Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार१० वर्षपछि विश्वमा कस्ता प्रविधि आउलान् ?

१० वर्षपछि विश्वमा कस्ता प्रविधि आउलान् ?


विश्व आधुनिक युगमा दौडिरहँदा प्रविधिको विकासले पनि फड्को मारिरहेको छ । यसको गति यदि यसैगरी रहिरहने हो भने अर्को दशकमा मानिसले गर्ने काम मेसिन (रोबोट)ले खोस्ला ?

जलवायु परिवर्तनले सताइरहेको वर्तमान समयमा अबको दशकमा नयाँ ऊर्जा स्रोत मिल्ने आविष्कार हुने अपेक्षा गरिएको छ । तर अहिलेको विकसित प्रविधिको अवस्था हेर्दा १० वर्षपछि भर्चुअल संसारमा बसिरहेका हुनेछौँ ?

आउला त मेटाभर्स ? यदि फेसबुकका प्रमुख मार्क जुकरबर्गलाई विश्वास गर्ने हो भने सन् २०३१ सम्ममा हामी मेटाभर्समा बाँचिरहेका र काम गरिरहेका हुनेछौँ । मेटाभर्स भनेको भर्चुअल संसारकै शृंखला हो । वेबको आगमनयताकै अत्यन्त महत्वपूर्ण नयाँ प्रविधि प्लेटफर्म मेटाभर्स हुनेछ ।

यसमा जुकरबर्ग साँच्चै विश्वस्त देखिन्छन् । यही हप्ता फेसबुकले मेटाभर्स निर्माणकै क्रममा युरोपमा १० हजार नयाँ रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । जुकरबर्गमात्रै होइन, वारपिनकी एम्मा रिडरस्ट्याड पनि मेटाभर्समा विश्वास गर्छिन् । उनको कम्पनीले तालिमका लागि भर्चुअल रियालिटी सफ्टवेयरको विकास गरिरहेको छ ।

‘तपाईं किनमेल गर्न सक्नुहुनेछ, साथी भेट्न सक्नुहुनेछ, चाहेको अवस्थामा पायक पर्ने स्थानबाटै अफिसको काम गर्न सक्नुहुनेछ, डिजिटल स्पेस सेयर गर्न सक्नुहुनेछ, संगीत र कला सेयर गर्न सक्नुहुनेछ’, मेटाभर्स जीवनबारे उनी भन्छिन् ।
उनका अनुसार मेटाभर्समा डिजिटल अब्जेक्ट (वस्तु)लाई हाम्रो भौतिक संसारमा एकीकृत गर्न सकिनेछ । १० वर्षपछि आजको संसार अझै धेरै डिजिटलीकरण हुने एम्माको विश्वास छ ।

अझ उनी त के भन्छिन् भने हामी कुनै फुटबल म्याच हेर्न मैदानै नपुगे पनि सामान्य कुर्चीमा बसेर डिजिटल अवतारसँगै सहभागी हुन सक्नेछौँ । त्यो पनि अरु साथीको भर्चुअल उपस्थितिसँगै, ऊसँग खेलबारे तत्कालै धारणा राख्न मिल्ने गरी ।

तर टेलिकम कम्पनी बीटीकी प्रिन्सिपल इन्नोभेसन पार्टनर डा. निकोला मिलार्ड यसको कार्यान्वयनमा शंका गर्छिन् । उनका अनुसार मेटाभर्सले प्रयोगकर्तालाई यसको महत्व र आवश्यकताबारे मजाले बुझाउन सक्नुपर्नेछ । उनीहरुलाई हेडसेट र अन्य उपकरणमा अल्झिएर महत्वपूर्ण समय खर्च गर्न सकिन्छ भन्ने बुझाउन सकिए मेटाभर्स साँच्चै उपयोगी हुने उनको धारणा छ ।

‘यसले मलाई जोडिन सहयोग गर्छ? यसले मलाई सहकार्य गर्न सहयोग पुग्छ? यसले मलाई मनोरञ्जन दिन्छ वा शिक्षा दिन सहयोग गर्छ?’, उनको प्रश्न छ, ‘यदि साँच्चै जुकरबर्गले भनेजस्तै यसले शक्तिशाली प्लेटफर्म रहेको प्रमाणित गर्छ भने हरेक मुद्दाहरु प्रजातन्त्रदेखि मानसिक स्वास्थ्यमा प्रभावसम्म फेसबुकले जे जति प्रभाव पारेको छ, तिनबारे उठेका ध्यानाकर्षणलाई हेरेर के उनैले यसको सञ्चालन गरेको हामी हेर्न चाहन्छौँ?’

एम्मा रिडरस्ट्याड पनि फेसबुक मात्रै भन्दा पनि धेरै कम्पनीले सञ्चालन गरेको मेटाभर्सप्रति आशावादी छिन् ।

के होला ऊर्जाको भविष्य ? कोप २६ सँगै संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन सुरु हुँदै छ । संसारले अर्थतन्त्रलाई कार्बनशून्य पार्न खोजिरहेको छ र त्यसका लागि ऊर्जा क्षेत्रमा धेरै आविष्कार र नवप्रवर्तन आवश्यक छ ।

कार्बनशून्यका लागि ऊर्जा प्रविधिको संस्थाका रुपमा परिचित इन्स्टिच्युसन अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीले तयार पारेको एक रिपोर्टका लेखक डा. जेम्स डिक्सन भने घरहरुलाई ऊर्जामा आत्मनिर्भर बनाउने प्राथमिकता मुख्य हुने बताउँछन् ।

‘हामी कसरी भवनहरुलाई ऊर्जा आपूर्ति गरिरहेका छौँ? यसको आधादेखि तीन भागको बीचमा भविष्यमा इलेक्ट्रिक हिट पम्पले पूरा गर्नेछ’, उनी भन्छन् ।
बेलायतले त ग्यास बोइलरलाई हिट पम्पले प्रतिस्थापन गर्न घरहरुलाई भनिरहेको छ ।

डा. निक्सनका अनुसार फरक स्वच्छ इन्धनले यसमा मुख्य भूमिका निर्वाह गर्नसक्छ । उनी भन्छन्, ‘कार्बनशून्यमा जानको लागि अहिलेदेखि २०५० सम्मको बीचमा हामीलाई चाहिने हाइड्रोजन उत्पादन बढाउनुपर्ने हुन्छ ।’

त्यसकारण हाइड्रोजन उत्पादनलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ । यसबाहेक कार्बन संकलन र भण्डारणको लागि पनि नवप्रवर्तनका विविध उपाय आवश्यक पर्ने उनी बताउँछन् ।

त्यस्तै सडकमा गुड्ने कारहरु पनि शतप्रतिशत कार्बनशून्य हुनुपर्ने उनको भनाइ छ । यसको अर्थ विद्युतीय सवारीसाधनलाई संसारले आत्मसात् गर्नुपर्नेछ ।
त्यसकारण असाधारण स्तरको आविष्कार, हिटपम्प र विद्युतीय कारजस्ता नयाँ उत्पादन स्वीकार्ने इच्छाशक्ति उपभोक्तामा हुनुपर्नेछ भने यसबाट मात्रै जलवायु परिवर्तनसँग जुध्न सकिनेछ ।

आर्टिफिसियल इन्टेलिजेन्टको हावी : बितेको दशकमा आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा ठूलो प्रगति भयो । कार हाँक्ने कम्प्युटर सिकाइदेखि एउटा भाषाबाट अर्को भाषामा तत्कालै अनुवादसम्म गर्न सकिने प्रविधि विकास भयो ।
आफ्नो नयाँ पुस्तक एक्सपोनेन्सियलका लेखक अजीम अजहर वर्णन गर्छन्, ‘एआई र अन्य प्रविधिले अर्थतन्त्र र समाजको रुपान्तरण द्रुतगतिमा गराउनुले देखाउँछ– यहाँ अझै धेरै आउन बाँकी छ ।’

तर उनी अहिलेसम्म स्वचालित प्रविधिले मानिसको रोजगारी सक्याउने भन्ने नहुने कुरा सिक्न पाएको बताउँछन् । महामारीका बेला यो प्रविधिको सहयोगमा भएका कुरालाई उदाहरणको रुपमा हेर्न उनको आग्रह छ ।

जेसुकै व्यवसाय भए पनि जति धेरै एआई थियो त्यति धेरै कर्मचारी बोर्डमा आएको उनको भनाइ छ । धेरै एआई भएका व्यवसायले धेरै मानिसलाई रोजगारी दिएको र यसो हुँदा व्यवसाय पनि धेरै प्रतिस्पर्धी हुनपुगेको उनी बताउँछन् ।

यो ढाँचा अबको अर्को दशकसम्म कायम हुने उनको भनाइ छ । यतिमात्र नभई एआई हाम्रो जीवनका हरेक पक्षसम्म जोडिन पुगेको बताउँछन् अजीम । यसले बैंकहरुलाई समेत ऋणबारे उपयुक्त निर्णय लिन सघाएको छ भने कार्बनशून्य संसारलाई आवश्यक पर्ने वस्तुको खोजीमा समेत सघाउ पुर्याएको उनी उल्लेख गर्छन् ।

स्वास्थ्य क्षेत्रमा त यसको ठूलो प्रभाव रहेको उनको बुझाइ छ । कोरोनाको खोप द्रुतरुपमा भएको विकासलाई उदाहरण मान्छन् अजीम । मोडर्ना लगायत कम्पनीले खोप विकासका लागि एआईमा आधारित कम्पनीमा धेरै लगानी गरेका थिए ।

एआईले मानिसको दैनिक जीवनमा धेरै सुधारका परिवर्तन ल्याउने भए पनि ठूलो सम्भावित हानि पनि गर्न सक्ने उनको ठम्याइ छ ।

अल्गोरिदमहरुको पक्षपातले कम्प्युटरहरुले रोजगारीदेखि बीमासम्ममा अल्पसंख्यकलाई भेदभाव गरेको मात्र नभई फेसियल रिकग्निसन (अनुहार चिन्ने प्रविधि)देखि सैन्य ड्रोनसम्मको आविष्कारले स्वचालित रुपमा मार्ने मेसिन बनाउनसक्ने तर्फ अहिले नै चिन्ता उब्जाइसकेको छ । बीबीसीबाट अनुवाद


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x