Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविद्युतीय सवारीसाधनमा ईयूको अतिरिक्त शुल्क स्वीकार्य छैन

विद्युतीय सवारीसाधनमा ईयूको अतिरिक्त शुल्क स्वीकार्य छैन


बेइजिङ । चीनले आफ्नो देशमा निर्मित विद्युतीय कारमा युरोपेली संघ (इयू)ले लगएकोे नयाँ कर स्वीकार नगरेको स्पष्ट पारेको छ । बेइजिङको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले भने, ‘चीन यस निर्णयसँग सहमत छैन र स्वीकार गर्दैन र विश्व व्यापार संगठनको विवाद समाधान संयन्त्रअन्तर्गत उजुरी दर्ता गरेको छ ।’

चीनले चिनियाँ कम्पनीहरूको वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न सबै आवश्यक उपायहरू लिने उनले बताए । बेइजिङको राज्य अनुदानले युरोपेली अटोमेकरहरूलाई अनुचित तरिकाले कमजोर बनाएको निष्कर्ष निकाल्दै युरोपेली संघले मंगलबार चीनमा निर्मित विद्युतीय कारहरूमा थप कर लगाउने निर्णय गरेको थियो । थप कर आगामी पाँच वर्षका लागि लगाइनेछ ।

टेस्लाजस्ता विदेशी समूहले चीनमा निर्माण गरेका सवारीसाधनमा पनि विभिन्न दरमा अतिरिक्त शुल्क लागू हुन्छ । नयाँ नीतिअनुसार चिनियाँ कार कम्पनी जिलीले १८ दशमलव ८० प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्नेछ भने एसएआईसीले सबैभन्दा बढी ३५ दशमलव ३० प्रतिशत कर तिर्नुपर्नेछ ।

चीनबाट विद्युतीय सवारीसाधनको आयातमा हाल कायम रहेको १० प्रतिशतभन्दा माथि कर लाग्नेछ । प्रवक्ताले भने, ‘चिनियाँ विद्युतीय सवारीसाधनमा ईयूको अनुदानविरोधी अनुसन्धानमा धेरै अनुचित र गैरअनुपालन पक्षहरू रहेको चीनले बारम्बार जोड दिँदै आएको छ र यसले संरक्षणवादी अभ्यासहरूको प्रतिनिधित्व गर्दछ ।

‘ईयूले व्यापार तनावको वृद्धिबाट बच्न रचनात्मक दृष्टिकोण अपनाउनेछ र दुवै पक्षलाई स्वीकार्य समाधानमा छिटो पुग्न चीनसँग सहकार्य गर्नेछ ।’ बेइजिङले चीनमा आयात हुने केही डेरी र सुँगुरको मासुजन्य पदार्थमा ईयूले दिएको अनुदानबारे पनि अनुसन्धान सुरु गरेको छ । चीन र इर्यूबीचको व्यापार तनाव विद्युतीय कारहरूमा मात्र सीमित छैन । ब्रसेल्सले सौर्य प्यानल र हावाबाट चल्ने टर्बाइनहरूको लागि चिनियाँ अनुदानहरूको पनि अनुसन्धान गरिरहेको छ ।

चिनियाँ विद्युतीय कारमा भारी कर) लगाउने निर्णय ईयूसँगै क्यानडा र संयुक्त राज्य अमेरिकाले पनि गरेका छन् । क्यानडा र अमेरिकाले हालैका महिनाहरूमा चिनियाँ विद्युतीय कार आयातमा एक सय प्रतिशतको उच्च कर लगाएका छन् । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x