Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal


क्यानबेरा, असार १८
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी एक दशकमा एक सय ९० अर्ब अमेरिकी डलरको अतिरिक्त प्रतिरक्षा बजेट खर्च गरिने घोषणा गरेका छन् । आफ्नो देशको सीमा रक्षाका लागि व्यवस्था गर्न लागिएको थप बजेटबाट लामो दूरीका क्षेप्यास्त्र समेतका अत्याधुनिक हातहतियारको व्यवस्था गरिने उनले बताए ।

समाचार संस्था एपीका अनुसार प्रधानमन्त्री मोरिसनले कोरोनाकाल समाप्त भएसँगै विश्व अझ खतरापूर्ण अवस्थामा पुग्ने चेतावनी दिँदै आगामी दिनमा अस्ट्रेलियाको सार्वभौमसत्ता र अखण्डता सुरक्षित एवं सुदृढ गर्न संयुक्तराज्य अमेरिका समेतका परम्परागत मित्रराष्ट्रसंगको सम्बन्धलाई अझ प्रगाढ बनाइने बताए । उनले दोस्रो विश्वयुद्ध पछि अहिलेको जस्तो आर्थिक तथा रणनीतिक अस्थिरता कहिल्यै नदेखिएको पनि बताए ।

प्रधानमन्त्री मोरिसनले पछिल्ला दिनहरुमा भारत र चीनबीच तथा दक्षिण चीन सागरमा तनाबको अवस्था रहेको बताउँदै भने, ‘अस्ट्रेलियामा कोरोनाभाइरसको कहर मत्थर भए पनि कोरोनापश्चातको विश्वका लागि हामी तयार हुनुको विकल्प छैन जो निकै गरिब, बढी खतरापूर्ण र अव्यवस्थित हुनेछ ।’ उनले एसिया–प्रशान्त क्षेत्रका मुलुकहरुले आफ्ना सैनिकको आधुनिकीकरण गरिरहेकाले पनि अस्ट्रेलियासामु चुनौती रहेको बताए ।

प्रधानमन्त्री मोरिसनले चीन र संयुक्तराज्य अमेरिकाबीच राजनीतिक, आर्थिक तथा प्रविधिगत सर्वोच्चता कायम गर्न तीव्र प्रतिस्पर्धा भइरहेको कुरा कसैबाट नलुकेको बताए । अस्ट्रेलियाली सेनाको क्षमता विस्तार गर्न सरकारले अमेरिकाबाट पानीजहाज–भेदी एजीएम–१५८सी क्षेप्यास्त्र खरिद गर्नेछ । यसअघि १२४ किलोमिटरको दूरीसम्म मार हान्ने क्षमता रहेकामा अब ३७० किलोमिटरको दूरीसम्म प्रहार गर्ने क्षमता हुने अस्ट्रलिया सरकारको भनाइ छ । नयाँ क्षेप्यास्त्र प्रविधि एफ–१८ सुपर हर्नेट लडाकु विमानबाट प्रहार गर्न सकिनेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x