Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसहयोग रकममा सर्त परिवर्तन गर्न आईएमएफलाई श्रीलंकाको आग्रह

सहयोग रकममा सर्त परिवर्तन गर्न आईएमएफलाई श्रीलंकाको आग्रह


कोलम्बो । श्रीलंकाको नयाँ राष्ट्रपतिले दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत रकमका सर्तमा परिवर्तन गर्न माग गरेका छन् । जवाफमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पीडादायी मितव्ययिताका उपायहरूले सार्थकता पाइरहेकोले यसैलाई निरन्तरता दिनुपर्ने जनाएको छ ।

बामपन्थी नेता अनुरा कुमारा दिसानायकेले गत महिना भएको राष्ट्रपतीय चुनावमा करवृद्धि फिर्ता लिने, सरकारी कर्मचारीको तलब बढाउने र गत वर्ष कोलम्बोले प्राप्त गरेको अलोकप्रिय आईएमएफ बेलआउटमा पुनः वार्ता गर्ने वाचा गरेका थिए ।

मार्क्सवादी पृष्टभूमिबाट राष्ट्रपतिमा निर्वाचित दिसानायकेले यसै साता कोलम्बोमा कोषका प्रतिनिधिसँग पहिलो बैठक गर्दै निम्न आय भएका परिवारमा करको भार कम गर्न चाहेको बताएका हुन् । यसको जवाफमा आईएमएफले श्रीलंकाको आर्थिक पुनरुत्थानलाई खतरामा नपार्नु महत्वपूर्ण रहेको बताएको हो ।

यसबारे आईएमएफ प्रवक्ता जुली कोजाकले वासिङ्टनमा पत्रकारहरूसँग कुराकानी गर्दै श्रीलंकाको आर्थिक वृद्धिलाई पुनर्जीवित गर्ने, मुद्रास्फीति घटाउने, सञ्चिति बढाउने र राजस्व परिचालनमा सुधार गर्ने सन्दर्भमा सुधारको प्रयास सफल भइरहेको बताएका छन् ।

श्रीलंकाले आईएमएफ कोषको ३३ करोड ६० लाख अमेरिकी डलरको चौथो किस्ता निकाल्न नेताहरूले उद्धार योजनाको राजस्व र खर्चको लक्ष्यमा अडिग रहेको देखिनु आवश्यक भएको आईएमएफले जनाएको छ ।

राष्ट्रपति दिसानायकेले १२ अर्ब ५० करोड अमेरिकी डलरको अन्तर्राष्ट्रिय सार्वभौम ऋणपत्रको पुनर्संरचना गर्न र नगदको अभाव झेलिरहेका राष्ट्रका लागि थप सहुलियत सुनिश्चित गर्न सम्झौता गर्न चाहेको बताएका छन् ।

कोलम्बोस्थित आर्थिक थिंक ट्यांक एडभोकाटाका मुर्तजा जाफर्जीले दिसानायकेको निर्वाचनलगत्तै एएफपीसँग भने, ‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) वार्ता गर्न सहमत नहुने केही जटिल कुराहरू छन् ।’ उनले आईएमएफ प्रशासनले सहमति गरेको मुद्रा मुद्रण, राजस्व र खर्चको लक्ष्यमा प्रतिबन्धसहित बेलआउटका मुख्य बुँदाहरूमा पछि हट्ने सम्भावना नभएको बताए ।

श्रीलंकाले सन् २०२२ मा ४६ अर्ब अमेरिकी डलरबराबरको विदेशी ऋण तिर्न नसकेपछि आईएमएफसँग सम्झौता गरी यस विषयलाई सहज बनाएको थियो ।

सन् २०२३ को आईएमएफ बेलआउटले खाद्यान्न, इन्धन र औषधिको चरम अभाव अन्त्य गर्न मद्दत गरेको छ र श्रीलंकाको अर्थतन्त्रलाई वृद्धिमा फर्काएको छ, तर यसको मितव्ययिताका उपायहरूले लाखौँलाई आफ्नो गुजारा चलाउन संघर्ष गरिरहेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x