Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअलिपेसहितका आठ चिनियाँ एप अमेरिकामा प्रतिबन्धित

अलिपेसहितका आठ चिनियाँ एप अमेरिकामा प्रतिबन्धित


वासिड.टन ।
अमेरिकाले फेरि आठवटा चिनियाँ एप्लिकेसनमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलिपेसहितका आठ एपमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ ।

प्रतिबन्धमा परेका अलिपे, क्युक्यु वालेट र विच्याट पे विश्वका चर्चित भुक्तानी सेवाप्रदायक हुन् । उक्त कार्यकारी आदेश ४५ दिनमा कार्यान्वयनमा आउनेछ । अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा भएको आरोप लगाउँदै अमेरिकाले चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । ती एपमार्फत अमेरिकी नागरिकलाई ट्रयाक गर्नसक्ने सम्भावना रहेकाले प्रतिबन्ध लगाउनुपरेको बताइएको छ ।

प्रतिबन्धित सूचीमा क्युक्यु, क्यामस्क्यानर, सेयर इट, भीमेट र डब्ल्यूपीएस अफिस पनि छन् । अब ट्रम्पले सत्ता छोडेपछि यी प्रतिबन्ध लागू हुनेछन् । कार्यकारी आदेशमा भनिएको छ, ‘अमेरिकाले राष्ट्रिय सुरक्षाको रक्षा गर्न चिनियाँ सफ्टवेयर जोडिएको एप विकास गर्नेविरुद्ध सशक्त कदम चाल्नैपर्छ ।’

प्रयोगकर्ताबाट चिनियाँ एपहरुले नागरिकको व्यक्तिगत डिभाइसहरु स्मार्टफोन, ट्याबलेट र कम्प्युटरबाट सूचनाहरु लिनसक्ने कार्यकारी आदेशमा भनिएको छ । राष्ट्रपतिको कार्यकालको अन्तिम क्षणमा ट्रम्पले चिनियाँ कम्पनीविरुद्ध कडा कदम चालिरहेका छन् । राष्ट्रिय सुरक्षामा दख्खल पु-याउने आरोप लगाउँदै उनले धमाधम कालोसूचीमा ती कम्पनीहरुलाई राखिरहेका छन् ।

यसअघि नै चिनियाँ सामाजिक सञ्जाल कम्पनी टिकटक, दूरसञ्चार सामग्री निर्माता हुवावे, चिपमेकर एसएमआईसी, ड्रोन उत्पादक डीजेआई टेक्नोलोजीलगायतका कम्पनीहरु कालोसूचीमा परिसकेका छन् । त्यस्तै अरु थुप्रै चिनियाँ र रुसी कम्पनीहरुलाई तिनीहरुको स्वामित्व वा नियन्त्रणमा सेनाको पहुँच रहेको भन्दै कडाइ गरिएका छन् । ती कम्पनीलाई संवेदनशील अमेरिकी वस्तु र प्रविधि किन्नबाट समेत वञ्चित गरिएको छ ।

चीनले भने अमेरिकी कदमको कडा विरोध गर्दै आएको छ । अमेरिकाले लगाएको आरोपलाई उसले झूटो भन्दै आएको छ । डिसेम्बर ३१ मा न्युयोर्क स्टक एक्सचेन्जले तीन चिनियाँ दूरसञ्चार कम्पनीलाई सेयरबजारमा सूचीकरणबाट हटाउने निर्णय गरेको थियो । ट्रम्पले नोभेम्बरमा जारी गरेको कार्यकारी आदेशअनुसार सो कदम चाले पनि दुई दिनअघि मात्रै उसले थप परामर्शपछि मात्रै निर्णय लिने भन्दै कारबाही तत्काललाई रोकेको घोषणा गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया