Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररुसको बमबारीमा मारिए युक्रेनका धनी व्यवसायी

रुसको बमबारीमा मारिए युक्रेनका धनी व्यवसायी


किभ । युक्रेनका धनीमध्येका एक व्यवसायीको रुसी बमबारीमा परी मृत्यु भएको छ । युक्रेनको दक्षिणी सहर मिकोलाइभमा रुसले गरेको ठूलो बमबारीमा परी ओलेक्सी भाडाटर्स्की र उनकी श्रीमती राइसाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार बमबारीमा दम्पतीको नै आफ्नै घरमा मृत्यु भएको हो । उनी ७४ वर्षका थिए । भाडाटर्स्की निबुलोन कम्पनीका मालिक हुन् । यो कम्पनीले अन्न निर्यात गर्दै आएको छ । उनले ‘हिरो अफ युक्रेन अवार्ड’ समेत पाएका थिए । मिकोलाइभका मेयर ओलेक्सान्द्र सेन्केभिचले उक्त बमबारी अहिलेसम्मकै ठूलो र भयानक भएको बताएका छन् ।

रुसी बमबारीमा एउटा होटल, एउटा खेल कम्प्लेक्स, दुई विद्यालय र एक सर्भिस सेन्टरमा पनि क्षति पुगेको छ । मिकोलाइभ ओडेसाको मुख्य रुटमा पर्छ । ओडेसा ब्ल्याक सीमा युक्रेनकै ठूलो बन्दरगाह पनि हो । फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता धेरैपटक निशानामा परेको छ ।

उक्त क्षेत्रका नेता भिटाली किमले भाडाटस्र्कीको जहाज निर्माण उद्योग र कृषिजन्य विकासमा योगदान रहेको बताए । त्यसलाई यस क्षेत्रकै अमूल्य विकास मान्छन् उनी । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको कार्यालयका एक सल्लाहकारले रुसले उनैलाई निशाना गरेर बमबारी गरेको बताए । दुईवटा क्षेप्यास्त्रले ती व्यवसायीको शयनकक्षलाई निशाना लगाएको थियो । सोही कारण रुसको मुख्य निशाना नै उनी रहेको युक्रेनी अधिकारीले बताएका छन् । निबुलोनले धेरै अन्न भण्डारगृह र निर्यातजन्य पूर्वाधार बनाएको छ ।

युक्रेन र रुस गहुँका मुख्य निर्यातकर्ता देश हुन् । यी देश प्रमुख अन्न निर्यातकर्ता देशमा पर्छन् । दुई देशबीचको युद्धले विश्वमै अन्न आपूर्तिमा समस्या आउँदा विभिन्न खाद्यवस्तुको मूल्य आकाशिएको छ । यसअघि रुस, टर्की, युक्रेन र संयुक्त राष्ट्रसंघबीच अन्न निर्यात गर्न दिने बारे सहमति भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x