Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररूसको कामचट्कामा २२ जना सवार हेलिकोप्टर बेपत्ता

रूसको कामचट्कामा २२ जना सवार हेलिकोप्टर बेपत्ता


मस्को । रूसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकोप्टर बेपत्ता भएको क्षेत्रीय अधिकारीले शनिबार बताएका छन् । कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनिएको छ, ‘ग्रीनवीच समयअनुसार शनिबार बिहान करिब सवा चार बजे एमआई–८ हेलिकोप्टरसँगको सम्पर्कविच्छेद भएको थियो । हेलिकोप्टरमा १९ जना यात्रु र तीन चालक दलका सदस्य गरी २२ जना सवार थिए ।’

रूसी अधिकारीका अनुसार अन्य हेलिकोप्टरमा पठाइएका उद्दार टोलीहरूले रातभर हराइरहेको हेलिकोप्टरको खोजी गरिरहेका छन् । एमआई–८ सोभियतकालीन डिजाइनको सैन्य हेलिकोप्टर हो जुन रूसमा यातायातको लागि व्यापकरूपमा प्रयोग गरिन्छ ।

हराएको हेलिकोप्टरले जंगली परिदृश्य र सक्रिय ज्वालामुखीका लागि चिनिने वाचकाझेट्स प्रायद्वीपको एक रमणीय क्षेत्रमा रहेको ज्वालामुखी नजिकैबाट यात्रुहरूलाई उठाएको थियो ।

आपत्कालीन सेवाका एक स्रोतले तास समाचार संस्थालाई बताएअनुसार हेलिकोप्टर उडेको केही समयपछि राडारबाट गायब भएको थियो र चालक दलका सदस्यलाई कुनै समस्या भएको थिएन ।

मौसमसम्बन्धी सेवा प्रदान गर्ने स्थानीय एक कार्यालयले विमानस्थलको क्षेत्रमा ‘भिजिबिलिटी’ कम रहेको जनाएको छ । रूसको प्रायः उडानका लागि प्रतिकूल मौसम रहने सुदूरपूर्वी क्षेत्रमा विमान र हेलिकोप्टर दुर्घटना धेरै हुन्छन् । यहाँ पातलो बस्ती र कम जनसंख्या रहेको छ ।

सन् २०२१ को अगष्टमा १३ जना पर्यटकसहित १६ जना सवार एमआई–८ हेलिकप्टर भिजिबिलिटी कम भएका कारण कामचट्काको तालमा खस्दा आठ जनाको मृत्यु भएको थियो । सोही वर्षको जुलाईमा प्रायद्वीपमा अवतरणका लागि आएको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो जसमा २२ जना यात्रु र छ जना चालक दलका सदस्य थिए । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x