Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटोयोटाले ४० प्रतिशत उत्पादन कटौती गर्ने

टोयोटाले ४० प्रतिशत उत्पादन कटौती गर्ने


जापान । सवारीसाधन निर्माता जापानी कम्पनी टोयोटाले विश्वव्यापी उत्पादनमा ४० प्रतिशत कटौती गर्ने भएको छ । विश्वभर माइक्रोचिप अभावका कारण कम्पनीले सेप्टेम्बरमा ४० प्रतिशत उत्पादन कटौती गर्ने जनाएको हो ।
कम्पनीले उक्त महिनामा नौ लाख कार उत्पादन गर्ने योजना बनाएको थियो तर यसलाई घटाएर पाँच लाख ४० हजार कार उत्पादन गर्नलागेको बीबीसीले जनाएको छ ।

यता दोस्रो ठूलो कार उत्पादक जर्मन कम्पनी फक्सवागनले पनि उत्पादनमा थप कटौती हुनसक्ने भनेको छ । कोरोना महामारीले चिप प्रयोग हुने फोन, टिभीलगायतको माग ह्वात्तै बढाएको छ । बिहीबार फक्सवागनले तेस्रो त्रैमासिकमा चिप आपूर्ति कसिलो बन्नसक्ने बताएको छ । सोही कारण थप कटौती गर्ने बाध्यता आउनसक्ने फक्सवागनको ठम्याइ छ ।

टोयोटाका अरु प्रतिस्पर्धी कम्पनीहरु जनरल मोटर्स, फोर्ड, निसान, डायम्लर, बीएमडब्ल्यू र रेनोले यसअघि नै उत्पादन कटौती गरिसकेका छन् । हालसम्म टोयोटाले भने आवश्यक चिप जोहो गर्न सकेको थियो । टोयोटाले ठूलो परिमाणमा चिप भण्डारण गरेका कारण अरु कम्पनीले जस्तो उत्पादन कटौतीको अवस्थामा पुग्नुपरेको थिएन ।

चिप अभावसँगै अहिले एसियाली बजारमा कोरोना संक्रमण बढ्नुलाई पनि कम्पनीले उत्पादन कटौती गर्ने कारणका रुपमा लिइएको छ । चिपनिर्माता इन्टेलका प्रमुख प्याट गेलसिंगरले चिप अभावको चर्को रुप देख्नै बाँकी रहेको बताएका थिए ।

चिप अभावलाई सम्बोधन गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेश नै जारी गरेका थिए । उनले अमेरिकामै चिप उत्पादनका लागि ३७ अर्ब डलर लगानी गर्ने बताएका थिए । टोयोटाको उक्त निर्णयसँगै बिहीबार कम्पनीको सेयर मूल्य ४.४ प्रतिशतले घटेको छ । यो सन् २०१८ डिसेम्बरयताकै ठूलो गिरावट हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x