Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहुवावेलाई सेमिकन्डक्टर प्रविधिमा पहुँच नदिन नयाँ नियम

हुवावेलाई सेमिकन्डक्टर प्रविधिमा पहुँच नदिन नयाँ नियम


वासिड.टन, जेठ ५
अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई सेमिकन्डक्टर प्रविधिमा पहुँच रोक्न नयाँ निर्यात नियम ल्याएको छ । नयाँ नियमले अमेरिकी प्रविधि र सफ्टवेयर प्रयोग गर्ने चिपजन्य सेमिकन्डक्टर निर्मातालाई उत्पादित सामग्री अमेरिकी अनुमतिविना हुवावेलाई शिपिङ गर्न रोक्ने बीबीसीले जनाएको छ ।

हुवावेविरुद्ध अमेरिकाले चालेको यो पछिल्लो र ताजा कदम हो । हुवावेको प्रविधिलाई अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा खतरामा पार्ने आरोप लगाउँदै आएको छ । तर हुवावेले भने अमेरिकी आरोप अस्वीकार गर्दै आइरहेको छ । अमेरिकाले फेरि एकपटक आफ्नो देशको कम्पनीलक्षित नियम ल्याएपछि चीनले अमेरिकी प्रविधि कम्पनीविरुद्ध पनि सोही प्रकृतिको कदम चाल्ने चेतावनी दिएको छ ।

अमेरिकी वाणिज्य विभागले यसअघि नै हुवावेलाई कालोसूचीमा राखिसकेको छ। संसारका फोन प्रणाली र धेरैजसो कम्प्युटरमा अमेरिकी सेमिकन्डक्टर चिपहरु प्रयोग हुन्छन् । यो निर्णयले हुवावेलाई अप्ठ्यारोमा पार्नेछ । चिनियाँ कम्पनीहरुले भने चीनमै यस्ता चिपहरु निर्माण गर्ने लक्ष्यले काम गरिरहेका छन् ।

नयाँ नियम आउँदो शुक्रबार प्रकाशित हुँदै छ । यसले अमेरिकी प्रविधिमा विदेशमै बनेका वस्तुहरु समेत हुवावेलाई दिन प्रतिबन्धित गर्ने बताइएको छ । तर अर्को १ सय २० दिनसम्म हुने चिप, सफ्टवेयरको शिपिङलाई यसले असर गर्नेछैन । अमेरिकाले हुवावेसँग कारोबार गर्ने कम्पनीहरुलाई लाइसेन्स दिने तयारी समेत गरेको छ ।

नोभेम्बरको अमेरिकी राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा डोनाल्ड ट्रम्पले चीनविरुद्ध चर्का वक्तव्यबाजी गरिरहेका छन् । उनले विश्व महामारी कोरोना चीनले फैलाएको आरोप समेत लगाउँदै आएका छन् । गत बुधबार त उनले द्विदेशीय सम्बन्ध नै मेटाउने चेतावनी समेत दिएका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x