कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख बढी, लकडाउन खोल्न सबैतिर हतारो
ब्रासिलिया, जेठ १९
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट आइतबारसम्म ६० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो पटक ब्राजिलमा दैनिक संक्रमितको संख्या निकै बढी देखिएको छ । दक्षिण अमेरिकी मुलुकहरुमा आउँदो सप्ताह पनि निकै सकसपूर्ण हुने अनुमान गरिएको छ । कोरोनाभाइरस संक्रमितको संख्या वा मृत्यु हुने व्यक्तिको संख्यामा कमी आउने कुनै लक्षण देखिएका छैनन् । खासगरी ब्राजिलमा राष्ट्रपति जेयर बोल्सोनारो र अरु प्रमुख नेताहरुबीच नै भाइरसलाई लिएर मतभिन्नता कायमै छ ।
ब्राजिलमा संयुक्तराज्य अमेरिकापछि सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित छन् । यहाँ संक्रमितको संख्या पाँच लाख नाघिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या ३० हजार पुग्न लागेको छ । कोरोना प्रसार रोक्न जारी लकडाउन यथावत राख्ने वा हटाउने भन्नेमा नेताहरुबीच मतैक्य हुन सकेको छैन । राष्ट्रपति जेयर बोल्सोनारोको विचारमा लकडाउनबाट अर्थतन्त्रमा पुग्ने असर भाइरस भन्दा खतरनाक हुनेछ । उनले मुलुकका गभर्नर र मेयरहरुलाई लकडाउनको विकल्प खोज्न निरन्तर आग्रह गरिरहेका छन् ।
विश्वभर कोरोनाका कारण तीन लाख ६८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएसँगै संयुक्तराज्य अमेरिका, युरोप र एसियाका धेरै मुलुकले लकडाउन हटाउने वा जनजीवनलाई खुकुलो बनाउनेतिर ध्यान दिन थालेका छन् । युरोपेली युनियनले एक विज्ञप्ति प्रकाशन गरी देशहरुबीच थप सहयोग बढाई सामूहिक समाधान खोज्न आग्रह गरेको छ ।
जर्मनीका स्वास्थ्य मन्त्री हेन्स स्पाहनले विश्व स्वास्थ्य संगठनको सहयोग कटौती गर्ने अमेरिकी प्रशासनको निर्णय निकै निराशाजनक रहेको प्रतिक्रिया दिनु भएको छ । यसैबीच राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा अर्को महिनाका लागि डाक्नु भएको जी७ को बैठकमा जर्मन चान्सलर एन्जेला मर्केल सहभागी नहुने घोषणाले पनि विश्व जनमत अझै विभाजित रहेको देखाउँछ ।
कोरोनाभाइरसको प्रसार रोक्ने प्रयासस्वरुप जारी लकडाउनले जनजीवन र अर्थव्यवस्था तहसनहस हुन लागेको भन्दै धेरै मुलुकले लकडाउनलाई खुकुलो बनाउन थालेका छन् । केही विज्ञहरुले लकडाउन खोल्नासाथ दोस्रो चरणको भाइरस प्रसार हुने खतरा औंल्याएका छन् । सोमबार लकडाउन हटाउने तयारी गरेको बेलायतमा सरकारका वरिष्ठ सल्लाहकारहरुले लकडाउन खोल्न हतारिनु नहुने प्रतिक्रिया दिएका छन् ।
कोरोनाभाइरसका संक्रमितको संख्या डरलाग्दो गरी बढेको देखिए पनि भारतले शनिबार आगामी जुनको पहिलो सातासम्ममा लकडाउन खोल्नेगरी तयारी गरेको घोषणा गरेको छ । इरानमा पनि मस्जिदहरुमा सामूहिक प्रार्थनाका लागि खुला गर्न सकिने घोषणा गरेको छ । जेरुसेलमको अल–अक्सा मस्जिदको परिसर पनि प्रार्थनाका लागि आइतबार पुनः खुला गरिएको छ ।
संयुक्तराज्य अमेरिकी राजधानी वासिङ्टनमा रेस्टुराँहरु खुल्न थालेका छन् भने लस एन्जलसमा पनि रेस्टुराँ र सैलुनहरु खुलेका छन् । करिब २१ हजार ५०० व्यक्तिको मृत्यु भएको न्यूयोर्क सहर अगामी जुन ८ तारिखदेखि खुला हुँदैछ । अमेरिकामा कोरोनाभाइरसबाट एक लाख ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने झण्डै १७ लाख मानिस संक्रमित छन् । (रासस–एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया