Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना भाइरसबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु

कोरोना भाइरसबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु


काठमाडौं ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ५१ लाख ४० हजारभन्दा बढी पुगेको छ । कुल संक्रमितमध्ये दुई करोड ६१ लाख ३० हजार निको भएका छन् भने करिब ७९ लाख ६ हजारभन्दा बढी मानिस सक्रिय संक्रमित छन् ।

विश्वभर अझै पनि ६६ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७६ लाख नाघिसकेको छ ।

कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजार को मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोना संक्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात् विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या एक लाख नाघेको छ ।

आजसम्म प्राप्त समाचारअनुसार भारतमा ६५ लाख ४९ हजारभन्दा बढीलाई कोरोना भाइरस संक्रमण भएको र यस संक्रमणबाट एक लाख १ हजार नौ सय ६० जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४९ लाखभन्दा बढी व्यक्ति संक्रमित भएकामा एक लाख ४६ हजारको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ४ हजारभन्दा बढी संक्रमित रहेका छन् भने २१ हजार दुई सय ५१ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोना भाइरसको प्रकोप बढ्दो रुपमा रहेको केही दिनअगाडि एकै दिनमा २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट तीन हजार तीन सय ५२ जनाको मृत्यु भएको थियो ।युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । (रासस/एएफपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया