Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीहरुको छलाङ, ठूलो लगानी गर्नेमा नेपाल सातौं स्थानमा

अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीहरुको छलाङ, ठूलो लगानी गर्नेमा नेपाल सातौं स्थानमा


काठमाडौं । अहिले नेपालीहरुले अष्ट्रेलियाको घरजग्गा व्यवसायको लागनीमा छलाङ मारेका छन् । पछिल्लो समय नेपालमा घरजग्गा कारोबार सुस्ताई रहेको बेला उता अष्ट्रेलियामा भने नेपाल घरजग्गा व्यवसाय गर्नेमा सातौं स्थानमा पुगेको हो ।

अष्ट्रेलियाको ट्रेजरी डिपार्टमेन्टले केहि दिन अगाडि सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदनका अनुसार अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीले ठूलो लगानी गरेको पाइएको छ । ट्रेजरी डिपार्टमेन्ट अष्ट्रेलियाको विदेश लगानी नियामक निकाय हो । प्रतिवदेन अनुसार २०२२ जुलाई १ देखि २०२३ जुन ३० सम्मको अवधिमा अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीहरुले २० करोड डलर लगानी गरेका हुन् । यो एक वर्षको अवधिमा अष्ट्रेलियाको घरजग्गा व्यवसायमा सातौँ ठूलो लगानी नेपालीहरुको रहेको प्रतिवेदनमा उल्लेख छ । चीन, हङकङ, भियतनाम, ताइवान, भारत र सिंगापुरपछि नेपालको ठूलो लगानी रहेको छ ।

अष्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्ने प्रमुख १० राष्ट्रमा नेपाल पछाडी इण्डोनेसिया, बेलायत र मलेसिया रहेका छन् । पछिल्लो एक वर्षमा अष्ट्रेलियामा घरजग्गा कारोवारको लागि नेपालीले गरेको दुई सय ८१ वटा प्रस्ताव पास भएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो तीन महिना (अप्रिल, मे, जुन)मा मात्रै अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीले १० करोड डलर लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त अवधिमा मात्र नेपालीहरुको घरजग्गा किन्ने ८८ वटा प्रस्ताव स्वीकृत भएको थियो ।

जुलाई १, २०२२ देखि जुन ३०, २०२३ सम्मको अवधिमा अष्ट्रेलियाको घरजग्गा व्यवसायमा सबैभन्दा बढी चीनले ३.४ अर्ब डलर लगानी गरेको छ । सोही अवधिमा हङकङले ६० करोड डलर, भियतनामले ४० करोड डलर, ताइवान र सिंगापुरले ३०/३० करोड डलर, इण्डोनेसिया, भारत, बेलायत, मलेसियाले २०/२० करोड डलर लगानी गरेका छन् ।

गत आर्थिक वर्ष सन् २०२१/०२२ मा अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीहरुले १० करोड डलर लगानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीको लगानी दुई गुणाले बढेको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया