युक्रेनका लागि एफ-१६ लडाकु विमान किन महत्त्वपूर्ण ?
काठमाडौं,युक्रेनलाई केही एफ-१६ युद्धक विमान उपलब्ध गराउने डेन्मार्क र द नेदरल्यान्ड्सको तयारीलाई अमेरिकाले अनुमोदन गरिदिएपछि त्यसले लडाइँको प्रवृत्तिमा केही महत्त्वपूर्ण परिवर्तन ल्याउने ठानिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जिलेन्स्कीले गत साता ती दुई युरोपेली देशको भ्रमण गर्दा एउटा सहमति भएको थियो। त्यसअन्तर्गत युक्रेनले द नेदरल्यान्ड्सबाट ४२ र डेन्मार्कबाट १९ वटा जेट प्राप्त गर्दै छ।
त्यसलाई “शक्तिशाली र उपयोगी दिन” को सङ्ज्ञा दिएका युक्रेनी राष्ट्रपतिले दुवै देशलाई विशेष धन्यवाद दिएका थिए। उनले युक्रेनलाई निरन्तर सहयोग गरेकोमा अमेरिकालाई पनि धन्यवाद दिए।
रुसी हवाई आक्रमणसँग जुझ्न र प्रत्याक्रमणका निम्ति आधुनिक युद्धक विमानहरूको खोजी गरिरहेको किएभका लागि यो महत्त्वपूर्ण जित हो।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनले आफ्ना विदेशी साझेदारहरूसँग आफूलाई लडाकु विमान उपलब्ध गराउन अनुरोध गर्दै आएको थियो।
यसअघिको लेपर्ड ट्याङ्क र त्यसअघिको पेट्रिअट हवाई प्रतिरक्षा प्रणालीजस्तै अमेरिकामा निर्मित एफ-१६ जेटहरूको हस्तान्तरण लामो वार्ताको परिणाम हो।
रुसी प्रतिक्रिया
पश्चिमा शक्तिहरू त्यसमा पनि विशेष गरी संयुक्त राज्य अमेरिकाले उक्त फाइटर जेट उपलब्ध गराउँदा त्यसले रुससँग प्रत्यक्ष मुठभेड निम्त्याउने भन्दै सङ्कोच व्यक्त गरेको थियो।
यसअघि रुसी उपविदेशमन्त्री एलेक्सेन्डर गुरुसकोले युक्रेनलाई जेट आपूर्ति गरेर पश्चिमा देशहरूले ‘ठूलो जोखिम’ बेहोर्नुपर्ने बताएका थिए।
डेन्मार्कका लागि रुसी राजदूत भ्लादिमिर बार्बिनले सोमवार समान धारणा राखेका थिए।
“डेन्मार्कले १९ वटा एफ-१६ विमान युक्रेनलाई दिने कुराले द्वन्द्व चर्काउने छ।”
एफ-१६ हस्तान्तरणको समयसीमा
युक्रेन र उसका देशबाहिरका समर्थकहरूले महिनौँदेखि यी जेटहरूको हस्तान्तरणको माग गर्दै आएका थिए। उनीहरूले रुसभन्दा बढी हवाई सामर्थ्य हुँदा मात्रै पुन: युक्रेनी भूभागलाई फिर्ता लिन सकिने तर्क गरेका थिए।
युक्रेनको वायुसेनाका प्रवक्ता युरी आइनाटले मे महिनामा भनेका थिए, “हामीसँग एफ-१६ हुँदा हामी यो युद्ध जित्ने छौँ।”
पश्चिमा विश्वमा कैयौँले त्यससँग मिल्दोजुल्दो धारणा राखेका थिए र सैन्य विज्ञहरूले उल्लेख्य हवाई सामर्थ्यबिना लडाइँ गर्दा टार्न सकिने ठूलो मानवीय क्षति रोक्न नसकिने औँल्याएका थिए।
डेन्मार्ककी प्रधानमन्त्री मेड्डी फ्रेडरिक्सनले हस्तान्तरणको योजनाबारे बताउँदै भनिन्, “यो उपलब्ध गराउनुको उद्देश्य युक्रेनको सुरक्षा गर्नु हो। हामी नयाँ वर्षको नजिक छवटै जेट दिने योजनामा छौँ। त्यसपछि अर्को वर्ष आठ र अर्को साल पाँचवटा दिइने छ।”
पछिल्लो घोषणाले मनोबल उच्च बनाउने भएपनि यी जेटहरूको हस्तान्तरणले केही महिना लिने छ। यसको अर्थ युक्रेनले तत्कालै तिनलाई प्रयोग गर्ने छैन।
अन्तिम किस्ताका विमानहरू सन् २०२५ मा उपलब्ध गराउने डेन्मार्कको योजनाले युक्रेनका युरोपेली साझेदारहरूका दीर्घकालीन, रणनीतिक उद्देश्यहरूतर्फ सङ्केत गर्छ।
आगामी अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम आकलन गर्न कठिन भइरहेको सन्दर्भमा यस्तो प्रतिबद्धताको आफ्नै महत्त्व छ।
एफ-१६ कस्तो विमान हो?
एफ-१६ विश्वमै सबैभन्दा भरपर्दो ठानिएको लडाकु विमान हो। विमानको विभिन्न भूमिकाका कारण त्यसलाई ठ्याक्कै निसानामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र र बमहरूबाट सुसज्जित गर्न सकिन्छ।
अमेरिकी एअर फोर्सका अनुसार उक्त विमान २,४०० किलोमिटर प्रतिघण्टाको वेगमा उड्न सक्छ।
एफ-१६ को निसाना लगाउने क्षमताका कारण उसले जुनसुकै मौसम र रातको समयमा पनि रुसी फौजहरूलाई आक्रमण गर्न सक्छ। उक्त जेटबाट आफ्नो निर्धारित लक्ष्यमा सटिक ढङ्गले हमला गर्न सक्ने ठानिन्छ।
युक्रेनसँग दर्जनौँ सैन्य विमान रहेको ठानिन्छ। त्यसमध्ये अधिकांश मिगहरू सोभियतकालीन हुन्। अर्कोतर्फ रुसले अझ माथिल्लो उचाइबाट उडान गर्न सक्ने र टाढैबाट अरू विमानहरू पनि पहिचान गर्न सक्ने आधुनिक विमानहरूको प्रयोग गर्छ।
“हाम्रो लडाकु विमानको तुलनामा रुसी जेटले उसको रडारमार्फत दुईदेखि तीन गुना परसम्म देख्छ,” युक्रेनी एअर फोर्स कमान्डका प्रवक्ता युरी आइनाटले वालस्ट्री जर्नलसँग भनेका छन्, “हाम्रो फाइटर अन्धो छ, यसले देख्दैन।”
नियमित र घातक रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट आफ्नो आकाशको सुरक्षा गर्न र आफूले सीमित सफलता पाएको दक्षिण र पूर्वी युक्रेनमा जारी प्रत्याक्रमणलाई समर्थन गर्न किएभलाई आधुनिक युद्ध विमानको आवश्यकता छ।
विमानहरू निर्माण गर्ने अमेरिकी सैन्य सामग्री उत्पादक लकहिड मार्टिनका अनुसार विश्वका २५ देशमा गरेर हाल ३,००० एफ-१६ छन्।
वाशिङ्टनको अनुमोदन किन आवश्यक भयो?
आफ्नो देशमा निर्माण भएकाले एफ-१६ जेटहरूको आपूर्ति र उनीहरूको थप आवतजावतलाई अमेरिकी निकायहरूले अनुमोदन गर्नुपर्ने हुन्छ।
अमेरिका नेटोको सबैभन्दा शक्तिशाली सदस्य भएकाले त्यहाँ राजनीतिक अंश पनि छ। त्यही भएर युक्रेनबारे त्यति महत्त्वपूर्ण नीतिगत परिवर्तन अमेरिकाको अनुमोदनबिना सम्भव छैन।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले डेन्मार्क र द नेदरल्यान्ड्सका आफ्ना समकक्षीहरूलाई पत्र लेखेर उक्त हस्तान्तरणप्रति समर्थन जनाउन भनेका थिए। “रुसबाट भइरहेको अतिक्रमण र सार्वभौमसत्ताको उल्लङ्घनमा आफ्नो प्रतिरक्षाका लागि हामीले युक्रेनलाई सघाउनु अपरिहार्य छ,” उनले लेखेका थिए।
अझ महत्त्वपूर्ण कुरा के यो भने यो अनुमोदनले अमेरिका बाहेकमा बनेका अरू लडाकु विमान पनि किएभलाई दान दिन बाटो खोल्ने ठानिएको छ।
डेन्मार्क र द नेदरल्यान्ड्ससँग एफ-१६ सम्झौताअघि राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले स्वीडनको भ्रमण गरेका थिए। त्यहाँ उनले स्वीडिश जास ३९ ग्रिपेन जेटहरू चलाउन युक्रेनी पाइलटका लागि तालिम सुरु भएको जनाएका थिए। त्यसले भविष्यमा थप जेटहरू प्राप्त हुनसक्ने सङ्केत दिन्छ।
पहिला तालिम
तर एफ-१६ जेटहरूको उडान, सञ्चालन र व्यवस्थापनमा तालिम अपरिहार्य हुने छ। पश्चिमा देशहरूको गठबन्धनले युक्रेनी सेनाको निश्चित समूहलाई सञ्चालन गरेको एउटा बृहत् तालिम कार्यक्रम डेन्मार्कमा सुरु भएको छ।
डेन्मार्कका कार्यवाहक रक्षामन्त्री ट्रोल्स पाउलोसन उक्त तालिमको परिणाम सन् २०२४ को सुरुमा देखिने बताए।
सहयोगी कर्मचारीलाई पनि तालिम दिनुपर्ने हुन्छ र जेटहरूको बृहत् मर्मत प्रणालीको खाका पनि कोर्नुपर्ने हुन्छ।
युक्रेनको एअर फोर्सका कमान्डरका लेफ्टिनन्ट जेनरल मिकोला ओलेस्चुकले विमानहरूलाई सुरक्षा गर्न सक्ने पर्याप्त सामर्थ्य आफ्नो मुलुकसँग रहेको राष्ट्रिय टेलिभिजनमार्फत् बताए। त्यही भएर ‘रुसले तीनलाई खसाल्न जटिल रहेको’ उनको भनाइ छ।
‘मुनफिश’ उपनाम दिइएका युक्रेनी वायुसैनिकका एक पाइलटले एफ-१६ उडानको प्रशिक्षण गरिरहेका छन्। उनले सैन्य अनुभव र उच्च तहको अङ्ग्रेजी भाषाको दक्षता छनोट प्रक्रियामा महत्त्वपूर्ण रहेको बताए।
पाइलट र प्राविधिक स्टाफहरूको अङ्ग्रेजी राम्रो रहेको उनले बताए। विमानचालकहरूले नयाँ विमानहरू निकै अत्याधुनिक रहेको बताए।
उनले भने, “अहिले हामीले उडाइरहेका विमान र एफ-१६ को तुलना गर्नु भनेको स्मार्टफोन र पुरानो शैलीको बटन भएको मोबाइल फोन तुलना गर्नु जस्तै हो।”
आधुनिकीरणको योजना
युक्रेनी पाइलटहरूका लागि दीर्घकालीन तालिम कार्यक्रम डेन्मार्कबाट रुमेनिआ सारिने अपेक्षा गरिएको छ। हालै रुमेनिआले ३२ वटा प्रयोग भइसकेका एफ-१६ नर्वेबाट किनेको थियो। रुमेनिआले थप १७ वटा विमान पोर्चुगलबाट खरिद गरेको थियो।
बुखारेस्टले आफ्नो वायुसेवालाई अत्याधुनिक करण गर्ने प्रक्रिया अघि बढाएको छ जसअनुसार पुराना सोभियत मिग-२१ लडाकु विमानलाई विस्थापित गरिने छ।
डच र डेनिश वायुसेवाले पनि आफूलाई अद्यावधिक गर्दै छन्। उनीहरूले पुराना विमान युक्रेनलाई सहयोगस्वरूप दिएर नयाँ अत्याधुनिक वायुयान खरिद गर्न खोजिरहेका छन्।(बीबीसी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया