार्फत् अध्यापन गराउने छन् भने तोकिएको समयका विद्यार्थीहरुले घरमै बसेर पढ्न सक्नेछन् । काश्मिरको विद्यालय शिक्षा निर्देशनालयले यसअघि गत मार्च २६ देखि नै दूरसञ्चार केन्द्रको काश्मिर च्यानल मार्फत् पनि अध्यापन गराउँदै आएको छ ।तर कतिपय विद्यार्थीहरु टेलिभिजनको पहुँचमा नभएकाले उनीहरुलाई समेत हुने गरी रेडियोमार्फत पनि अध्यापन गराउनुपरेको हो । निर्देशनालयले तयार पारेका शैक्षिक सामग्रीहरु रेडियो, टेलिभिजनसँगै युट्युव, निर्देशनालयको वेबसाइटलगायत विभिन्न विद्युतीय माध्यमहरुबाट पनि विद्यार्थीहरुसम्म पु-याउने प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।

काश्मिरका विद्यालय शिक्षा निर्देशक मोहम्मद युनिस मलिकले लकडाउन जति लम्बिँदै गए पनि विद्यार्थीहरु पठनपाठनबाट पूर्ण रुपमा बञ्चित हुन नपरोस् भनेर पर्याप्त शैक्षिक सामग्रीहरु तयार पारेर विद्यार्थीहरुको पहुँचमा पु-याउन अनेक उपायहरु गरिएको बताए । लकडाउनमा भएका बेला विद्यार्थीहरुले पढ्ने सामग्रीको अभाव नहोस भनेर नै यस्तो व्यवस्था गरिएको उनको भनाइ छ ।

भारतको जम्मु र कश्मिर राज्यमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या ४ सय ९४ पुगेको छ भने तीमध्ये छ जनाको मृत्यु भएको छ । त्यसैगरी अरु १ सय १२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार कोरोना भाइरसका कारण देशभर मृत्यु हुनेको संख्या ८ सय २५ पुगेको छ । त्यसैगरी कुल संक्रमितको संख्या २६ हजार ४ सय ९६ पुगेको छ । कुल संक्रमितमध्ये २ सय १३ जना पछिल्लो २४ घण्टामा संक्रणको पुष्टि भएका हुन् । (रासस/पीटीआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x