Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारट्रम्पको भारत भ्रमण : आमनेसामने हुँदै ‘अमेरिका फर्स्ट’ र ‘मेक इन इन्डिया’

ट्रम्पको भारत भ्रमण : आमनेसामने हुँदै ‘अमेरिका फर्स्ट’ र ‘मेक इन इन्डिया’


नयाँ दिल्ली, फागुन १२
अमेरिका र भारतबीच लामो समयदेखि व्यापारिक सम्बन्ध समस्याग्रस्त हुँदै आएको छ । डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ र नरेन्द्र मोदीको ‘मेक इन इन्डिया’ नीतिपछि व्यापार सम्बन्ध झन् बिग्रिएको छ । चीनसँगको व्यापारिक तनावकै बीच पनि भारतले अमेरिकालाई राम्रो प्रतिक्रिया दिएको छैन ।

यसैबचि, सोमबारदेखि विश्वको पाँचौँ ठूलो अर्थतन्त्रको भ्रमण गर्दै छन् अमेरिकी राष्ट्रपति ट्रम्प । ‘उनीहरु (भारत)ले हामीलाई वर्षौँदेखि अप्ठ्यारोमा पार्दै आएका छन्’, भारतको ३६ घण्टे भ्रमणअघि ट्रम्पले भनेका छन् । उनको अहमदाबाद, आग्रा र नयाँ दिल्लीको भ्रमणमा वाणिज्य सचिव विल्बर रोस र अरु पनि सँगै हुनेछन् । एएफपीका अनुसार दुई देशबीचको व्यापारिक मुद्दाका कारण सन् २०१८ मा १ खर्ब ४५ अर्ब डलरको नोक्सानी पुगेको थियो । जसमा २५ अर्ब डलर अमेरिकी व्यापारघाटा छ । यसले पनि ट्रम्पलाई चिन्तित बनाएको छ ।

संरक्षणवाद : भारत लामो समययता संरक्षणवादी नीति अख्तियार गर्दै आएको छ । विदेशी वस्तु आयात कर विश्वकै उच्च छ । मोदी सत्तामा आएपछि वृद्धिदर सुस्ताएको छ, महंगी बढेको छ भने बजेट घाटा व्यापक बन्दै गएको छ । यी सबैमा सुधारभन्दा ज्यादा बिगार देखिएको छ । सस्ता चिनियाँ वस्तुको आयात बढ्ने डर र किसानहरुको दबाबका बीच मोदीले नोभेम्बरमा रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरशिप (आरसीईपी)मा प्रवेश नगर्ने निर्णय गरेका थिए । यो भनेको एसियाली मुख्य अर्थतन्त्र र चीन सम्मिलित व्यापार सम्झौता हो ।

पछिल्ला महिना मोदी सरकारले अमेरिकी वस्तुमाथिको आयात कर उच्च पारेको छ । यसमा क्यालिफोर्नियाबाट आउने ६० करोड डलर मूल्यबराबरका वस्तु, स्याउ, स्टिल र केमिकल छन् । पछिल्लो बजेटमा मोदी सरकारले जुत्ता, खेलौना र फर्निचरमाथि आयात कर बढाएपछि वासिङटन चिढिएको थियो भने रिपोर्टहरुका अनुसार व्यापार दूत रोबर्ट लाइथाइजरले भारत भ्रमण नै रद्द गरेका थिए । त्यस्तै विदेशी कम्पनीलाई भारतमै उत्पादित वस्तु स्टोर गर्नुपर्ने भारतीय नियमले अमेरिकी बिजनेसलाई थप चिढ्याएको छ । यसले अमेरिकी अनलाइन बिक्रेताहरु अमेजन र वालमार्टलाई अप्ठ्यारो पारेको छ ।

मोदीको मेक इन इन्डिया कार्यक्रमले विदेशी कम्पनीलाई भारतमै उत्पादन गर्न बाध्य पारेको छ । यो कार्यक्रम झण्डै झण्डै ट्रम्पको अमेरिका पहिलो नीतिकै समानार्थीजस्तो देखिएको छ । नयाँ दिल्लीका यी कदमहरुले संरक्षणवादलाई अझै प्रश्रय दिएको अमेरिकी एक वरिष्ठ अधिकारीले बताएका छन् । ट्रम्पको भ्रमणअघि अमेरिकी अधिकारीको यस्तो प्रतिक्रिया आएको हो ।

स्टिल र गाई : भारतका पछिल्ला कदमहरु ट्रम्प प्रशासनको कदमविरुद्ध लक्षित देखिएका छन् । सन् २०१८ मा उसले भारत र अन्य देशमा बनेका स्टिल र आल्मुनियम आयातमा कर बढाउने गरी कदम चालेको थियो । भारत विश्वकै तेस्रो ठूलो स्टिल उत्पादक हो । उसको स्टिलजन्य उत्पादन निर्यात ४६ प्रतिशतले घटेको पिटर्सन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्सले जनाएको छ ।

त्यस्तै भारतको मेकानिकल र इलेक्ट्रिकल मेसिन तथा अटो पार्ट निर्यात क्षेत्रले पनि क्षति व्यहोरिरहेको छ । गत वर्ष ट्रम्पले भारतलाई वर्षौँदेखि अमेरिकाले दिएको व्यापार सुविधा समेत निलम्बन गरेका थिए । उक्त सुविधामा भारतले ६ अर्ब डलरका वस्तु विना कर अमेरिका निर्यात गर्न सक्थ्यो ।

अमेरिकाले मेडिकल डिभाइसहरु भारत बेच्न चाहन्छ भने अमेरिकी किसानहरु भारतमा धेरै डायरी प्रोडक्ट बेच्न चाहन्छन् । भारतजस्तो हिन्दू धर्मावलम्बीको बाहुल्य रहेको देशमा अमेरिकामा गाईलाई खुवाइने र गरिने व्यवहारलाई लिएर भारतमा आलोचना समेत हुने गरेको छ ।

यसैबीच, दुवै देशको सहमतिको विन्दु चीनप्रतिको अविश्वास हुनेछ । ट्रम्पले भ्रमणका दौडान रक्षा र अन्य विविध क्षेत्रमा सम्झौता र सहमति गर्न सक्नेछन् । त्यसमा छवटा आणविक भट्टी आपूर्ति पनि समावेश हुनसक्नेछ । जुन सन् २००८ मा भएको आणविक सहमतिअनुसार हुनेछ । तर ट्रम्प भारतसँग व्यापार सम्झौताको पक्षमा छन् । उक्त सम्झौता नै हुन नसके ससाना सम्झौता मात्रै हुने आँकलन गरिएको छ । रिपोर्टहरुका अनुसार यस्ता सम्झौताले भारतले हार्ले डेभिडसन मोटरसाइकलमाथिको उच्च कर घटाउनसक्नेछ । एएफपीबाट अनुदित


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x