Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकासँगको व्यापार सम्झौतामा चीनका उपप्रधानमन्त्रीले हस्ताक्षर गर्ने

अमेरिकासँगको व्यापार सम्झौतामा चीनका उपप्रधानमन्त्रीले हस्ताक्षर गर्ने


बेइजिङ, पुस २५
अमेरिकासँगको व्यापार सम्झौतामा चीनका उपप्रधानमन्त्रीले अर्को हप्ता अमेरिकी राजधानीमा हस्ताक्षर गर्ने भएका छन् । दुई देशले डिसेम्बर पहिलो साता गरेको सहमतिपत्रमा हस्ताक्षर हुनलागेको हो । चीनको वाणिज्य मन्त्रालयले बिहीबार जनाएअनुसार चिनियाँ उपप्रधानमन्त्री लिउ हेले अमेरिका–चीन पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर गर्नेछन् । उनी चीनको व्यापार वार्ताटोलीका प्रमुख समेत हुन् । सोही कार्यक्रमका लागि लिउ जनवरी १३ मा अमेरिकी जाने वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेंगले बताए । जनवरी १३ देखि १५ सम्म लिउको भ्रमण तालिका तय भइसकेको छ ।

रोयटर्सका अनुसार दुवै देशका वार्ता टोली हस्ताक्षर कार्यक्रमको लागि निरन्तर सम्पर्कमा रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै जनवरी १५ मा दुई देशबीच भएको पहिलोचरणको व्यापार सहमतिपत्रमा हस्ताक्षर हुने बताइसकेका छन् । अमेरिकी राष्ट्रपतिनिवास ह्वाइटहाउसमा हस्ताक्षर हुनेछ । चीनका उच्चस्तरीय व्यापार प्रतिनिधिसँगै सम्झौतामा हस्ताक्षर हुने र पछि आफू बेइजिङ जाने ट्रम्पले केही दिनअघि बताएका थिए । चीनको तर्फबाट १० जनाको सरकारी टोली वासिङटन जानेछन् ।

यसमा वाणिज्यमन्त्री झोंग शान, चिनियाँ केन्द्रीय बैंकका गभर्नर यि गांग, उपअर्थमन्त्री लियाओ मिन, उपविदेशमन्त्री झेंग जेगुआंग, अमेरिकाका लागि चिनियाँ राजदूत सुई टियानकाई समेत वासिङटन जाने बताइएको छ । अमेरिकाले चीनसँग करिब डेढ वर्षअघि व्यापारयुद्ध सुरु गरेको थियो । चीनले असन्तुलित व्यापार अभ्यास गरेको, बौद्धिक सम्पत्ति चोरी गरेको र चिनियाँ सरकारी स्वामित्वका कम्पनीलाई सब्सिडी दिएको जस्ता आरोप लगाउँदै अमेरिकाले चिनियाँ वस्तुमा कर थप्दै आएको छ । गत महिना सम्पन्न पहिलो चरणको व्यापार सम्झौतामा सहमति भएको थियो । उक्त सहमतिसँगै थप कर थोपर्ने काम दुवै देशबाट बन्द भएको छ । त्यस्तै चीनले अमेरिकी कृषिजन्य वस्तु आयात समेत बढाउने अपेक्षा गरिएको छ । सम्झौता भए पनि अहिलेसम्म विस्तृतमा सार्वजनिक गरिएको छैन ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x