Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुरोपेली सेयरबजारमा अमेरिकी राष्ट्रपतीय चुनावको प्रभाव

युरोपेली सेयरबजारमा अमेरिकी राष्ट्रपतीय चुनावको प्रभाव


लन्डन ।
युरोपेली सेयरबजारमा अमेरिकी राष्ट्रपतीय चुनावको प्रभाव देखिएको छ । नोभेम्बर ३ मा भएको चुनावको अमेरिकीमा परिणाम आउन बाँकी रहँदा बजारमा उतारचढाव देखिएको बीबीसीले जनाएको छ । लन्डन, पेरिस र फ्रान्कफर्टका बजार परिसूचकहरु सुस्त देखिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख्य मुख्य राज्यमा मतपरिणाम सार्वजनिक हुनुअगावै आफूलाई विजयप्राप्तिबाट रोक्न केही समूह लागेको भन्दै मतपरिणामलाई लिएर सर्वोच्च अदालत जाने बताएसँगै लगानीकर्तामा त्यसको असर देखिएको हो । धेरै राज्यको मत गणना सकिँदा डेमोक्रेटिक उम्मेदवार जोय बाइडन ट्रम्पभन्दा केही मतले अगाडि देखिएका छन् । यद्यपि पेन्सिल्भेनिया, मिसिगन, जर्जिया, नेवाडाजस्ता राज्यहरुमा हुलाकमार्फत आउने मतपत्रको गणना बाँकी नै छ । इलेक्टोरल कलेजमा कम्तीमा २ सय ७० मत ल्याउने उम्मेदवारले राष्ट्रपति जित्ने भएकाले बाँकी राज्यको मतपरिणामले यसको तय गर्नेछ ।

सुरुवाती कारोबार घटे पनि पछि विस्तारै बजार केही माथि उठेको थियो । मंगलबार तीनवटा मुख्य अमेरिकी सूचकहरु उच्च देखिएका थिए । डो मात्रै २ प्रतिशत माथि चढेको थियो । त्यस्तै एसएण्डपी५०० पनि १.७ प्रतिशतले बढेको थियो भने नास्डाक १.९ प्रतिशतले उकालो लागेको थियो ।

एसियाली सेयरबजार बुधबार केही उच्च देखिएका थिए । तर ट्रम्पले चुनावी परिणामलाई लिएर कानुनी झमेला गर्ने संकेतपछि केही सुस्ताएका थिए । कोरोनाभाइरसले दुई लाखभन्दा बढी अमेरिकीको ज्यान गएको परिप्रेक्ष्यमा भएको चुनावमा विपक्षी बाइडेनले ट्रम्पलाई फराकिलो अन्तरले हराउने अपेक्षा अमेरिकी सञ्चारमाध्यमले गर्दै आएका थिए । चुनावअघिका सर्वेक्षण मतमा पनि ट्रम्प निकै पछि पर्ने देखिएकोमा चुनावी मतगणना जारी रहँदा दुई उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया