इरानी कमान्डर मारिएपछि कच्चा तेलको मूल्य बढ्यो
युरोप, पुस २०
इरानी क्रान्तिकारी सेना (कुद्स)का जनरल अमेरिकी सेनाको कारबाहीमा इराकमा मारिएसँगै विश्वमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । विश्लेषकहरुले इरानले प्रत्याक्रमण गर्नसक्ने चेतावनी दिएका छन् । शुक्रबार बिहानै बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी कमान्डर कासिम सुलेमानीको मृत्यु भएको हो ।
पछिल्लो घटनाक्रमले विश्वकै तेल उत्पादन प्रभावित हुनसक्ने देखिएको बीबीसीले जनाएको छ । घटनापछि ब्रेन्ट क्रुड (कच्चा तेल)को मूल्य ३ प्रतिशतले बढेर ६९.५० डलर प्रतिब्यारेल पुगेको छ । जुन सेप्टेम्बरयताकै उच्च हो । तेलबजार र लन्डन स्टकमा उच्च मूल्य वृद्धि भएको बताइएको छ । बीबीसीका अनुसार बीपी २.७ प्रतिशतले र रोयल डच शेल १.९ प्रतिशतले बढेका छन् । त्यस्तै अमेरिकी कम्पनीहरु एक्सन मोबिलको सेयर भने घटेको छ । डो र नास्डाक दुवै शून्य दशमलव ८ प्रतिशतले घटेको छ भने एसएण्डपी ५०० सूचक शून्य दशमलव ७ प्रतिशतले घटेको छ ।
इरान र अमेरिकाबीच सन् २०१८ उच्च विवाद बढिरहेको थियो । सोही वर्ष अमेरिकाले इरानसँग भएको आणविक सम्झौताबाट पछि हटेको थियो । इरानले आणविक हतियार निर्माण गर्ने भन्दै अमेरिकाले सोही समयदेखि आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ । पछिल्लो घटनाले विश्व तेल आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । घटनासँगै अन्तर्राष्ट्रिय कच्चा तेल बेन्चमार्क, ब्रेन्ट क्रुडको मूल्य ३.५ प्रतिशतले शुक्रबार बढेको थियो । त्यस्तै अमेरिकी कम्पनी वेस्ट टेक्सास इन्टरमेडियट ३ प्रतिशतले वृद्धि भएको थियो । अझै अमेरिका र इरानबीच प्रत्यक्ष युद्ध भए तेलको मूल्य उच्च दरमा वृद्धि हुने विश्लेषकहरुले बताएका छन् ।
नेटोद्वारा इराकमा तालिम अभियान स्थगित :- यसैबीच, उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले इराकमा यस पहिले सञ्चालन गर्दै आएको तालिम अभियानलाई स्थगित गरेको छ । अमेरिकाको हवाई आक्रमणबाट इराकको राजधानीस्थित एक अन्तर्रा्ष्ट्रिय विमानस्थल नजिकै इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानी, इराकमा पछिल्लो समय आन्दोलनरत विद्रोही समुहका प्रमुख नेता अबु महदी अल–मुहन्दीससहित छ जनाको मृत्यु भएको थियो ।
अल–मुहन्दीसले इरानको समर्थनप्राप्त समूह कताइब हेजबुल्लाह र इरानसँग निकट अन्य लडाकू समूहहरूको छाता संगठन समूहको पनि नेतृत्व गर्दै आएका थिए । इराकमा नेटोका सयौँको संख्यामा सैनिक तैनाद भएका छन् भने उनीहरूले इराकी सेनालाई आवश्यक तालिम दिँदै आएको थियो । इराकी सरकारले बग्दादमा इस्लामिक समूहका गतिविधि रोक्नका लागि नेटोको सहयोगका लागि माग गरे अनुरूप नेटोले आफ्ना अधिकारीलाई त्यहाँ पठाएको थियो ।
संयमता अप्नाउन म्यार्कों र पुटिनको आग्रह :- इरानका एक जना उच्च तहका कमाण्डर मारिएपछि हिंसा थप भड्किन नदिन फ्रान्सका राष्ट्रपति एम्मानुएल म्यार्कों र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले शुक्रबार फोनवार्ता भएको छ । खतरनाक घटना हुन नदिनका लागि छिमेकी देशसँग निरन्तर सम्पर्कमा र नजिक रहेर संयमताका लागि उनीहरुले आग्रह गरेको बताइएको छ ।
दुई नेताबीचको शुक्रबारको वार्तामा पछिल्लो परिस्थितिको छलफल भएको बताइएको छ । राष्ट्रपति म्यार्कों सन् २०१५ मा परमाणु सम्झौतामा हस्ताक्षर भएको बारेमा थप समन्वय गर्न आवश्यक रहेको बारे जोड दिएका थिए । केहीदिनअघि बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण भएपछि इराक, इरान र अमेरिकाकाबीचमा विबाद थप चर्किदै गएको छ । अमेरिका र इरानका शिर्ष नेताले एक अर्कोलाई चेतावनी दिने गरेका छन् ।
कमाण्डरको अन्त्येष्टिमा हजारौं इराकी सहभागी :- त्यस्तै, अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमाण्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन् ।इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानी र इराकी अर्थसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको शनिबार अन्त्येष्टि गरिएको हो । बग्दाद जिल्लामा रहेको शिया धर्माबलम्वीहरुको तिर्थस्थल काधिमियामा उनीहरुको अन्त्येष्टि गर्ने बेलामा सयौँ सहभागी भएका थिए । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको कारवाहीका क्रममा उनीहरु मारिएको बिहीबार राति पुष्टि गरेको थियो ।
‘अमेरिकी नागरिकको रक्षाका लागि अमेरिकी राष्ट्रपतिको निर्देशनमा भएको सुरक्षा कारवाहीका क्रममा कासिमको मृत्यु भएको हो’, पेन्टानगनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको थियो । मन्त्रालयका अनुसार क्वासिम बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै मारिएको हो । वासिङ्टन र तेहरानबीच पछिल्ला केही महिनायता विवाद चर्किरहेको बेला अमेरिकी सेनाको कारबाहीमा परी उनीहरु मारिएका हुन् । इराकस्थित अमेरिकी दूतावासमा केहीदिन पहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।
को हुन् कासिम सुलेमानी ? इरानले स्वदेशमा तथा विशेषगरी विदेशमा राष्ट्रियताको पक्षमा गतिविधि गर्न भन्दै इरान क्विड नामक विशेष दस्ताको स्थापना गरेको थियो । पछिल्लो समयमा उक्त दस्ताको नेतृत्व सुलेमानीको हातमा थियो । इरानको सरकारले सन् १९९८ देखि उक्त दस्ताको नेतृत्व सुलेमानीलाई सुम्पेको थियो । तर पनि उनलाई अमेरिकाले भने आतंकवादी व्यक्तिको सूचीमा राख्दै आएको छ ।
उक्त दस्ताले इरानका लागि इरानबाहिरका देशहरुमा गोप्य गतिविधिहरू सञ्चालन गर्ने गरेको छ । यसैकारण अमेरिकाले सो सूचीमा राखेको थियो । सुलेमानीले सन् १९८० पछि भएको इरान इराक युद्धमा समेत लडेका थिए । उनलाई इरान सरकारको अति निकटका एक व्यक्तिका रुपमा पनि चिनिन्थ्यो ।
सुलेमानीले सिरियामा कायम रहेको बसर अल असदको सत्ताका पक्षमा पनि काम गर्दै आएका थिए । साथै त्यहाँ भएको आइएसका विरुद्धमा पनि विशेष कारबाही गर्ने गर्दथे । उनले इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीसँग नै सम्पर्क राख्न सक्थे र उनको नेतृत्वमा रहेर काम गर्ने गर्दथे । शुक्रबार जनरल सुलेमानी आफ्नो कारमा सवार रहेका बेला अमेरिकी सेनाले सोही क्षेत्रमा गरेको हवाई आक्रमणमा परेर मारिएका हुन् । इरानले यस कारबाहीलाई एक निकै नै खतरनाक काम भनेको छ भने अमेरिकी सञ्चारमाध्यमहरूले भने उक्त कारबाहीको अमेरिकी पक्षबाट बचाउ गरेका छन् ।
अमेरिकी प्रतिक्रिया :- ती कमाण्डर मारिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खासै कुनै प्रतिक्रिया दिएका छैनन् । शुक्रबारको सो आक्रमणको घटनापछि उनले ट्विट अकाउन्टमा अमेरिकाको झण्डा राखेका थिए । तर घटनाका बारेमा केही लेख्नुभएको छैन । तर अमेरिकी रक्षा मन्त्रालयले भने शुक्रबार नै विज्ञप्ति प्रकाशन गरेर राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले गरेको कारबाहीका क्रममा कासिम सुलेमानी मारिएको बताएको छ । यसलाई रक्षा मन्त्रालयले विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाका लागि गरिएको कारबाही पनि भनेको छ । उक्त विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले अमेरिका आफ्ना नागरिक र आफ्ना चासोका विषयमा संसारभर रक्षात्मक रुपमा कामगर्ने र आगामी दिनमा पनि यस्ता कार्यहरु गरिरहने बताएको छ ।
उता शुक्रबार भएको यस सैन्य कारबाहीपछि उत्तेजक रुपमा व्यवहार नगर्न र संयमता अपनाउन विभिन्न देशले आग्रह गरिरहेका छन् । यस कारबाहीको चीन, रुस र सिरियाले यस हवाई आक्रमणको आलोचना गरेका छन् । तर यूरोपेली संघले भने थप हिंसा भड्किन नदिन सबै पक्षलाई संवेदनशिल भएर संयमता अपनाउन आग्रह गरेको छ । शुक्रबार अमेरिकाले इरानी विशेष सुरक्षा फौज कुद्सका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु हुनेगरी शुक्रबार इराकमा गरेको आक्रमणलाई रूसले ‘गैरजिम्मेवारपूर्ण कदम’ भनेको छ ।
यसले मध्यपूर्वमा तनाव बढाएको रुसले जनाएको छ । रुसले इरानी ती कमाण्डरको मृत्युलाई लिएर इरानी जनताप्रति सहानुभूति पनि व्यक्त गरेको छ । बग्दादमा अमेरिकी आक्रमणबाट भएको सुलेमानीको मृत्युले मध्यपूर्वमा अहिले पनि जारी रहेको तनावलाई थप बढाउने रुसले आशंका गरेको छ । उता यूरोपेली परिषद्का प्रमुख चाल्र्स मिसेलले इराकमा अमेरिकाले इरानी जनरलको मृत्यु हुने गरी गरेको आक्रमणपछि थप द्वन्द्व चर्किने भन्दै शान्त रहन आग्रह गरेका छन् ।
उनले इराकमा विगत केही हप्तादेखि भएका हिंसात्मक तथा उत्तेजनात्मक गतिविधिहरुलाई रोक्न र अबका दिनमा कुनै द्वन्द्वका घटना हुन नदिन आग्रह गरेका छन् । त्यस्तै फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले सुलेमानीको मृत्युपछि हुनसक्ने सम्भावित हिंसा र राजनीतिक तनावलाई रोक्न सबैले पहल गर्नुपर्ने बताएका छन् ।
राष्ट्रसंघ भन्छ– अर्को खाडी युद्धको त्रास हटोस् :- यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार संयुक्त राष्ट्रसंघले इराकको राजधानी बग्दादमा भएको शुक्रबारको घटनाले खाडी क्षेत्रमा अर्को युद्धको अवस्था नल्याओस भनेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अमेरिकाले इराकको सो घटनाले खाडी क्षेत्रमा थप हिंसा भड्किनसक्ने भन्दै विश्वले फेरि अर्को खाडी युद्ध सहन नसक्ने बताएका छन् । महासचिव गुटर्रेसले निरन्तर रुपमा खाडीमा भइरहेको तनावलाई कम गर्न संयुक्त राष्ट्रसंघले पनि निरन्तर पैरवी गरिरहेको बताएका छन् । महासचिव गुटेर्रेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो अवस्थामा विश्वका नेताहरूले हिंसालाई रोक्न अत्यधिक प्रयास गर्नुपर्ने छ, विश्वले खाडी क्षेत्रमा फेरि अर्को युद्धको भार थेग्न सक्दैन ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया