यस्तो छ रुसी खोपको प्रारम्भिक परीक्षण चरणको नतिजा
मस्को, भदौ २२
नयाँ कोरोनाभाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण शुक्रबार प्रकाशन गरेको छ । रुसी वैज्ञानिकहरुले ‘स्पुतनिक–भी’ नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण सार्वजनिक गरेका हुन् ।
रुस सरकारले यो खोपलाई गत अगष्ट ११ मै स्वीकृति दिइसकेको छ । नयाँ खोपसम्बन्धी विवरण सार्वजनिक भएलगत्तै उक्त खोपका बारेमा विज्ञहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । उनीहरुको भनाईमा केही दर्जन व्यक्तिलाई मात्र खोप दिइएकाले यसको विश्वसनीयता शंकाको घेरामा रहेको छ ।
गत शुक्रबार बेलायती मेडिकल जर्नल दी ल्यान्सेटमा प्रकाशित रिपोर्टमा खोप दिइएका ४० जनामा एन्टीबडी निर्माण भएको र तीन साताभित्र पुनः परीक्षण गर्दा उनीहरुमा कोरोनाभाइरस नदेखिएको उल्लेख छ । तर लेखकहरुका अनुसार खोप दिइएका व्यक्तिलाई ४२ दिनसम्म मात्र अनुगमन गरिएको थियो । अध्ययनमा समेटिएको संख्या ज्यादै सानो भएको र नियन्त्रण खोप (कन्ट्रोल भ्याक्सिन) नदिइएको पनि रिपोर्टमा उल्लेख छ ।
यस अध्ययनमा सहभागीहरु सबै पुरुष रहेका र उनीहरु २० र ३० वर्षको हाराहारीका व्यक्ति थिए । त्यसैले कोरानाभाइरसबाट सबैभन्दा बढी जोखिममा रहेका बयस्क वा वृद्ध व्यक्तिहरुलाई यो खोपले काम गर्छ भन्नेमा प्रशस्त आशंका रहेको छ । अन्तर्राष्ट्रिय विज्ञहरु भने यस खोपको प्रभावकारीता र सुरक्षामाथि निकै सचेत देखिएका छन् । तैपनि, खोप निर्माता रुसी अधिकारीहरु भने खोपले देखाएको प्रभावकारिताबाट निकै खुशी देखिएका छन् ।
मस्कोस्थित गामालेया इन्स्टिच्युटका निर्देशक प्राध्यापक अलेक्जान्डर गिन्ट्सबर्गले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा नयाँ खोपले मानिसमा पर्याप्त प्रतिरोधी क्षमता विकास गरेको दाबी गरे । ल्यान्सेटमा प्रकाशित प्रतिवेदन अनुसार, खोपको परीक्षण रुसका दुई वटा अस्पतालमा गरिएको थियो जसमा १८ देखि ६० वर्षका स्वस्थ व्यक्तिलाई समावेश गरिएको थियो । परीक्षणका लागि नाम लेखाएका व्यक्तिलाई अलग राखिएको थियो । खोप लगाइएपछि उनीहरुलाई २८ दिनसम्म अस्पतालमै राखिएको थियो ।
रुसले विकास गरेको खोपमा प्रयोग गरिएको प्रविधि चीनको क्यान–साइनो बायोलजिक्स र बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरिरहेको खोपजस्तै छ । रुसी अनुसन्धाताहरुले खोपमा सहभागी सबै ४० जनामा एन्डीबडी विकास भएको र यसले संक्रमण रोक्न मद्दत गर्ने जनाएका छन् । यो खोप लगाएकाहरुमा खोप लगाइएको ठाउँमा हुने दुःखाइ, ज्वरो, टाउको दुख्ने र मांसपेशी वा जोड्नी दुख्ने समस्या देखिएको छ । जोन्स हप्किन्स ब्लूमबर्ग जनस्वास्थ्य विद्यालयका डा नाओर बार–जीभले सानै भएपनि रुसी खोप उत्साहजनक रहेको प्रतिक्रिया दिएका छन् ।
रुसी सरकारले गत अगष्ट ११ मा ठूलै कार्यक्रमबीच खोपलाई सरकारी मान्यता दिएको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनले खोप निर्माण भएको बारे राष्ट्रिय टेलिभिजनबाटै घोषणा गरेका थिए । उनले यस्तो खोप आफ्नी छोरीले लगाइसकेको र यसले रोगप्रतिरोधी क्षमता विकास गरेको बताएको थियो । त्यसयता रुसका धेरै उच्च पदाधिकारीले खोप लिएको बताएका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिन र रक्षा मन्त्री सर्गेई सोइगु समेतका अरु पदाधिकारीले यस्तो खोप लिएका छन् ।
५० हजार जनामा चिनियाँ खोपको तेस्रो परीक्षण : चीनमा बनाइएको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो ।
कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमा परीक्षण भइरहेको जानकारी गराएको छ । चीनमा त्यसबाहेक अर्को खोप पनि विकास गरिएको छ । सो खोप सिनोभाक कम्पनीले विकास गरेको हो । यसको पनि तस्रो चरणको परीक्षण भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
- एभरेस्ट कलरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
- नेपाल टेलिकम सम्मानित
- तारागाउँ रिजेन्सी सम्मानित
- आईटी क्षेत्रको अन्तर्राष्ट्रियस्तरको असोसियो अवार्ड कुँवरलाई
- लिट्मस केबल्स र फिटनेस प्रशिक्षक सनम मूल गुठीबीच सहकार्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया