Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमानव तस्करीको आशङ्कामा फ्रान्समा रोकिएको विमान मुम्बईमा अवतरण

मानव तस्करीको आशङ्कामा फ्रान्समा रोकिएको विमान मुम्बईमा अवतरण


काठमाडौं । मानव तस्करी हुन लागेको आशङ्कामा फ्रान्सको एउटा विमानस्थलमा केही दिन रोकिएको एउटा विमानले भारतमा अवतरण गरेको छ । उक्त विमानमा सवार ३०३ यात्रु भारतीय नागरिक भएको बताइएको छ ।

यूएईबाट निकारागुआका लागि उडेको चार्टर्ड एअरबस ए३४० इन्धन भर्न फ्रान्समा रोकिएको थियो । उक्त विमान कुल २७६ यात्रु लिएर भारतका लागि उडेको थियो । दुई नाबालिगसहित २५ जना शरणका लागि आवेदन दिएर फ्रान्समै बसेका छन् । मानव तस्करीमा संलग्न भएको ठानिएका दुई व्यक्तिलाई अनुसन्धानका लागि फ्रान्समै राखिएको थियो । उनीहरूलाई अवैध रूपमा विदेशी नागरिकहरूलाई फ्रान्स ल्याउने षड्यन्त्र गरेको अभियोग लाग्न सक्ने ठानिएको थियो । तर अदालतको आदेशपछि उनीहरू रिहा भएका छन् ।

अज्ञात सुराकी

लेजन्ड एअरलाइन्सको उक्त विमान स्थानीय समयानुसार मङ्गलवार बिहान सबेरै मुम्बईमा ओर्लिएको छ । यसअघि उक्त विमानलाई श्यालोङ–भ्याट्री विमानस्थल छोड्न रोक लगाइएको थियो । उक्त सानो विमानस्थल फ्रान्सको राजधानी प्यारिसबाट १३० किमि टाढा छ ।

बिहीवार उक्त विमानमा तस्करीमा पर्न लागेका मानिसहरू भएको हुनसक्ने सुराक अधिकारीहरूले अज्ञात व्यक्तिबाट पाएको सरकारी अभियोजनकर्ताहरूले बताएका छन् । उक्त विमानमा भएका अधिकांश मानिसहरू यूएईमा कार्यरत भारतीय नागरिक भएको ठानिएको छ । तीमध्ये एकतिहाइ भारतको गुजरात राज्यका बासिन्दा हुन् ।

रान्समा मानव बेचबिखनमा संलग्न भएको प्रमाणित भए २० वर्ष जेल सजाय हुने व्यवस्था छ । फ्रान्समा सुरुमा यात्रुहरूलाई विमानमा नै बसिरहन भनिएको थियो । पछि शुक्रवार राति विमानस्थलको आगमन कक्षलाई सुत्ने स्थानका रूपमा परिणत गरियो । स्थानीय सञ्चारमाध्यमका अनुसार सङ्गठित अपराधविरोधी फ्रान्सको राष्ट्रिय निकायले अनुसन्धान थालेको थियो । अधिकारीहरूले यात्रुहरूसँग दुई दिन सोधपुछ गरेका थिए ।

लक्ष्य अमेरिका वा क्यानडा भएको आशङ्का

फ्रान्सेली अधिकारीहरूले विमानमा सवार मानिसहरू संयुक्त राज्य अमेरिका वा क्यानडा छिर्ने प्रयास गर्न निकारागुआ जान लागेको आशङ्का गरेको बताइएको छ । उक्त विमानलाई फ्रान्स छोड्ने अनुमति दिनुअघि अधिकारीहरूले अपराध नभएको निक्र्योल गरे नगरेको स्पष्ट भइसकेको छैन । उक्त विमान निकारागुआ नगई किन मुम्बई गयो भन्ने स्पष्ट हुन बाँकी छ । लेजन्ड एअरलाइन्स रोमेनिआको चार्टर विमानसेवा हो । उक्त कम्पनीसँग चारवटा विमान भएको जानकारी विमान र उडानहरूको अभिलेख राख्ने एप फ्लाइटरेडारले दिएको छ । उक्त कमपनीले मानव तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

भारतको प्रतिक्रिया

प्यारिसस्थित भारतीय दूतावासले फ्रान्सेली अधिकारीहरूबाट भारतीय नागरिकहरू सवार विमान नियन्त्रणमा लिइएको जानकारी पाएपछि दूतावासको एउटा टोलीले उक्त परिस्थितिबारे अनुसन्धान गरेको र यात्रुहरूको कल्याणका लागि काम गरिरहेको जनाएको थियो ।

सोमबार राति दूतावासले भारतीय यात्रुहरूलाई घर फर्किन मिल्ने गरी समाधान खोजिदिएकोमा फ्रान्स सरकार र भ्याट्री विमानस्थललाई धन्यवाद दिएको छ । भारतको विदेश मामिला मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दूतावासको पोस्टलाई सामाजिक सञ्जाल एक्समा रिपोस्ट गरेका छन् ।

अनुत्तरित प्रश्न

बीबीसी मराठीले फ्रान्समा रोकिएका र भारत फर्काइएका मानिसहरूसँग सम्बन्धित केही प्रश्न अझै अनुत्तरित रहेको जनाएको छ ।
ती हुन् :
ती भारतीय नागरिकहरूसँग आवश्यक भिसा कागतजपत्र र यात्रा गर्ने अनुमति थिएन ? फ्रान्स सरकारले सोधपुछ गरी उनीहरूलाई छोडिदिएको छ । के मानव तस्करीको आरोप गलत थियो ?, ती भारतीय नागरिक अमेरिका जाने प्रलोभनमा परेका थिए ?, कुन भारतीय निकायले यो घटनाबारे अनुसन्धान गरिरहेको छ ? यसबारे भारत सरकारको तर्फबाट आधिकारिक धारणा अझै आइसकेको छैन । बीबीसी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया