Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपछिल्ला वर्षमा अफ्रिकाबाट आठ सय अर्ब डलर बाहिरियो

पछिल्ला वर्षमा अफ्रिकाबाट आठ सय अर्ब डलर बाहिरियो


जेनेभा ।
संयुक्त राष्ट्रसंघको एक अनुमानअनुसार यस शताब्दीको सुरुका १५ वर्षमा अफ्रिकी मुलुकहरुबाट अवैध रुपमा आठ सय ३० अर्ब डलर बाहिरिएको छ । यो रकममध्ये उच्च मूल्यका सुन, हीरा र प्लेटिनमबाट प्राप्त भएको रकमको हिस्सा अत्यधिक छ । अवैध रुपमा यो रकम बाहिनबाट रोक्नसकेको भए अफ्रिकी मुलुकहरुमा स्वास्थ्यसेवा, शिक्षा र पूर्वाधार निर्माणमा अभूतपूर्व प्रगति हुने राष्ट्रसंघको अध्ययनले देखाएको छ ।

सोमबार जेनेभामा आयोजित व्यापार र विकास सम्बन्धी राष्ट्रसंघीय सम्मेलन (अन्कटाड) का अवसरमा प्रकाशित प्रतिवेदनमा अफ्रिकाबाट भएको गैरकानुनी र अवैध वित्तीय प्रवाहलाई विशेष रुपमा जोड दिइएको छ । प्रतिवेदनले अफ्रिकाबाट पैसाका साथै सम्पत्ति पनि बाहिरिएको उल्लेख छ । अफ्रिकामा चोरी, भ्रष्टाचार र सिपिङको बिल गलत राख्नेजस्ता अनेक समस्या छन् ।

सन् २०१३ देखि २०१५ को बीचमा औसतमा प्रतिवर्ष झण्डै ८९ अर्ब डलरका दरले अफ्रिकाबाट थप रकम बाहिरिएको देखिएको छ । तुलनात्मक रुपमा हेर्दा, अफ्रिकाले विदेशी दातृनिकायबाट वार्षिक करिब एक सय दुई अर्ब डलर प्राप्त गरेको देखिन्छ । अन्कटाडका महासचिव मुखिसा किटुयीले भने, ‘गैरकानुनी वित्तीय प्रवाहले अफ्रिका र यसका जनताको आकाँक्षामाथि नै खेलबाड गरेको छ । पारदर्शिता र जवाफदेहितालाई नजरअन्दाज गरिएको छ भने अफ्रिकी संस्थामाथिको भरोसामा तुसारापात भएको छ ।’

अन्कटाडले सन् २००० देखि २०१५ को बीचमा अफ्रिकाबाट अवैध रुपमा करिब आठ सय ३६ अर्ब डलर बाहिरिएको जनाएको छ । अन्कटाडका अनुसार सन् २०१५ मा मात्र ४० अर्ब डलरबराबरको रकम बाहिरिएको छ र यो रकम विशेषगरी बहुमूल्य धातु सुनको बिक्रीबाट प्राप्त भएको भएको हो ।

अवैध रुपमा रकम बाहिरिएका मुलुकहरुमा मुख्य रुपमा दक्षिण अफ्रिका, नाइजेरिया र इजिप्ट रहेका छन् । अवैध रुपमा रकम विदेशिनबाट रोक्न सकिए त्यसबाट अफ्रिकामा सडक, रेलवे, विद्यालय र स्वास्थ्य सेवाजस्ता क्षेत्रमा प्रशस्त लगानी गर्न सकिने पनि अन्कटाडको ठम्याइ छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया