Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारट्रम्पको योजना तुहाउन क्यानडाले लगायो ठूलो परिमाणका औषधि अमेरिका निर्यातमा प्रतिबन्ध

ट्रम्पको योजना तुहाउन क्यानडाले लगायो ठूलो परिमाणका औषधि अमेरिका निर्यातमा प्रतिबन्ध


ओटावा ।
क्यानडाले शनिबार ठूलो परिमाणमा अमेरिका निर्यात गरिने प्रिस्क्रिप्सन ड्रग्स (औषधि)मा प्रतिबन्ध लगाएको छ । अमेरिकी ट्रम्प प्रशासनले धेरै ठूलो परिमाणमा डाक्टरले स्वीकृत गरेको औषधि आयात गर्ने योजना बनाएलगत्तै आफ्नो देशमा औषधि आवश्यक हुनसक्ने कारण देखाउँदै निर्यातमाा प्रतिबन्ध लगाएको हो ।

‘यदि यस्तो निर्यातले औषधिको अनिकाल लाग्ने अवस्था हुने देखिएमा क्यानडेली बजारका लागि निश्चित गरिएका औषधिहरु क्यानडाबाहिर उपभोगका लागि वितरण गर्न निषेध गरिएको छ’, क्यानडाका स्वास्थ्यमन्त्री पेटी हाज्डुले एक वक्तव्यमा भनेका छन्, ‘कम्पनीहरुले पनि अपुग हुनसक्ने औषधिबारेको सूचना मागेको अवस्थामा २४ घण्टाभित्रै उपलब्ध गराउनुपर्नेछ ।’

क्यानडाको पछिल्लो कदम शुक्रबारदेखि नै कार्यान्वयनमा आएको छ । अमेरिकाले त्यसको एक दिनपछि मात्रै ‘इम्पोर्टेसन प्रिस्क्रिप्सन ड्रग्स’ नियम ल्याएको थियो । यसले लाइसेन्सप्राप्त अमेरिकी फार्मासिस्ट वा होलसेल बिक्रीकर्तालाई ठूलो परिमाणमा त्यस्ता औषधि आयात गर्न स्वीकृति दिन्छ । यो सिधै क्यानडाको औषधि बजारलक्षित रहेको बताइएको छ । तर न ह्वाइटहाउस, न त अमेरिकी डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसले यसबारे कुनै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावअघिको राष्ट्रपतीय बहसका बेला अमेरिकी नागरिकलाई औषधिको लागत खर्च घटाउन आफूले योजना बनाएको बताएका थिए । क्यानडा विश्वमा औषधिको लागि सानो बजार हो । यसले २ प्रतिशत हिस्सा लिएको स्वास्थ्यमन्त्रीको वक्तव्यमा उल्लेख छ । उसले पनि ६८ प्रतिशत औषधि अरु नै देशबाट आयात गर्ने गरेको छ । यद्यपि क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडेउले गत सेप्टेम्बरमा औषधि आपूर्तिमा अरु देशलाई सघाउने प्रतिबद्धता जनाएका थिए । तर क्यानडेलीको आवश्यकता परिपूर्ति गरेर मात्रै यस्तो सहयोग गर्न सकिने उनको भनाइ थियो । धेरै क्यानडेली औषधि आपूर्तिकर्ताले ट्रम्पको औषधि आयात योजनाको विरोध गरेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया