Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारऔद्योगिक उत्पादनमा चीनको नयाँ लक्ष्य

औद्योगिक उत्पादनमा चीनको नयाँ लक्ष्य


चीन । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय र अन्य विभागहरूले प्रमुख उद्योगहरूमा स्थिर वृद्धि र उच्च गुणस्तरीय विकासलाई गति दिन विभिन्न योजनाहरू जारी गरेका छन् ।

जनजीवनको अवस्था सुधार गर्न निर्माण सामग्री उद्योगको महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्रालय र विभागहरूले उत्पादन वृद्धिको नयाँ लक्ष्य सार्वजनिक गरेका हुन् । औद्योगिक उत्पादनको मूल्य अभिवृद्धिको वृद्धि सन् २०२३ मा करिब तीन दशमलव ५० प्रतिशत र २०२४ मा चार प्रतिशत हुने लक्ष्य तय गरेको छ । उद्योगमा उच्चस्तरको बौद्धिक र हरित विकासको स्तर बढाउने प्रयासअनुरूपका नीतिहरू आउने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, धेरै क्षेत्रको आधार रहेको स्टिल उद्योगले सन् २०२३ मा करिब साढे तीन प्रतिशतको स्थिर मूल्य अभिवृद्धि हासिल गर्ने र २०२४ मा चार प्रतिशतभन्दा माथि पुग्ने लक्ष्य राखेको छ ।

अर्काेतर्फ, पेट्रोकेमिकल उद्योग धेरै औद्योगिक चेनहरूमा एकीकृत भएकाले यसको औसत वार्षिक वृद्धिदर लगभग छ प्रतिशत रहने लक्ष्य राखिएको छ । रणनीतिक उदीयमान क्षेत्रहरू र राष्ट्रिय रक्षा प्रविधिको विकासका लागि आवश्यक धातु उद्योगतर्फ सबैभन्दा महत्वाकांक्षी वृद्धिदरको अपेक्षा गरिएको छ । यस्ता उद्योगको मूल्य अभिवृद्धि सन् २०२३मा पाँच दशमलव ५० प्रतिशत र २०२४मा त्योभन्दा पनि बढी वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

चीनले यी उद्योगहरूलाई राष्ट्रिय अर्थतन्त्रको स्तम्भ भनेको छ । समग्र आर्थिक विकासको लागि यी उद्योगहरुको उत्पादनमा स्थिर वृद्धि महत्वपूर्ण भएको र प्रत्येक उद्योगका लागि स्पष्टरूपमा परिभाषित लक्ष्यहरू तय गर्दा राष्ट्रिय अर्थतन्त्रलाई स्थिर गर्न सहयोग पुग्ने विश्वास मन्त्रालयको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया