Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअर्बपतिहरुको दशक जसको सम्पत्ति ८० खर्ब डलर पुग्यो

अर्बपतिहरुको दशक जसको सम्पत्ति ८० खर्ब डलर पुग्यो


अमेरिका । सन् २०१० देखि सन् २०२० सम्म तीन जना अर्बपति छाएका छन्  । कार्लोस स्लिम हेलु, बिल गेट्स र जेफ बेजोस बितेको दशकमा संसारकै सबैभन्दा धनी व्यक्तिको रुपमा रहेको फोर्ब्सले जनाएको छ  ।

फोर्ब्सका अनुसार एक दशकमा अर्बपतिको संख्या विश्वमा दोब्बरले बढेको देखिएको छ । संख्यामात्रै होइन सम्पत्तिमा समेत उल्लेख्य वृद्धि देखिएको छ । सन् २०१० मा १ हजार १ जना कुल अर्बपति रहेकामा सन् २०२० मा आइपुग्दा यो संख्या २०९५ पुगेको छ । यो १० वर्षमा तीन जना अर्बपतिको दबदबा देखिएको छ ।

कार्लोस स्लिम हेलु : सन् २०१०, २०११, २०१२, २०१३ मा सर्वधनाढ्य व्यक्ति कार्लोस स्लिम हेलु बनेका थिए । २०१० मा हेलुको सम्पत्ति साढे ५३ अर्ब अमेरिकी डलर थियो । उक्त वर्ष विश्वमा १००१ अर्बपतिको ३६ खर्ब अमेरिकी डलर सम्पत्ति रहेको थियो ।

त्यसपछिको वर्ष विश्वमा अर्बपतिको संख्या बढेर १ हजार २ सय ९ पुग्यो भने कुल सम्पत्ति पनि ४५ खर्ब डलर पुग्यो । २०११ मा उनको कुल सम्पत्ति ७४ अर्ब अमेरिकी डलर पुगेको थियो । सन् २०१२ मा विश्वमा अर्बपतिको संख्या १२ सय २६ पुग्दा कुल सम्पत्ति ४६ खर्ब डलर पुग्यो । हेलुको सम्पत्ति भने केही घटेर ६९ अर्ब डलरमा झरेको थियो । त्यसपछि सन् २०१३ मा विश्वमा अर्बपतिको संख्या अझै वृद्धि हुने क्रममा १४ सय २६ पुग्यो । उनीहरुको कुल सम्पत्ति समेत ५४ खर्ब डलर पुग्यो । यो वर्ष सर्वधनाढ्य रहेका हेलुको सम्पत्तिमा सुधार हुँदै फेरि ७३ अर्ब अमेरिकी डलर पुग्यो ।

बिल गेट्स : त्यसपछि हेलुको ‘कमब्याक’ भएन भने यो ताज बिल गेट्सले कब्जा गरे । फोब्र्सका अनुसार सन् २०१४, २०१५, २०१६ र २०१७ गेट्सको वर्ष रह्यो । उनी नै सर्वधनाढ्य बने । सन् २०१४ मा विश्वमा १६ सय ४५ जना अर्बपति थिए । उक्त वर्ष कुल सम्पत्ति ६४ खर्ब डलर पुगेको थियो । यो वर्षका सर्वधनाढ्य गेट्सको कुल सम्पत्ति ७६ अर्ब डलर थियो । २०१५ मा फेरि कुल अर्बपतिको संख्या १८ सय २६ जना पुग्यो । अर्बपतिसँगै उनीहरुको सम्पत्ति ७१ खर्ब डलर पुगेको थियो । यो वर्ष गेट्सको सम्पत्ति ७९ अर्ब २० करोड डलर थियो । त्यसपछि सन् २०१६ मा अर्बपतिको संख्यामा केही कमी आएर १८ सय १० मा खुम्चियो । यसो हुँदा कुल सम्पत्ति समेत घटेर ६५ खर्ब डलरमा झरेको थियो । यो वर्ष गेट्सको सम्पत्ति ७५ अर्ब डलरमा झरेको थियो ।

गेट्स सन् २०१७ मा पनि संसारकै धनी बनिरहे । उक्त वर्ष गेट्ससँग ८६ अर्ब डलर सम्पत्ति थियो । २०१७ मा विश्वमा पहिलोपटक अर्बपतिको संख्या २ हजार नाघेको थियो । यो वर्ष २ हजार ४३ जना अर्बपति र कुल सम्पत्ति ७७ खर्ब डलर पुगेको थियो ।

जेफ बेजोस : त्यसपछिका तीन वर्ष भने जेफ बेजोसको पक्षमा रह्यो । उनी २०१८, २०१९ र २०२० मा संसारकै धनी व्यक्ति बने । सन् २०१८ मा अर्बपतिको संख्या वृद्धि रोकिएन । अन्ततः २ हजार २ सय ८ जना अर्बपति पुगे । उनीहरुको कुल सम्पत्ति ९१ खर्ब डलर पुगेको थियो । सर्वधनाढ्य रहेका बेजोस १ खर्ब १२ अर्ब डलरका मालिक बने ।

त्यसपछि सन् २०१९ मा अर्बपतिहरुको संख्यामा केही कमी आयो । विश्व अर्बपतिहरु २ हजार १ सय ५३ मा झरे भने कुल सम्पत्ति पनि ८७ खर्ब डलरमा झरेको थियो । तर बेजोसको सम्पत्ति भने बढेर १ खर्ब ३१ अर्ब डलर पुग्यो । सन् २०२० मा विश्वका अर्बपतिको संख्या अझै घट्यो । २ हजार ९५ कुल अर्बपति र उनीहरुको कुल सम्पत्ति ८० खर्ब डलरमा झर्यो । यता बेजोसको सम्पत्ति पनि घटेर १ खर्ब १३ अर्ब डलरमा खुम्चियो ।

कुन वर्ष कुन देशमा कति अर्बपति? फोर्ब्सका अनुसार बितेको दशकको पहिलो वर्ष सन् २०१० मा अमेरिकामा धेरै अर्बपति थिए । सो वर्ष धनाढ्यका हिसाबले उच्च ५ देशहरुमध्ये अमेरिकामा ४०४, चीनमा ६४, रुसमा ६१, जर्मनीमा ५२ र भारतमा ४९ अर्बपति रहेका थिए । उनीहरुको सम्पत्ति क्रमशः १४ खर्ब, १ खर्ब ३३ अर्ब, २ खर्ब ६० अर्ब, २ खर्ब १६ अर्ब र २ खर्ब २२ अर्ब डलर रहेको थियो ।

त्यसपछि सन् २०११ मा अमेरिकामा ४१३ जना, चीनमा ११५ जना, रुसमा १०१ जना, भारतमा ५५ जना र जर्मनीमा ५२ जना अर्बपति रहेका थिए । देशअनुसार अर्बपतिहरुको कुल सम्पत्ति क्रमशः १५ खर्ब, २ खर्ब ३० अर्ब, ४ खर्ब ३२ अर्ब, २ खर्ब ४६ अर्ब र २ खर्ब ४६ अर्ब अमेरिकी डलर थियो ।

सन् २०१२ मा अमेरिकी अर्बपतिको संख्या ४२४ पुग्यो भने उनीहरुको कुल सम्पत्ति १६ खर्ब डलर पुग्यो । त्यसपछि रुसमा ९६ अर्बपति र कुल सम्पत्ति ३ खर्ब ७६ अर्ब डलर पुगेको थियो । त्यस्तै चीनमा ९५ अर्बपति र २ खर्ब ४ अर्ब सम्पत्ति पुग्दा जर्मनीमा ५२ अर्बपति र २ खर्ब ५१ अर्ब सम्पत्ति पुग्यो । भारतमा भने ४८ जना अर्बपति र कुल सम्पत्ति १ खर्ब ९४ अर्ब डलर पुगेको थियो ।

सन् २०१३ मा अमेरिकी अर्बपति बढेर ४४४ जना पुगे । उनीहरुको सम्पत्ति पनि १९ खर्ब डलर पुगेको थियो । दोस्रो स्थानमा चीन पुग्दा १ सय २२ अर्बपति र तिनको सम्पत्ति २ खर्ब ६३ अर्ब डलर पुगेको थियो । तेस्रो स्थानमा रहेको रुसमा १ सय ८ अर्बपति र ४ खर्ब २४ अर्ब डलर सम्पत्ति थियो । त्यस्तै जर्मनमा ५७ जनाको २ खर्ब ९४ अर्ब डलर र भारतमा ५६ जनाको १ खर्ब ९४ अर्ब डलर पुगेको थियो ।

सन् २०१४ मा पनि अमेरिकी अर्बपतिको संख्या बढेर ४९२ पुग्दा सम्पत्ति पनि बढेर २३ खर्ब डलर पुग्यो । यता चीनमा १५२ जना, रुसमा १११ जना, जर्मनीमा ८५ र ब्राजिलमा ६५ जना अर्बपति रहेका थिए । यो वर्ष भारत भने टप ५ बाट बाहिरिनुपरेको थियो ।

सन् २०१५ मा अमेरिकी अर्बपति ५३५ र कुल सम्पत्ति २६ खर्ब डलर पुग्यो । उक्त वर्ष चीना २१२, जर्मनीमा १०० जना, भारतमा ९० जना र रुसमा ८७ जना अर्बपति थिए । सन् २०१६ मा अमेरिकी अर्बपति बढेर ५४२ जना पुग्दा कुल सम्पत्ति भने घटेर २४ खर्ब डलरमा झरेको थियो । सो वर्ष चीनमा २५०, जर्मनीमा ११७, भारतमा ८३ र रुसमा ७६ जना अर्बपति रहेका थिए ।

सन् २०१७ मा अमेरिकामा ५६६ अर्बपति पुग्दा सम्पत्ति पनि २८ खर्ब डलर पुग्यो । उक्त वर्ष चीनमा अर्बपतिको संख्या ह्वात्तै बढेर ३१९ जना पुग्यो । सो वर्ष जर्मनीमा ११३, भारतमा १०० र रुसमा ९५ जना अर्बपति थिए । सन् २०१८ मा अमेरिकी अर्बपति झनै बढे । ५८६ जना अर्बपति पुग्दा सम्पत्ति पनि ३१ खर्ब डलर पुग्यो । चीनमा पनि सो वर्ष अर्बपतिहरु ३७२ जना पुग्दा सम्पत्ति ११ खर्ब डलर पुगेको थियो । त्यस्तै जर्मनमा १२३, भारतमा ११९ र रुसमा १०१ जना अर्बपति रहेका थिए ।

सन् २०१९ मा अमेरिकी अर्बपतिको संख्या ६०७ पुग्यो भने सम्पत्ति ३१ खर्ब डलर नै रह्यो । यता चीनमा अर्बपतिको संख्या घटेर ३२४ मा झरेको थियो । सो वर्ष जर्मनीमा ११४, भारतमा १०६ र रुसमा ९८ जना अर्बपति थिए । सन् २०२० मा आइपुग्दा अमेरिकी अर्बपतिको संख्या ६१४ पुग्यो भने उनीहरुको कुल सम्पत्ति केही घटेर २९ खर्ब डलर कायम रह्यो । यता चीनमा भने अर्बपति बढे । उनीहरुको कुल सम्पत्ति १२ खर्ब डलर थियो । जर्मनीमा सो वर्ष १०७, भारतमा १०२ र रुसमा ९९ जना अर्बपति रहेका थिए ।

कुन वर्ष के भयो ? सन् २०१० त्यही वर्ष थियो जहिले बिल र मेलिन्डा गेट्स तथा वारेन बफेटले च्यारिटी संस्था गिभिङ प्लिज स्थापना गरे । यो विश्वका धनाढ्यहरुलाई दानमा आफ्नो आधा सम्पत्ति खर्च गर्न प्रेरित गर्न खोलिएको थियो । त्यस्तै सन् २०१० मा ८९ सूचीकृतमध्ये चीनले जर्मनीलाई उछिन्दै दोस्रो धेरै अर्बपति भएको देश बनेको थियो ।

सन् २०११ मा रुसी राजधानी मस्को सबैभन्दा धेरै (७९ जना) अर्बपति बस्ने सहर भएको थियो । यो वर्ष तीन नयाँ अर्बपतिको प्रवेश भएको थियो । यही वर्ष ब्रिक देशहरु ब्राजिल, रुस, भारत र चीनले कुलमध्ये २५ प्रतिशत अर्बपतिको हिस्सा लिएका थिए ।

सन् २०१२ मा इलोन मस्क अर्बपतिको सूचीमा प्रवेश गरेका थिए । सन् २०१२ मा टेस्ला मोटर्सलाई पब्लिक बनाएका उनी कम्पनीको सेयर बढेसँगै यो सूचीमा अटाएका थिए । यो वर्ष ५८ देशका अर्बपति सूचीमा अटाए । तीमध्ये ३ जना मोरक्कोका थिए । यही वर्ष स्पान्क्सकी संस्थापक सारा ब्ल्याकेली नयाँ अर्बपति बनेकी थिइन् । ४१ वर्षीया उनी आफ्नै बलबुतामा अर्बपति बन्ने कान्छी महिला अर्बपति बनेकी थिइन् ।

सन् २०१३ मा स्पेनकी फेसन टाइकुन तथा जारा प्यारेन्ट इन्डिटेक्सका मालिक अमानसियो ओर्टेगा विश्वकै तेस्रो धनी अर्बपति (५७ अर्ब डलर) बने । यही वर्ष ब्राजिलका तेल तथा खनिज लगानीकर्ता आइक बाटिस्टाले धेरै सम्पत्ति (१०.६ अर्बदेखि १९.४ अर्ब डलरसम्म) गुमाएका थिए । यही वर्ष इसाबेल डस सान्टोस अफ्रिकाको पहिलो महिला अर्बपति बनिन् ।

सन् २०१४ मा बिल गेट्सले मेक्सिकोका कार्लोस स्लिम हेलुको स्थान खोस्दै सर्वधनाढ्य बने । यही वर्ष ह्वाट्सएपका संस्थापकहरु जान काउम र ब्रायन एक्सनले अर्बपति सूचीमा प्रवेश गरे । फेसबुकले ह्वाट्सएपलाई १९ अर्ब डलरमा किन्ने भएसँगै उनीहरुले यस्तो अवसर पाए । यही वर्ष अल्जेरिया, लिथुवानिया, तान्जानिया र युगान्डाबाट पहिलोपटक फोब्र्स सूचीमा अर्बपतिको प्रवेश भयो ।

सन् २०१५ मा अमेरिकी व्यावसायिक पूर्वखेलाडी माइकेल जोर्डन अर्बपति बने । २४ वर्षका स्न्यापच्याटका इभान स्पाइजेल डेढ अर्ब डलर सम्पत्तिसहित कान्छा अर्बपति बने । यो वर्ष सबैभन्दा धेरै १९७ जना महिला अर्बपति बने भने तीमध्ये २९ जना आफ्नै बलबुतामा अर्बपति बनेका थिए ।

सन् २०१६ मा नर्वेका नयाँ तथा कान्छा अर्बपतिको रुपमा १९ वर्षे अलेजान्द्रा एन्डर्सनको प्रवेश भयो । उनकी बहिनी काथारिना एन्डर्सन (२०) ले पनि सूचीकृत हुने अवसर पाइन् । यही वर्ष चीनमा ७० जना नयाँ अर्बपति आएका थिए । त्यही वर्ष आईकियाका संस्थापक इंगवर काम्पार्ड भने छोराहरुलाई अंशबण्डा गरेपछि सूचीबाट बाहिरिए । तर उनका तीनै छोरा अर्बपति बने ।

सन् २०१७ मा गुयेन थाई फुंगले भियतजेट एयरलाई पब्लिक बनाउँदै भियतनामको पहिलो आफैँ अर्बपति बन्ने महिला बनिन् । यही वर्ष जेफ बेजोस तेस्रो धेरै धनी व्यक्ति बने । यही वर्ष ३१ वर्षमा सन् २०१६ यता पहिलोपटक २३३ जना अर्बपति बने ।

सन् २०१८ मा जेफ बेजोस विश्वकै धनी बने । यही वर्ष कुलमध्ये ३ अर्बपति राष्ट्रका प्रमुख थिए । तिनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, चिलीका राष्ट्रपति सेबास्टियन पिनेरा र चेक रिपब्लिकका प्रधानमन्त्री आन्द्रेज बाबिस थिए । यही वर्ष विश्वका अर्बपतिको संख्याले नयाँ कीर्तिमान बनायो । सन् २०१९ मा २१ वर्षीया काइली जेनर विश्वकै कान्छी अर्बपति बनिन् ।

सन् २०२० मा भने कोरोना महामारीले अर्बपतिको संख्या २०९५ मा खुम्च्यायो । धेरै अमेरिकी अर्बपतिहरु राष्ट्रपतीय चुनाव लडे । दर्जन बढी अर्बपतिले महामारी नियन्त्रणमा सहयोग गरे । तिनमा बिल गेट्स अगाडि रहे ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x