Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफ्रान्सका राष्ट्रपतिलाई कोरोना संक्रमण

फ्रान्सका राष्ट्रपतिलाई कोरोना संक्रमण

युरोपका अन्य नेताहरु पनि सेल्फ आइसोलेसनमा


ब्रसेल्स ।
फ्रान्सका राष्ट्रपति एम्यान्युएल म्याक्रोँ कोरोनाभाइरसबाट संक्रमित भएका छन् । उनलाई कोरोना संक्रमण भएको बिहीबार पुष्टि गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । उनीसँगै अरु केही विशिष्ट व्यक्तिहरु पनि संक्रमित भएको आशंकापछि उनीहरूलाई सार्वजनिक कार्यक्रममा सहभागी नगर्न र अन्य व्यक्तिको सम्पर्कबाट टाढा रहन र परीक्षण गर्न सुझाव दिइएको छ ।

त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएका विश्व नेताहरुको सूचीमा पनि उहाँको नाम थपिएको छ । यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतलाई पनि कोरोनाभाइरसले संक्रमित बनाएको थियो । राष्ट्रपति म्याक्रोँलाई लक्षणका आधारमा शंका लागेपछि परीक्षण गरिएकोमा संक्रमण देखिएको हो । उनी अब कम्तीमा सात दिन सेल्फ आइसोलेसनमा बस्ने बताइएको छ । फ्रान्समा कोरोना संक्रमण भएको पुष्टि भएपछि कम्तीमा सात दिन सेल्फ आइसोलेसनमा बस्नु पर्ने नियम रहेको छ ।

उनले संक्रमण पुष्टि भएर सेल्फ आइसोलेसनमा बसे पनि आफ्नो कामलाई निरन्तरता दिने राष्ट्रपति कार्यालयले जनाएको छ । म्याक्रोँ गत हप्ता पेरिसमै आयोजना गरिएको युरोपेली सम्मेलनमा पनि सहभागी भएका थिए । आर्थिक सहकार्य तथा विकासका लागि संगठन (ओइसीडी)द्वारा आयोजित सो सम्मेलनमा सहभागी अन्य नेताहरु पनि संक्रमित भएको आशंका गरिएको छ । सम्मेलनको अध्यक्षता गरेका युरोपेली परिषद्का अध्यक्ष चार्स मिसेल पनि संक्रमितसँग कार्यक्रममा रहेकोले उनले पनि अन्य व्यक्तिबाट अलग बसेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।

त्यसैगरी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र एन्टेनियो कोस्टा पनि क्वारेन्टीनमा बस्नु भएको उहाँको कार्यालयका अधिकारीहरुले जनाएका छन् । म्याक्रोँसँग सम्पर्कमा भएकै कारणले फ्रान्सकै प्रधानमन्त्री जाँ कास्टेक्स र सभामुख रिचार्ड फरान्ड पनि सेल्फ आइसोलेसनमा छन् । उनीहरूलाई संक्रमणको कुनै लक्षण भने देखिएको छैन ।

म्याक्रोँकी श्रीमतीलाई समेत कुनै लक्षण नदेखिए पनि सेल्फ आइसोलेसनमा राखिएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरूलाई संक्रमण भएको थाहा पाएपछि विभिन्न देशका नेताहरुले उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । फ्रान्समा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म ५९ हजार ३ सयभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया