अमेरिकाका दर्जनौं सहरमा प्रदर्शनहरु हिंसात्मक भएसँगै निषेधाज्ञा घोषणा
मिनियापोलिस, जेठ १९
संयुक्तराज्य अमेरिकाका प्रमुख सहरहरुमा प्रहरी दमनको विरोधमा शनिबार विरोध प्रदर्शन तीव्र भएसँगै निषेधाज्ञा (कफर्यू) लगाइएको छ । प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए । अशान्तिको केन्द्रविन्दु बनेको मिनियापोलिसमा लगातार पाँचौं दिन हिंसा फैलिएको छ । भीड नियन्त्रण गर्न खटाइएका दङ्गा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेका थिए । गत सोमबार एक निहत्था अश्वेत व्यक्तिमाथि गोरा प्रहरीले अमानवीय ढङ्गबाट हत्या गरेको भन्दै हिंसा भड्किएको हो ।
लस एन्जलस, शिकागो र एटलान्टा समेतका दुई दर्जन सहरमा मानिसहरूलाई स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरी रातभरि घरमै बस्न आदेश दिएको थियो । यहाँ नेसनल गार्डका सैनिकलाई पनि तैनाथ गरिएको थियो जुन अमेरिकी इतिहासमा विरलै देख्न सकिने घटना हो । सियाटलदेखि न्यूयोर्कसम्म दशौं हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनीहरुको एकमात्र माग थियो, अश्वेत युवा जर्ज फ्लोएडका हत्या आरोपी प्रहरीलाई कडाभन्दा कडा सजाय होस् र घटनामा संलग्न अरु प्रहरीलाई पनि गिरफ्तार गरियोस् ।
मिनियापोलिसका पुलिस अधिकृत डेरेक चौभिनले जर्ज फ्लोएडलाई ८ मिनेटसम्म घाँटीमा घुँडाले थिचेको हृदयविदारक दृश्य सार्वजनिक भएपछि हिंसा भड्किएको हो । सास फेर्न छाडेपछि पनि चौभिनले झण्डै ३ मिनेटसम्म फ्लोएडको घाँटी थिचेको आरोप छ । लस एन्जलसमा उग्र प्रदर्शनकारीले प्रहरीको गाडीमा आगो लगाएपछि प्रहरीले उनीहरुलाई तितरबितर गर्न रबरको गोली र लाठीचार्ज गरेका थिए ।
शिकागो र न्यूयोर्क लगायतका धेरैवटा सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका थिए । फिलाडेल्फियामा प्रदर्शनकारीले पसलका झ्यालहरुमा ढुंगामुडा गरेर तोडफोड गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनियापोलिसमा भएका लुटपाट र आगजनीका लागि अति दक्षिणपन्थी समूह सक्रिय रहेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरुले फ्लोयडको स्मृतिलाई पनि अनादर गरेको ट्रम्पले बताए ।
उनले भने, ‘हामीले एउटा अराजक सानो समूहलाई हाम्रा सहरहरू तोडफोड गर्ने छुट दिनु हुँदैन । मेरो प्रशासनले भीडको हिंसा रोक्नेछ । र हामीले यसलाई निर्मम ढंगबाट रोक्नुको विकल्प छैन ।’ अमेरिकी सीमा नाघेर प्रदर्शन क्यानाडाको टोरन्टो पनि पुगेको छ । प्रदर्शनकारीहरूले ‘अश्वेतको जीवनको महत्व छ’, ‘म सास फेर्न सक्दिन’ भन्नेजस्ता नारा अमेरिकादेखि क्यानाडासम्म लागेको छ । जर्ज फ्लोयडका भनाइहरु अहिले प्रहरी क्रुरताको नयाँ प्रतीक बनेका छन् । मिनेसोटाका गभर्नर टिम वाल्जले मिनियापोलिस सेन्टपल क्षेत्रमा प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन १३,००० शक्तिशाली राष्ट्रिय गार्ड (अर्धसैनिक प्रहरी) परिचालन गरिएको बताए ।
मिनियापोलिसतर्फ जाने सबै प्रमुख राजमार्गहरुमा शनिबार राति सैनिक हेलिकप्टरहरूले आकाशबाट गस्ती गरेका थिए । यसैबीच, अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाभर जारी जातीय प्रदर्शनसँगै भएको हिंसात्मक घटनाको निन्दा एवं भर्त्सना गर्नु भएको छ । तर उनले अन्यायका विरुद्धमा आवाज उठाउने अमेरिकीहरुको अधिकार भएको बताए । ‘यस्तो क्रुरताको विरुद्धमा प्रदर्शन गर्न अधिकार र आवश्यक दुवै हो । तर आगजनी र अनावश्यक तोडफोड जरुरी होइन । मानिसको जीवनलाई खतरामा लैजाने हिंसा हामीले चाहेको होइन । मानिसको जीवनमा अत्यावश्यक व्यवसाय बन्द हुने हिंसा अक्षम्य हो’, उनले एक विज्ञप्ति प्रकाशित गरी भनेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया