Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी चुनाव : मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी

अमेरिकी चुनाव : मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी


वासिड.टन डीसी ।
अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । डेमोक्रेट पार्टीको वर्चस्व रहँदै आएका यी दुवै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका थिए । मिचिगन र विक्सन्सिन राज्यमा बाइडेनलाई सफलता प्राप्त भएसँगै राष्ट्रपति ट्रम्पलाई पुनः राष्ट्रपतिमा विजयी हुन कठिन हुँदै गएको छ । अमेरिकामा गत मंगलबार चुनाव भएको थियो । मंगलबार राति र बुधबार दिनभर मतगणना हुँदा पनि राष्ट्रपतिमा चयन हुनका लागि आवश्यक २७० इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) दुवै उम्मेदवारले प्राप्त गर्न सकेका छैनन् ।

पछिल्लो मत परिणाम अनुसार बाइडेनले २६४ इलेक्टोरल मत प्राप्त गरेका छन् र उनी विजयको नजिक छन् । बाइडेनले सात करोड १० लाखभन्दा बढी मत प्राप्त गरिसकेका छन् । अमेरिकी इतिहासमा राष्ट्रपतिका कुनै पनि उम्मेदवारले प्राप्त गरेको यो सबैभन्दा बढी मत हो ।

पछिल्लो चुनावी अवस्थाका बारेमा उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिससँगै ब्रिफिङ दिँदै बाइडेनले आफू अमेरिकी राष्ट्रपति पदमा विजयी हुने अन्तिम अवस्थामा पुगेको बताए । तर उनले आफू विजयी भएको घोषणा गर्न चाहेनन् । उनले भने, ‘म अमेरिकी राष्ट्रपति हुँदै छु । मैले विजय प्राप्त गरेपछि रातो वा निलो रङका आधारमा कुनै राज्यमाथि भेदभाव हुने छैन । मेरो ध्यान केबल संयुक्तराज्य अमेरिका हुनेछ ।’

राष्ट्रपति ट्रम्पले भने आफूले चुनावमा विजय हासिल गरिसकेको दाबी गरेका थिए । जसलाई स्वयं रिपब्लिकन पार्टीका नेताहरुले हतारको घोषणा भन्दै आलोचना गरेका थिए । विस्कन्सिन र मिचिगनमा विजय प्राप्त गरेसँगै बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित हुन ६ इलेक्टोरल भोट मात्र आवश्यक रहेको छ । निर्वाचनको मिश्रित नतिजा आइरहेको अवस्थामा राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसमै बिताएका थिए ।

तीन राज्यमा मतगणना रोक्न उजुरी : यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको जनाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गर्दै अदालतमा बुधबार उजुरी गरेको छ । राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोट (निर्वाचक प्रतिनिधि) प्राप्त गर्न यी राज्यको मत परिणाम आफ्नो पक्षमा पार्नु जरुरी देखिएको छ । पछिल्ला मत गणनामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले अग्रता लिन थालेपछि ट्रम्पका तर्फबाट उजुरी गरिएको हो ।

उजुरीमा मतपत्र राखिएका स्थान र मत गणना स्थलसम्म आफ्ना प्रतिनिधिको पहुँच सुनिश्चित गर्न ट्रम्पको चुनावी अभियानका तर्फबाट आग्रह गरिएको छ । ट्रम्प अभियानले धाँधलीको आरोप लगाएको मिचिगनको एक चुनावी मत गणना स्थलमा एपीले गरेको अध्ययनमा दुवै पक्षका प्रतिनिधिहरुको रोहबरमा मत गणना भएको देखिएको छ । एपीका अनुसार मिचिगनमा डेमोक्रेट पार्टीका जो बाइडेनले विजय हासिल गरेका छन् । यद्यपि यहाँ औपचारिक घोषणा हुन बाँकी छ । नेभादा, पेन्सिलभेनिया र जर्जियामा अझै पनि मत गणना कार्य जारी रहेको र दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको देखिएको छ ।

ट्रम्प अभियानले पेन्सिलभेनियाको मत गणनाको विषयलाई सर्वोच्च अदालतमा पनि चुनौती दिने तयारी गरेको छ । ट्रम्पका उप चुनावी व्यवस्थापक जस्टिन क्लार्कले चुनाव भएको तीन दिनभित्र हुलाकबाट प्राप्त भएका मतपत्र गणना गर्ने वा नगर्ने भन्ने विषयले अन्यौल बढाएको छ, र यसको निरुपण अदालतबाट हुने बताए । राष्ट्रपति ट्रम्पले यही विषयलाई चुनावी प्रचारका क्रममा लगातार उठाउँदै आएका थिए । रासस/एपी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया