Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअफ्रिकी मुलुक नाइजरमा सेनाको ‘कु’, राष्ट्रपति नियन्त्रणमा

अफ्रिकी मुलुक नाइजरमा सेनाको ‘कु’, राष्ट्रपति नियन्त्रणमा


नाइजर । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सेनाले ‘कु’ गरेको छ । कर्णेल मेजर अमाडो अब्द्रामानेको टोलीले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको र देशको शासन सत्ता लिएको घोषणा गरेका हुन् ।

सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि नियन्त्रणमा लिएको छ भने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा गरेको छ । यस्तै देशको सिमाना पनि बन्द गरेको सेनाले बताएको छ ।

राजधानी नियामेस्थित राष्ट्रपतिको निवास र कार्यालयसम्म जाने बाटो बन्द गरिएको छ भने बन्दी बनाइएका राष्ट्रपतिलाई रिहा गर्न सेनाले अस्वीर गरेको छ । गए राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्मका लागि ‘कफ्र्यु’ आदेश जारी गरिएको छ ।

विश्व तथा क्षेत्रीय नेताहरूले बाजुमलाई रिहा गर्न आह्वान गरेका छन् । दुई वर्ष अघि उनले नाइजरको सत्ता सम्हालेका थिए । छिमेकी बेनिनका राष्ट्रपति प्याट्रिस टालोन मध्यस्थता प्रयासका लागि नियामेतर्फ प्रस्थान गर्ने तयारीमा रहेको पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदायले जनाएको छ । राष्ट्रपति र उनको परिवार सकुशल रहेको सेनाले बताएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले सैन्य विद्रोहको निन्दा गर्दै राष्ट्रपति बाजुमलाई निःशर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् । अफ्रिकी संघ र युरोपेली संघले पनि सैन्य विप्लवको विरोध गर्दै राष्ट्रपति बाजुमको रिहाइको माग गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया