Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारखाडी देशमा बढ्यो पाकिस्तानको निर्यात

खाडी देशमा बढ्यो पाकिस्तानको निर्यात


इस्लामाबाद, वैशाख १७
मध्यपूर्वी देशहरुमा पाकिस्तानको निर्यात वृद्धि भएको छ । एजेन्सीहरुका अनुसार चालू आर्थिक वर्षमा खाडी देशहरुतर्फ पाकिस्तानको निर्यात ३६ प्रतिशतले बढेको हो । पाकिस्तानी वाणिज्य मन्त्रालयले सोमबार प्रकाशन गरेको तथ्यांकअनुसार मुख्य निर्यातयोग्य वस्तुहरुको सन् २०१९ को जुलाईदेखि अप्रिलसम्मको निर्यात बढेको देखिएको हो ।

उक्त क्षेत्रमा चामल मात्रै ५९ प्रतिशतले बढेर २६ करोड ४० लाख डलरबाट ४२ करोड डलर पुगेको तथ्यांकमा उल्लेख छ । त्यस्तै मासु १२ करोड ७० लाख डलरबाट २० करोड डलर पुगेको छ । मासु निर्यातको यो तथ्यांक ५७ प्रतिशत बढी हो । त्यस्तै फलफूल तथा तरकारी पनि ७ करोडबाट बढेर १४ करोड डलर पुगेको छ । यो शतप्रतिशत बढी हो ।

पाकिस्तानको केन्द्रीय बैंकले तयार गरेको तथ्यांकअनुसार यूएईमा पाकिस्तानले जुलाई–मार्च अवधिमा २८ प्रतिशतले निर्यात बढाएको छ । यसको निर्यातमूल्य गत वर्षको ९७ करोड ११ लाखको तुलनामा १ अर्ब २४ करोड अमेरिकी डलर पुगेको छ । त्यस्तै साउदी अरेबियातर्फको निर्यात ४२.९ प्रतिशतले बढेर ३५ करोड २१ लाख अमेरिकी डलर पुगेको छ । गत वर्षको उही महिनामा पाकिस्तानले २४ करोड ६४ लाख डलरको निर्यात गरेको थियो । साउदीमा पाकिस्तानले चामल, फलफूल, तरकारी र तयारी पोशाक निर्यात गर्दै आएको छ ।

त्यस्तै कतारतर्फको निर्यात पनि ५० प्रतिशतले बढेको छ । जुलाई–मार्च अवधिमा पाकिस्तानले १० करोड ८८ लाख अमेरिकी डलरको वस्तु निर्यात गरेको छ । अघिल्लो वर्षको उही अवधिमा पाकिस्तानले ७ करोड २४ लाख डलरको निर्यात गरेको थियो । यस्तै, बहराइनतर्फको निर्यात पनि ८.३३ प्रतिशतले बढेर ५ करोड २८ लाख अमेरिकी डलर पुगेको छ ।

तुलनात्मक अवधिमा गत वर्ष ४ करोड ८७ लाख डलरको निर्यात भएको थियो । सोही अवधिमा इरानतर्फको निर्यात भने ५५ हजार डलर मात्रै रहेको छ । उही अवधिमा गत वर्ष २८ लाख डलरको निर्यात भएको थियो । इरानसँग पाकिस्तानले वस्तु आदानप्रदानमा आधारित (बार्टर बेसिस) छ जुन आधिकारिक तथ्यांकमा समावेश हुँदैन ।

तर अमेरिकापछिको ठूलो निर्यात बजार अफगानिस्तानमा पाकिस्तानको निर्यात १०.८ प्रतिशतले घटेर ७८ करोड ९४ लाख डलरमा झरेको छ । उही अवधिमा गत वर्ष ८८ करोड ५७ लाख डलरको निर्यात भएको थियो । पाकिस्तानले अफगानिस्तानसँगको सीमा मार्च १५ देखि बन्द गरेको छ । मार्चमा ६ करोड १० लाख डलरको मात्रै अफगानिस्तानमा वस्तु निर्यात भएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x