Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकम्पनीको पूरै नाफा दानमा खर्चिँदै पिनडुओडुओ

कम्पनीको पूरै नाफा दानमा खर्चिँदै पिनडुओडुओ


हङकङ । चीनको ठूलामध्येको एक प्रविधि कम्पनीले यो वर्षको अन्तिम त्रैमासिकमा आर्जन हुने पूरै नाफा दानमा खर्चिने भएको छ । सीएनएनका अनुसार पिनडुओडुओले ग्रामीण क्षेत्रका विकासे परियोजनामा उक्त रकम खर्च गर्ने प्रतिबद्धता जनाएको हो ।

बेइजिङले पछिल्लो समय प्रविधि कम्पनीहरुको लाभांश पुनर्वितरण गर्न दबाब दिइरहेका बेला कम्पनीले यस्तो निर्णय गरेको हो । पिनडुओडुओ इकमर्स फर्म हो । मंगलबार कम्पनीले मंगलबार जुन ३० सम्म आर्जन गरेको ३७ करोड २० लाख अमेरिकी डलर चीनको कृषि क्षेत्र र ग्रामीण क्षेत्र विकासका लागि दान गर्ने प्रतिबद्धता जनाएको छ । सबै गरी कम्पनीले डेढ अर्ब डलर दान गर्नलागेको कम्पनीले जनाएको छ ।

‘यो महत्वपूर्ण र चुनौतीपूर्ण काम हो, हामी धैर्यसाथ लगानी गर्नेछौँ’, पिनडुओडुओका प्रमुख कार्यकारी अधिकृत चेन लेईले एक वक्तव्यमा भने ।
जुन त्रैमासिकमा पब्लिक कम्पनीको रुपमा पिनडुओडुओले पहिलोपटक नाफा देख्न पाएको हो । यो कम्पनी अमेरिकी चर्चित सेयरबजार नास्डाकमा सूचीकृत छ । तीन वर्षअघि सूचीकृत भए पनि कम्पनीले लाभांश वितरण गर्न सकेको छैन । तर यसका सेयर भने तेब्बरले बढेको छ । त्यसले सेयर लगानीकर्ता मालामाल भएका छन् । मंगलबार कम्पनीको सेयर न्युयोर्कमा २२ प्रतिशतले बढेको थियो ।

कम्पनीको दान गर्ने कुरा गत हप्ता टेन्सेन्टले गरेको प्रतिबद्धतापछि आएको हो । इन्टरनेट र गेमिङ कम्पनी टेन्सेन्टले सात अर्ब डलर बेइजिङको ‘सबै समृद्ध हुने’ अर्थात् सबैका लागि साझा समृद्धिको उद्देश्यप्राप्तिमा केन्द्रित हुने गरी दान गर्ने घोषणा गरेको थियो । उक्त कम्पनीले गरिबहरुको आम्दानी बढाउन सहयोग गर्ने र असमान शिक्षालाई सम्बोधन गर्न सहयोग गर्ने जनाएको छ ।

‘साझा समृद्धि’ले चीनमा ऐतिहासिक रुपमा महत्वपूर्ण अर्थ राख्छ । यो शब्दावली राष्ट्रपति सी चिनफिङले देशमा सम्पत्तिको पुनर्वितरण गर्ने प्रतिबद्धता जनाउँदा प्रयोग गरेका थिजए । सीले गत शताब्दीको मध्यतिर पार्टी प्रमुख माओ त्सेतुङले प्रयोग गरेको यो शब्दावली प्रयोग गरेका थिए । माओले ग्रामीण क्षेत्रका जमिनदार र किसानबाट गरिबलाई सम्पत्ति वितरण गर्नुपर्ने बताउने गर्थे ।

पिनडुओडुओले चिनियाँ कम्युनिस्ट पार्टीको गरिबी उन्मूलनको अभियानलाई पनि सहयोग गर्ने जनाएको छ । सी सरकारले व्यवसाय र स्थानीय सरकारबीचको सम्बन्धबारे हांगझोउमा अनुसन्धान थालेपछि पिनडुओडुओको यस्तो घोषणा आएको हो । होंगझोउ अलिबाबाको घर हो ।

पिनडुओडुओ सन् २०१५ मा कोलिन हुआङले स्थापना गरेको कम्पनी हो । इकमर्स कम्पनीका रुपमा यो चाँँडै हुर्किन सफल भएको छ । यद्यपि यसले अलिबाबाको बजार हिस्सा खोस्न भने लामै समय कुर्नुपर्नेछ । बजारमा पिनडुओडुओको १० प्रतिशत मात्रै हिस्सा छ भने अलिबाबाको ५३ प्रतिशत र जेडी डटकमको १९ प्रतिशत हिस्सा छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x