Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ कम्पनीमाथि अमेरिकाले फेरि प्रतिबन्ध लगायो

चिनियाँ कम्पनीमाथि अमेरिकाले फेरि प्रतिबन्ध लगायो

चीनले भन्यो– ‘चाइना टेलिकम’माथि अमेरिकी प्रतिबन्ध ‘द्वेषपूर्ण दमन’


वासिङटन । अमेरिकाले चीनको ठूलोमध्येको एउटा दूरसञ्चार कम्पनीको प्रतिबन्ध फेरि ब्युँताएको छ । राष्ट्रिय सुरक्षामा खतरा हुनसक्ने भन्दै यो निर्णय लिइएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाले चाइना टेलिकमलाई अबको ६० दिनभित्र अमेरिकामा सेवा दिन पूर्ण रोक्नुपर्ने भन्दै प्रतिबन्ध लगाएको हो । सरकारी अधिकारीहरुले चिनियाँ सरकारको कम्पनीमा नियन्त्रण हुँदा यसलाई सूचनाको पहुँच, भण्डारण, अवरोध र अमेरिकी दूरसञ्चारको गलत रुट गर्न अवसर मिलेको अमेरिकी आरोप छ । यसले अमेरिकाविरुद्धका जासुसीसहितका हानिकारक गतिविधि गर्न सजिलो हुने अमेरिकाले जनाएको छ ।

विगत २० वर्षयता उक्त कम्पनीले अमेरिकामा दूरसञ्चार सेवा प्रदान गर्दै आएको छ । कम्पनीले अमेरिकी निर्णयलाई दुःखद भनेको छ । ‘ग्राहकलाई सेवा गर्न उपलब्ध सबै विकल्प प्रयोग गर्ने कम्पनीले जनाएको छ । चिनियाँ दूरसञ्चार बजारमा प्रभुत्व जमाइरहेका तीनमध्ये चाइना टेलिकम पनि पर्छ । यो कम्पनीका एक सय १० देशमा दशौँ लाखौँ ग्राहक छन् । यसले ब्रोडब्यान्ड इन्टरनेटदेखि मोबाइल हुँदै ल्यान्डलाइन टेलिफोन नेटवर्कसम्ममा सेवा उपलब्ध गराउँछ ।

अमेरिकी ट्रेजरी सेक्रेटरी जानेट येलेनले चिनियाँ उपप्रधानमन्त्री लिउ हेसँग गरेको वार्तालगत्तै बाइडेन प्रशासनले यस्तो निर्णय लिएको बताइएको छ । यो बैठकलाई दुई देशको बिग्रिँदो सम्बन्ध सुधारको रुपमा लिइएको थियो । व्यापार र ताइवान मुद्दामा दुई शक्तिसम्पन्न देशबीच मतभेद भइरहँदा भएको वार्ताप्रति आशावादी हुने अवस्था आएको रुपमा लिइएको थियो । अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)ले सन् २०२० अप्रिलमै चाइना टेलिकम अमेरिकाजलाई बन्द गर्ने चेतावनी दिएको थियो ।

चिनियाँ सरकारी नियन्त्रण कायम हुँदा कम्पनीले चीन सरकारप्रति उत्तरदायी हुने र यसले अमेरिकालाई असर गर्नसक्ने अमेरिकी आरोप छ । राष्ट्रिय सुरक्षाको नाममा चिनियाँ कम्पनीमाथि लगाइएको यो पछिल्लो प्रतिबन्ध हो । गत वर्ष एफसीसीले हुवावे र जेटटीईलाई सञ्चार नेटवर्कका लागि खतरा भन्दै अमेरिकी कम्पनीलाई यी कम्पनीबाट सामग्री तथा उपकरण खरिद गर्न रोक लगाएको थियो । एफसीसीले सन् २०१९ मा चाइना मोबाइलको अमेरिकी लाइसेन्स पनि रद्द गरेको थियो । यसबाहेक चाइना युनिकम अमेरिकाज र प्यासिफिक नेटवर्कको लाइसेन्स पनि रद्द गरिएको थियो । सबै चिनियाँ कम्पनीमाथि चीन सरकारले अमेरिकामा जासुसी गर्न प्रयोग हुनसक्ने दाबी गर्दै आएको छ ।

‘चाइना टेलिकम’माथि अमेरिकी प्रतिबन्ध ‘द्वेषपूर्ण दमन’: बेइजिङ
यसैबीच, राष्ट्रिय सुरक्षाको चिन्तामा अमेरिकामा सेवा दिँदै आएको चिनियाँ दूरसञ्चार प्रदायक ‘चाइना टेलिकम’लाई देशभित्र सञ्चालन गर्न प्रतिबन्ध लगाउने संयुक्त राज्य अमेरिकाको निर्णय ‘द्वेषपूर्ण दमन’ भएको बेइजिङले बिहीबार बताएको छ । बेइजिङले यसले विश्वका गर्ने दुई बलिया अर्थतन्त्रले सम्बन्धमा सुधारका लागि गरिरहेको प्रयासमा प्रभाबित पार्नसक्ने चेतावनी दिएको छ ।

व्यापार, मानव अधिकार, ताइवान र कोभिड–१९ महामारीलगायतका थुप्रै विषयहरूलाई लिएर यी दुई मुलुकहरूबीच तनाव रहेको देख्न सकिन्छ । यसै हप्ताको सुरुतिर वासिङ्टनले ‘चाइना टेलिकम’लाई अमेरिकाजलाई ६० दिनभित्र आफ्नो सेवा बन्द गर्ने आदेश दिएपछि अमेरिकामा लगभग दुई दशकको सेवा अन्त्य गर्नुपर्ने अवस्था आएको र यसले चीन र अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण हुनसक्ने अनुमान गरिएको छ ।

‘चाइना टेलिकम’को ‘चीन सरकारको स्वामित्व र नियन्त्रणले महत्वपूर्ण राष्ट्रिय सुरक्षा र कानून प्रवर्तनमा जोखिम उठाएको’ अमेरिकी संघीय सञ्चार आयोगले बताएको छ । एफसीसीले भनेको छ, ‘यसले बेइजिङलाई ‘अमेरिकी सञ्चारमा पहुँच, भण्डारण, विघटन वा गलत मार्गका अवसरहरू प्रदान गरेको र यसले उनीहरूलाई अमेरिका विरुद्ध जासुसी र अन्य हानिकारक गतिविधिहरूमा संलग्न हुन सहज बनाएकोले उक्त निर्णय गर्नुपरेको हो ।’

तर बेइजिङले यस कदमलाई ‘राष्ट्रिय सुरक्षाको अवधारणाको सामान्यीकरण, राष्ट्रिय शक्तिको दुरुपयोग र तथ्य वा आधारबिना चिनियाँ कम्पनीमाथिको द्वेषपूर्ण दमन’ भन्दै उक्त कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयकी प्रवक्ता शु युटिङले पत्रकारहरूसँगको कुराकानीमा चीनको आर्थिक तथा व्यापार टोलीले संयुक्त राज्य अमेरिकासँग यस विषयमा ‘गम्भीरतापूर्ण रूपमा कुरा राखेको’ र बेइजिङ प्रतिबन्धबाट चिन्तित भएको बताए । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x